नेताले माला लाए, जनताले के पाए ?
News Desk
Oct-28 , 2021 तारिख 11:19 बिहान

काठमाडौँ — ११ कात्तिक २०७८

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँडलाई कात्तिक २ मा रूपन्देहीस्थित गृहनगरमा कांग्रेसको तिलोत्तमा नगर समितिले १५ किलोको फूलको माला लगाइदियो । त्यसको दुई दिनअघि वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कुस्ती दंगलको उद्घाटन गर्न बाराको फेटा गाउँपालिका पुगे । उनलाई कार्यकर्ताले ६० किलोको माला लगाइदिए । मालामा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (माथि) र वनमन्त्री रामसहाय प्रसाद यादव, गृहमन्त्री बालकृष्ण खाँण,पूर्वमन्त्रीद्वय रघुवीर महासेठ र जुली महतो (तल) । नेताहरूले सार्वजनिक मञ्चमा घाँटीले नथाम्ने गरी किलोका किलो माला लगाएको यो न पहिलो थियो न त अन्तिम नै । कान्तिपुरले २०७० यताका ४६ प्रतिनिधि दृश्य छनोट गरेर त्यति बेला नेताहरूले कति किलोको माला पहिरेका थिए, उनीहरूलाई कसले र किन माला लगाइदिएको थियो भन्ने खोजीमेली गरेको छ । नेताले १५ किलोदेखि १ सय ५१ किलोसम्मका माला पहिरिएको देखिन्छ । नेताका लागि मात्र भएका ४२ माल्यार्पणमा २ हजार ५ सय २२ किलोभन्दा धेरै फूल खपत भएको थियो । यस्ता मालामा प्रयोग हुने अधिकांश फूल भने भारतलगायत मुलुकबाट भित्र्याइएको हुन्छ । माल्यार्पणका सबै दृश्य कुनै विशेष घटना वा सफलतापछिको खुसी बाँड्नभन्दा पनि नेताको सामान्य स्वागतमा, कि त तिनलाई खुसी पार्न भएको देखिन्छ । ४६ मध्ये सम्बन्धित दलका भ्रातृ संगठनका अलावा जिल्लास्थित उद्योग वाणिज्य महासंघहरू नेतालाई किलोका किलो माला पहिर्‍याउने काममा अगाडि देखिए ।

माओवादी शान्ति प्रक्रियामा आएयता सार्वजनिक मञ्चमा नेतालाई मुखै छोपिने गरी माला लगाइदिने प्रवृत्ति बढेको देखिन्छ । २०७० पछि भने घाँटीले धान्न नसक्ने गरी तौलेर किलोका किलो लगाइदिने गरेको पाइन्छ । काठमाडौंबाट जिल्ला गएका बेला दलका नेताहरूलाई कुन जिल्लाले कति किलोको माला लगाइदिने भन्ने अघोषित प्रतिस्पर्धा नै भएजस्तो देखिन्छ । सार्वजनिक समारोहमा कुनै विशेष प्रयोजन होस् वा नहोस् किलोका किलो माला स्वीकार्ने नेताहरूमा सबै दलका छन । कांग्रेस होस् कि कम्युनिस्ट वा मधेस केन्द्रित दलहरू अथवा केही अघिसम्म पनि भूमिगत रहेको नेत्रविक्रम चन्द समूहको नेकपाका नेता नै किन नहुन् । जति ठूलो पदमा रहेका नेता त्यति नै ठूलो माला पहिरिनु सामान्य जस्तै भइसकेको छ । कान्तिपुरको लेखाजोखामा २०७० यता सबैभन्दा बढी तौलको मालामा प्रधानमन्त्री शेरबहादुर देउवाको घाँटीले थामेको छ । देउवालाई २०७५ फागुन ८ मा बाराको सिमरा पुगेका बेला कांग्रेसको जितपुर–सिमरा उपमहानगरपालिका समितिले एक सय ५१ किलोको माला पहिर्‍याइदिएको थियो । त्यतिबेला पार्टी सभापति मात्रै रहेका देउवा पूर्वसासंद अनिल रुंगटाले वीरगन्जमा खोलेको होटल लर्ड्स दियालो उद्घाटन गर्न वीरगन्ज जाने क्रममा सिमरा पुगेका थिए ।

