छोटी भन्सार नखुल्दा मारमा व्यापारी
News Desk
Oct-29 , 2021 तारिख 12:15 बेलुका

रौतहट — १२ कात्तिक २०७८  

रौतहट, माओवादी सशस्त्र द्वन्द्वका समयमा सुरक्षाको कारण देखाउँदै बन्द वा ‘मर्ज’ गरिएका रौतहटका छोटी भन्सार अझै सञ्चालनमा आएका छैनन् । जसका कारण साना व्यापारी मारमा परेका छन् । उनीहरूलाई थोरै परिमाणका सामानको भन्सार राजस्व बुझाउन पनि मुख्य नाकामै आउनुपर्छ । यसको प्रत्यक्ष फाइदा भने तस्करहरूले उठाइरहेका छन् । छोटी भन्सार बन्द भएको १५ वर्ष भइसक्दा पनि पुनः सञ्चालन गर्न खासै पहल भएको छैन । भारतसँग सीमा जोडिएका रौतहटका बंकुल, रामपुरखाप, औरैया, ब्रम्हपुरी र मठियामा छोटी भन्सार कार्यालयहरू थिए । तर यी कार्यालय लामो समयदेखि सुनसान छन् । त्यसयता यहाँबाट हुने गरेका भारतबाट निकासी हुने सामानको राजस्व संकलनसम्बन्धी सबै कार्य गौरस्थित मुख्य भन्सार कार्यालयले नै हेर्ने गरेको छ ।

पछिल्लो समय बंकुल भन्सार सञ्चालनमा ल्याइए पनि पुनः बन्द भएको छ । बंकुलमा अहिले एक कार्यालय सहायक कुरुवाको रुपमा बसेका छन् । गौर भन्सार कार्यालयका प्रवक्ता अभिजित सिंहले माथिल्लो तहबाट छोटी भन्सार सञ्चालन गर्न निर्देशन नआएको बताए । ‘अहिले मुख्य भन्सार नाकाबाहेक सबै बन्द छन् । लामो समयदेखि भन्सार कार्यालय बन्द हुँदा राजस्व संकलन प्रभावित भएको छ,’ उनले भने, ‘अहिले मुख्य नाकाबाहेक सबै बन्द गर्न भनिएकोले छोटी भन्सार तत्कालै सञ्चालनमा आउने कुनै सम्भावना छैन ।’ उनका अनुसार सीमाक्षेत्रमा बरामद गरिएका समानहरू पनि सुरक्षा निकायले सिधै गौर भन्सारमा बुझाउने गरेका छन् । पहिला सम्बन्धित छोटी भन्सारमा बुझाउँथे ।

छोटी भन्सार नहुँदा पारिबाट समान ल्याउन अप्ठेरो भइरहेको बंकुलका स्थानीय व्यापारीले गुनासो गरे । ‘६/७ हजारको समान ल्याउँदा राजस्व तिर्न झन्डै १५ किलोमिटर टाढा गौर पुग्नुपर्छ । यसले समय बढी लाग्ने र लागत पनि बढ्ने गरेको छ,’ बंकुलका व्यापारी रामादेश साहले भने । छोटी भन्सार सञ्चालन गर्न धेरैपटक भनिए पनि सम्बन्धित निकायले चासो नदिएको उनको भनाइ छ । ‘भन्सार राजस्व काट्ने मानिस नभएपछि चोर बाटो अपनाउनुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘त्यसैले अधिकांश खुद्रे व्यापारीले बिनाभन्सार सामान ल्याउने गर्छन् ।’

आफूहरूले चाहेर पनि राजस्व तिर्न जान सक्ने अवस्था नरहेको उनले बताए । बंकुल जिल्लाकै सबैभन्दा ठूलो छोटी भन्सार हो । भारतीय बैरगनिया बजार हुँदै नेपाल भित्रिने समानको गौर भन्सारले राजस्व लिने गरेको छ । यसका अलवा कुनै पनि छोटी भन्सारबाट राजस्व काटिँदैन । उद्योग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष सुनील जैसवालले छोटी भन्सार सञ्चालनमा नआउँदा साना व्यापारी मारमा परेको बताए । ‘थोरै समान बोकेर घण्टौं लगाएर कोही पनि राजस्व तिर्न जाने अवस्था छैन,’ उनले भने, ‘चाँडोभन्दा चाँडो बन्द भएका छोटी भन्सार पनि सञ्चालनमा ल्याउनु पर्छ । भन्सार सञ्चालन हुदा स्थानीय व्यापारीलाई गौर पुग्नु पर्दैनथ्यो ।’

सीमाक्षेत्रका छोटी भन्सार बन्द भएपछि साना झोलेपोके तस्करको बिगबिगी बढेको प्रहरीकै तथ्यांकले पनि देखाउँछ । साउनयता रौतहट प्रहरीले भारतबाट चोर बाटो हुँदै नेपाल भित्र्याउन लागेको अवस्थामा ७० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । ८ जना तस्कर पनि पक्राउ परेका डीएसपी नारायण प्रसाद चिमरियाले बताए । ‘सीमापारिबाट भन्सार राजस्व छलेर ल्याएका समानहरू बरामद गर्ने क्रम जारी छ,’ उनले भने, ‘अहिले सीमाक्षेत्रमा निकै कडाइ गरेका छौं ।’ प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको समानसहित एउटा पिकअप भ्यान, ३५ वटा मोटरसाइकल र ५ वटा साइकलसमेत बरामद गरेको जनाएको छ । सीमाक्षेत्रका छोटी भन्सार सञ्चालन भइदिएको भए भन्सार छलेर समान ल्याउने प्रवृत्ति कम हुने प्रहरीको बुझाइ छ । पहिले गौर भन्सारको आफ्नै सुरक्षादस्ता थियो । दस्ताले गस्ति गर्थ्यो । जसका कारण यस्ता घटना उतिसारो हुँदैनथ्यो । तर पछि यसलाई हटाइयो । अहिले शसस्त्र र नेपाल प्रहरीको सहयोगमा गस्ति गरिँदै आएको गौर भन्सारका सूचना अधिकृत सिंहले सुनाए । ‘यसबाट भन्सार छली गर्नेलाई कारबाही र निरुत्साहित गर्न धेरै हदसम्म सहयोग पुगेको छ,’ उनले भने ।    

( कान्तिपुर दैनिक )