नेपाली कांग्रेस वडादेखि केन्द्रसम्मको एकमहिने नयाँ निर्वाचन कार्यतालिका तयार
News Desk
Oct-28 , 2021 तारिख 08:23 बिहान

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडादेखि केन्द्रसम्मको एकमहिने नयाँ निर्वाचन कार्यतालिका तयार पारेको छ । समितिको बुधबारको बैठकले मंसिर २७–२९ मा १४औं महाधिवेशन गर्न निर्वाचन कार्यतालिका तयार पारेको हो ।

निर्वाचन समितिका एक सदस्यले कात्तिक २७ देखि मंसिर २७ सम्मको समयसीमा राखेर एकमहिने कार्यतालिका तयार पारिएको बताए । उनका अनुसार बिहीबार पुनः बैठक बसेर कार्यतालिका सार्वजनिक गरिनेछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरू गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोख्रेल उपस्थित थिए ।

अर्का सदस्य तेजबहादुर रावल काठमाडौंबाहिर रहेकाले निर्वाचन कार्यतालिका सार्वजनिक हुन नसकेको ती सदस्यले बताए । उनका अनुसार कात्तिक २७ गते निर्वाचन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लाको वडा अधिवेशन हुनेछ । कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, मंसिर १०–११ मा जिल्ला अधिवेशन र मंसिर १६–१८ मा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको ती सदस्यले बताए ।

कांग्रेसले मंगलबार केन्द्रीय निर्वाचन समितिसँग बैठक गरी मंसिर मसान्तसम्म महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका बनाउन निर्देशन दिएको थियो । यसअघिको कार्यतालिकामा कात्तिक १०–१२ गते प्रदेश अधिवेशन र मंसिर ९–१३ गते केन्द्रीय महाधिवेशन गर्ने उल्लेख थियो । निर्वाचन समितिले तयार गरेको प्रस्तावित तालिकामा भने प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनबीच १० दिनको मात्र फरक छ ।

सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, बाँके, डोल्पा, कैलाली र रसुवा गरी १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । तीमध्ये रौतहट र रसुवाको क्रियाशील सदस्यताको टुंगो लागेको छैन । पालिका अधिवेशन सम्पन्न भइसकेका ५१ जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन हुन सकेको छैन । १३ हिमाली जिल्लाको भने जिल्ला अधिवेशनसमेत भइसकेको छ ।