कूटनीतिक पाहुनालाई राख्न ‘स्टेट गेस्ट हाउस’
News Desk
Oct-29 , 2021 तारिख 12:25 बेलुका

काठमाडौँ — १२ कात्तिक २०७८  

काठमाडौँ, सरकारले ललितपुरको पुल्चोकमा रहेको मन्त्री आवासलाई तारे होटलकै सेवासुविधा उपलब्ध हुने गरी ‘स्टेट गेस्ट हाउस’ बनाउने भएको छ । जहाँ विदेशी कूटनीतिक नियोगका पाहुनालाई राखिनेछ । यस्तो संरचना नेपालमै पहिलो पटक बनाउन लागिएको हो । हाल भैंसेपाटीमा मन्त्रीहरूको आवासका लागि नयाँ भवन बनिरहेको छ । चैत मसान्तसम्म भवन बनाइसक्ने र त्यहाँ मन्त्री आवास सरेपछि हाल पुल्चोकमा रहेका संरचना भत्काएर गेस्ट हाउस निर्माण थाल्ने सरकारको तयारी छ । गेस्ट हाउसको डिजाइनको काम पूरा भइसकेको सहरी विकास मन्त्रालयका सहसचिव एवं विशेष भवन निर्माण आयोजना प्रमुख दिलीपशेखर श्रेष्ठले बताए ।

साढे ७१ रोपनी क्षेत्रफलमा डेढ अर्ब रुपैयाँ खर्चेर गेस्ट हाउस निर्माण हुने उनको भनाइ छ । ‘चैत मसान्तसम्म मन्त्री आवास निर्माण सक्ने लक्ष्य हो,’ श्रेष्ठले भने, ‘मन्त्री आवास भैंसेपाटीस्थित नयाँ भवनमा सर्नासाथ पुल्चोकमा नयाँ संरचना बनाउन ठेक्का प्रक्रिया सुरु गर्छौं ।’ हाल पुल्चोकमा १८ मन्त्री र राष्ट्रिय सभाका उपाध्यक्षको आवास छ । ‘यी सबै संरचना भत्काएर नयाँ भवन बन्नेछ,’ उनले भने, ‘भारतको हैदरबाद हाउस भने जस्तै नेपालमा पनि विदेशी कूटनीतिक नियोगका पाहुनालाई राख्ने गरी स्टेट गेस्ट हाउस बनाउन लागिएको हो ।’ अहिले विदेशबाट आउने पाहुनालाई पाँचतारे होटल खोज्दै राख्नुपर्ने बाध्यता छ । जसले गर्दा बढी खर्च हुने गरेको बुझाइ सरकारको छ । त्यसमाथि यस्ता पाहुनाको होटल बसाइँ सुरक्षाको दृष्टिकोणले पनि जोखिमपूर्ण हुँदै आएको थियो । त्यसको तुलनामा गेस्ट हाउस धेरै सुरक्षित हुने उनको दाबी छ ।

गेस्ट हाउसका लागि ८ वटा युनिटमा अलग–अलग तीनतले भवन बन्नेछन् । जहाँ ठूलो हल पनि रहनेछ । युनिटैपिच्छे स्विमिङ पुल, आवश्यकता हेरी फिटनेस क्लब हाउसदेखि ब्याङवेट र गार्डेनसमेत रहनेछ । विशिष्ट व्यक्तिहरूसँगै आउने सुरक्षाकर्मीका लागि पनि अलग्गै कोठाको व्यवस्था हुनेछ । ‘सरकारको निमन्त्रणामा आउने डिप्लोम्याट, विशिष्ट व्यक्तित्वहरू, राष्ट्र प्रमुखलाई सुविधासहितको यही गेस्ट हाउसमा राखिनेछ,’ उनले भने, ‘जुन सरकार आफैंले चलाउनेछ ।’ चालु आर्थिक वर्षको बजेटमा पनि गेस्ट हाउस निर्माणको प्रक्रिया अगाडि बढाउने योजना उल्लेख छ । आगामी आर्थिक वर्षमा बजेटसमेत तोकेर निर्माण नै थालिने उनको भनाइ छ । तर हालसम्म वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भने भइसकेको छैन । ‘यो काम चालु आर्थिक वर्षभित्रै सक्ने लक्ष्य छ,’ श्रेष्ठले भने । भैंसेपाटीमा मन्त्री आवासका लागि २४ भवन बनिरहेका छन् । उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका लागि पनि एक/एक वटा भवन निर्माण भइरहेको छ  । श्रीको–हनुमान जेभीले २०७६ कात्तिकमा लिएको ठेक्काको म्याद आगामी कात्तिक २६ सम्म छ तर भौतिक प्रगति ६५ प्रतिशत मात्रै छ । ‘जति चाँडो आवास बन्यो, त्यति नै चाँडो पुल्चोकबाट आवास स्थानान्तरण हुनेछ,’ उनले भने, ‘त्यसैले तोकिएकै समयमा सक्ने गरी निर्माण जारी छ ।’    

( कान्तिपुर दैनिक )