देउवाले २०७० यता मात्रै पाँच कार्यक्रममा ३ सय ४१ किलोको मालाको भार थामिसकेका छन् । कैलाली उद्योग वाणिज्य महासंघले २०७० मा आयोजित व्यापार मेलामा अतिथि बनेर पुगेका देउवालाई २१ बुँदे माग सुनाउँदै २१ किलोको माला लगाइदिएको थियो । २०७३ चैत २० मा सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय भेला उद्घाटनमा पुगेका शेरबहादुरलाई आयोजकले ३० किलोको माला लगाइदिए । २०७७ फागुन १९ मा रौतहटको गढीमाई नगरपालिकाले आयोजना गरेको विष्णु महायज्ञ उद्घाटन गर्न पुग्दा देउवालाई आयोजकले १ सय २१ किलोको माला लगाइदिएका थिए । कैलाली उद्योग वाणिज्य महासंघले २०६३ सालमा व्यापार मेला सुरु गरेयता हरेक वर्ष कार्यकारी प्रमुख, पूर्वप्रधानमन्त्री अथवा वरिष्ठ नेता बोलाएर किलोको किलो माला लगाइदिने गरेको छ । २०६३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर आयोजकले २१ बुँदे माग सुनाउँदै २१ किलोकै माला लगाइदिएको थियो । २०६९ मा त्यहीँ पुगेर तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पनि २१ किलोको माला थापे । त्यसपछि तत्कालीन सभामुख सुवास नेम्बाङले माला थापे । मेलाको नवौं संस्करण (२०७१) मा आइपुग्दा केही पूरा भएपछि मागको बुँदा घट्यो, मालाको वजन पनि १८ किलोमा झर्‍यो । आयोजकले त्यति बेला एमाले नेता भीम रावललाई १८ किलोको माला लगाइदिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७३ असार २८ मा त्रिवि सभाको बैठकमा त्रिवि कुलपतिका हैसियतमा बोल्ने क्रममा भनेका थिए, ‘कुनै पनि सभामा प्रमुख अतिथि बोलाइन्छ । स्वागतका निम्ति फूल गुच्छा चाहिन्छ । एउटा फूल गुच्छा भए पुग्छ । धेरैवटा माला खादा आवश्यक छैन । धेरै खर्च किन गर्नुपर्‍यो ।’ यसो भनेको एक वर्षपछि २०७४ कात्तिक ३० मा ओलीले पर्वतको कुश्मामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै १० किलोको माला थापेका थिए । त्यतिबेला उनीहरूलाई कुश्मामा आयोजित संयुक्त राजनीतिक सभामा आयोजकले एउटै माला दुवैलाई लगाइदिएका थिए । ३८ औं प्रधानमन्त्री बनेलगत्तै ओलीलाई एमाले नगर कमिटी बालकोटले घरमै पुगेर ६४ किलोको माला लगाइदियो । त्यसपछि ओलीलाई २०७४ मंसिर २६ मा झापा दमकमा आयोजित कार्यक्रममा दमक नगरपालिकाले सम्मानस्वरूप भन्दै ३० किलोको माला लगाइदियो । ओलीको घाँटीले त्यसपछि पनि मालाको भार थामिरह्यो । प्रधानमन्त्रीका रूपमा डोटीको अमरगढी नगरपालिका–१ मा बनेको १३२ केभी क्षमताको जलविद्युत् सबस्टेसन उद्घाटन गर्न गएका बेला उनलाई कार्यकर्ताले ५१ किलोको माला पहिर्‍याइदिए । क्रान्तिको विगुल फुक्दै राजनीतिको दिशा बदल्ने भनेर मूलधारको राजनीतिमा आएका दाहाल सहभागी सार्वजनिक कार्यक्रम विरलै छन्, जहाँ उनको घाँटीले मालाको बोझ नथामेको होस् । २०७० यता मात्रै दाहालले ५ वटा सार्वजनिक मञ्चमा गरी २ सय ५४ किलो मालाको भार थामिसकेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ४९ औं वार्षिक उत्सवको कार्यक्रममा सहभागी हुन २०७३ माघ ९ मा हेटौंडा पुगेका बेला दाहाललाई आयोजकले उनलाई ४९ किलोको माला लगाइदियो ।

