विकास समितिको टोली दार्चुला-तिंकर सडकको अनुगमनमा
News Desk
Oct-29 , 2021 तारिख 12:05 बेलुका

दार्चुला — १२ कात्तिक २०७८  

दार्चुला, संघीय संसदको विकास तथा प्रविधि समिति सदस्य महाकाली कोरिडोर अन्तर्गतको दार्चुला-तिंकर सडकको अनुगमन गर्न दार्चुला आइपुगेको छ । शुक्रबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको टोली दार्चुला सदरमुकामबाट ब्यास गाउँपालिकातिर प्रस्थान गरेका छन् । समितिको टोलीले तिंकर सडकको अनुगमन गर्ने र ब्यास गाउँपालिका–१ छाङ्‌रुमा त्यहाँका विविध विषयमा छलफल गर्ने जनाइएको छ ।

छाङ्‌रुबाट फर्केर ब्यास गाउँपालिका–४ स्थित सुन्सेरामा नेपाली सेनाको ब्यारेकबाट सडक निरीक्षण गर्ने कार्यक्रम रहेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले बताए । एक सय ३४ किलोमिटर दार्चुला–तिंकर सडकको ८७ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलिरहेको छ । त्यस सडकको अनुमगनका लागि समितिको टोली जिल्ला आएको हो । सुन्सेराबाट सदरमुकाममा केही समय बस्ने र यहाँबाट बझाङका लागि टोली हिँड्ने कार्यक्रम छ ।   ( कान्तिपुर दैनिक )