रारामा रमाए कोरियाली राजदूत
News Desk
Oct-28 , 2021 तारिख 12:30 बेलुका

मुगु — ११ कात्तिक २०७८   

मुगु, नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ–सुक मंगलबार दिनभरि कर्णालीको पर्यटकीय गन्तव्य रारामा रमाएका छन् । राजदूतसहितको टोली रारा छेउकै होटेलमा मंगलबार बास बसेको थियो । टोलीले रारासहित आसपासको क्षेत्रको वन्यजन्तु, असला माछालगायतको अवलोकन गरेको थियो । कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण भएको जिल्ला अस्पतालको भवन हस्तान्तरण गर्न मुगु पुगेका राजदूत सुकलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले मायाको चिनोबापत राराको तस्बिर उपहार दिएका थिए । राजदूतको भ्रमणले रारामा विदेशी पर्यटकको आकर्षण बढ्ने प्रमुख जिल्ला अधिकारी महतले बताए । ‘राराको सुन्दरता देखेर उहाँको टोली दिनभर रमाएको छ,’ उनले भने, ‘उहाँले पर्यटक भित्र्याउन पहल गर्ने पनि बताउनुभएको छ ।’

सन् २०१५ मा कोरिया सरकारले नेपाल सरकारसँग अस्पताल भवन निर्माणको सम्झौता गरेको थियो । कोरिया सरकारको करिब २५ करोड ७५ लाख रुपैयाँको लगानीमा सुविधासम्पन्न भवन निर्माण भएको हो । निर्माणको काम सुरु भएको ३० महिनामा दुई तले ५५ कोठाको भवन निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर मल्लले बताए । ‘सुविधासम्पन्न भवन बनेपछि उपचारमा सजिलो भएको छ,’ उनले भने, ‘अपांगमैत्री भवन भएकाले सबैले सहज रूपले उपचार पाउनेछन् ।’ कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीले मुगुमा सुविधासम्पन्न अस्पताल बनाएकोमा कोरिया सरकारलाई धन्यवाद दिए ।    

( कान्तिपुर दैनिक )