२०७४ असार ८ उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले २५ किलोको माला लगाइदिएर स्वागत गरे । त्यही वर्षको फागुनमा दाहाल रौतहटको गजुरा नगरपालिका जङ्लसहिया धन्सार सडकको उद्घाटन गर्न पुगे । आयोजकले उनलाई ५५ किलोको माला पहिर्‍याइदियो । रौतहटवासीले दाहाललाई त्यसअघि २०७३ माघ २९ मा पनि १ सय २५ किलोको माला पहिर्‍याइदिएका थिए । त्यतिबेला उनी सेनाको हेलिकोप्टर चढेर फास्ट ट्र्याक निरीक्षण गर्न पुगेका थिए । तत्कालीन समानुपातिक सांसद अशोक जैसवालले खर्च बेहोर्ने गरी उनलाई माला लगाइएको थियो । नेताहरूलाई कसले कति ठूलो माला लगाउन सक्छ भन्ने प्रतिस्पर्धा मधेसका जिल्लामा धेरै देखिन्छ । जस्तो कि, रौतहटले सबैभन्दा ठूलो आकारको माला कहिले कांग्रेसका शेरबहादुरको घाँटीमा त कहिले दाहालको घाँटीमा पहिर्‍याएको छ । सबैभन्दा धेरै माला भने रौतहटले आफ्नै जिल्लाका नेता प्रभु साहलाई लगाइदिएको छ । २०७७ पुस १ मा रौतहटको विष्णु मन्दिरको शिलान्यासमा पुगेका प्रभु साहलाई आयोजकले एक सय ५ किलोको माला लगाइदियो । त्यसको १५ दिनपछि पुस १६ मा तत्कालीन सहरी विकासमन्त्री साहलाई रौतहटको गरुडास्थित कार्यक्रममा कार्यकर्ताले ५१ किलोको माला लगाइदिए । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन २०७५ मंसिर २८ मा रौतहटको कटहरिया पुगेका बेला कटहरिया नगरपालिका र स्वर्णकार समाजका तर्फबाट १ सय १ र १ सय १ गरेर २ सय २ किलोको माला लगाएका थिए ।

धनुषामा कांग्रेस नेता विमलेन्द्र निधि, लोकतान्त्रिक समाजवादीका नेता उमाशंकर अरगरियादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई किलोको किलो माला लगाइएको छ । कोही नेता मन्त्री बनेपछि गृहजिल्ला वा गृहनगर पुगेका बेला ठूलठूला माला पहिर्‍याइदिने चलन बसेको छ । एमाले नेतृ जुली महतो २०७७ पुस २२ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेलगत्तै गृहजिल्ला धनुषा पुगिन् । कार्यकर्ताले उनलाई जनकपुरमा १ सय १ किलोको माला लगाइदिए । २०७८ असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि गृहजिल्ला धनुषा पुगेका बेला उमाशंकर अरगरियालाई पनि कार्यकर्ताले १ सय १ किलोकै माला लगाईदिए । प्रदेश २ को प्रमुख भएर धनुषा पुग्दा राजेश अहिराजलाई पनि तत्कालीन नेकपाको ओली समूहका कार्यकर्ताले विमानस्थलमा १ सय १ किलोको माला पहिर्‍याइदिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला २०७५ वैशाख २५ मा जनकपुरमा कति किलोको माला लगाइदिने भन्ने होडबाजी चलेको थियो । प्रधानमन्त्री मोदीलाई कार्यक्रममा प्रदेश २ सरकार, वीरगन्ज उद्योग वाणिज्य महासंघ र जनकपुर उद्योग वाणिज्य महासंघले १ सय २१ किलो दरका तीन माला लगाइदिएका थिए । वीरगन्ज उद्योग वाणिज्य महासंघले २०७४ फागुन ३ मा प्रदेश मुख्यमन्त्री बनेर गृहजिल्ला पर्सा पुगेका बेला लालबाबु राउतलाई १ सय ११ किलोको माला लगाइदिएको थियो ।

पहिले चुनावका बेला वा चुनावी नतिजा सावर्जनिक भएपछि मात्रै नेताहरूले माला लगाउने गरेको देखिन्थ्यो । पछिल्लो समय भने नेताहरू गृहजिल्ला होस् वा काठमाडौंबाट बाहिरका कुनै सार्वजनिक कार्यक्रममा जाँदा, रिझाउनकै लागि ठूल्ठूला माला लगाइदिने होडबाजी दलका कार्यकर्ता र आयोजकमा बढेको देखिन्छ । जेलबाट कैद सजाय भुक्तान गरेर निस्केका व्यक्तिलाई पनि माला पहिर्‍याइदिने गरेको पाइन्छ । २०७० असोज २३ मा भ्रष्टाचारमा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर डिल्लीबजार कारागारबाट बाहिरिएका कांग्रेस नेता खुमबहादुर खड्कालाई कार्यकर्ताले कुनै उत्सव वा विजय सभामा झैं गरेर १ सय ११ किलोको माला लगाइदिएका थिए । चन्द नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ४९ दिन हिरासतमा बसेर कालीकोट फर्केका बेला २०७५ मंसिर १९ मा सहिदका परिवारले उनलाई ५९ किलोको माला लगाइदिएर स्वागत गरे । कुनै कार्यक्रमको उद्घाटनमा पुगेका नेतालाई ठूलो/धेरै माला नलगाइदिएको देख्न मुस्किल हुन थालेको छ । प्रेस मञ्च नेपालको पहिलो महाधिवेशन उद्घाटन गर्न २०७४ पुस २६ मा वीरगन्ज पुगेका बेला आयोजकले नेता राजेन्द्र महतोलाई १ सय १ किलोको माला लगाइदियो । तत्कालीन राष्ट्रपति रामवरण यादव २०७० मंसिर २८ मा नेपाल व्यापार तथा पर्यटन मेलाको उद्घाटन गर्न सुर्खेत पुगेका थिए । आयोजकले उनलाई २१ किलोको माला लगाइदिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही डोल्पाको जगदुल्ला गाउँपालिकामा आवासीय विद्यालय उद्घाटन गर्न २०७८ कात्तिक ८ मा पुगेका थिए । त्यहाँ आयोजकले उनलाई ४० किलोको माला लगाइदिए ।

सरकारी विद्यालयले आयोजना गर्ने रजत वा हीरक जयन्ती जस्ता कार्यक्रममा पनि नेतालाई बोलाएर ठुलठुला माला लगाइदिने होड देखिन्छ । शिक्षा विभागले २०७२ चैत १० मा विद्यालयको औपचारिक कार्यक्रममा आमन्त्रित अतिथिको स्वागत तथा बिदाइमा गला ढाक्ने गरी मालैमाला नलगाइदिन परिपत्र नै गरेको थियो । तर, त्यसको एक वर्ष नबित्दै २०७३ माघ १६ मा तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पर्वतको सहिद स्मारक आवासीय माविको रजत जयन्ती उद्घाटन कार्यक्रममा आयोजकले ४८ किलोको माला लगाइदियो ।सार्वजनिक जिम्मेवारी पूरा गरेकै भरमा किलोका किलो माला लगाइदिने गरेको पनि पाइन्छ । म्याच फिक्सिङको जालो तोड्न सफल भएको भन्दै प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र  खनाललाई क्याथफोर्ड इन्जिनियरिङ कलेज बालकुमारीले २०७२ फागुन १७ मा २१ किलोको माला लगाइदियो । खनाललाई नारायणी अञ्चल प्रहरी कार्यालय प्रमुख भएका बेला वीरगन्जवासीले एक सय किलोको माला लगाइदिएका थिए । धरानका तत्कालीन मेयर तारा सुब्बालाई २०७५ वैशाख २३ मा स्थानीयले विकास निर्माणका काम गरिदिएको भन्दै २२ किलोको माला लगाइदिए ।

राजनीतिक विश्लेषक खगेन्द्र प्रसाई एक डेढ दशकअघिसम्म दलका नेताहरू जिल्ला जाँदा सामान्य टीका मात्रै लगाएर वा केही थुंगा फूल दिएर स्वागत गर्ने गरेको सम्झिन्छन् । ‘पार्टीहरू सर्वसाधारणले दिने चन्दाको भरमा चल्थे । नेताहरूको स्वागतको पनि मौलिक तरिका थियो,’ उनले भने । दसकयता भने राजनीतिबाट स्वागत सत्कारको यस्तो प्रचलन बिस्तारै हराउँदै गयो । नेताहरूलाई धेरै किलोको माला लगाइदिन भइरहेको होडलाई विश्लेषक प्रसाई पार्टीभन्दा व्यक्ति बलियो बन्दै गएको प्रमाणका रूपमा बुझ्छन् । अहिलेको समाज व्यवस्थाको प्रतिनिधि चरित्र नेताहरूलाई ठूलो माला लगाइदिएर खुसी पार्ने जस्तो देखिएको उनले बताए । उनले भने, ‘पार्टीको चाकडी गर्न मिल्दैन । त्यसो भएपछि व्यत्तिीको चाकडी गर्ने चरित्र फस्टायो । ठूलो माला लगाइदिने भनेकै चाकडी र चाप्लुसीको एउटा अभ्यास हो ।’ राजनीतिशास्त्री भाष्कर गौतम नेताहरूको स्वागत सत्कारमा ठूला माला लगाइदिने अभ्यासलाई ढोंग र बकम्फुसे भनेर टिप्पणी गर्छन् । उनका अनुसार परम्परागत वा सांस्कृतिक प्रचलनअनुसार सामान्य स्वागत सत्कार गर्ने अभ्यास हराएर अरूलाई देखाउन र प्रचार गर्न ठूला माला लगाउने गर्नु दरिद्र मानसिकता हो । उनले भने, ‘जति ठूलो माला लगाउँछन् त्यति नै त्यो नेता दरिद्र छ र त्यसरी माला लगाइदिने ठाउँका मान्छे पनि दरिद्र सोचका छन् भनेर बुझिन्छ ।’साथमा मोहन बुढाऐर (धनगढी)

एउटा असल अभ्यास

गाउँ आउने नेता हुन् वा विशिष्ट अतिथि, स्वागतका नाममा ठुलठूला विदेशी माला किनेर लगाइदिने र आयातित खाँदा घाँटीभरि थुपारिदिने अभ्यासलाई कास्कीको मादी गाउँपालिकाले ठप्पै पारेको छ । गाउँपालिकाले २०७५ मा कार्यविधि नै बनाएर गाउँमा आयोजित कुनै पनि सार्वजनिक कार्यक्रममा बडेमानका माला, आयातित खादा लगाएर अतिथिको स्वागत सत्कार नगर्ने नीति लिएको हो । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि हरेक दिन कार्यक्रमबाट घर फर्कंदा खादा र माला थुप्रिन्थ्यो । उनले कान्तिपुरसँग भने, ‘घरमा त खादा र फूलको डंगुरै भयो ।’ स्वागतका नाममा हुने तडकभडकमा आयातित फूल र खादाको प्रयोग हुन्थ्यो । त्यसपछि नै गाउँपालिकाले स्थानीयस्तरमै फूल खेतीलाई प्रोत्साहन गर्ने र स्वागत सत्कारमा सोही उत्पादन प्रयोग गरिने नीति लिइएको गुरुङले बताए । उनले भने, ‘महँगो आयातित फूल, खादा र ब्याच किनेर पैसाको नास नहोस् भनेर यस्तो नीति लियौं ।’

( कान्तिपुर दैनिक )