News Desk
डि एन घिसिङ्
परिवर्तनका लागि गरिने अग्रगामी चेतलाई राजनीतिको परिभाषामा अर्थ्याएको पाइन्छ । अर्थात समाजमा परिवर्तन वा रुपान्तरणका लागि गरिने चेतना बिस्तार वा विचारको आन्दोलन नै राजनीति हो । जसले अर्थात त्यो विचारका आधारमा राजनीतिक सुव्यवस्थाको प्रयास वा अभ्यास प्रेरित गतिविधि, नीति आदी समाजमा लागुगर्ने मर्म बोकेको हुन्छ । त्यसैले राजनीति समाज विकासको आधार हो। दर्शन वा सिद्धान्त राजनीतिको सैद्धान्तिक धरातल मात्रै हो।व्यवहारत चरितार्थमा राजनीतिकर्मी वा नेतृत्वदायीले लिने संकल्प र गतिविधिले स्वयंप्रतिको विश्वास तय गरेको हुन्छ। फ्रस्टेट मास अर्थात निरासजनको विकल्पलाई नेतृत्वले दिने विश्वासको वचन वक्तव्यले धेरै अर्थ राखेको हुन्छ।व्यवस्था परिवर्तन गर्नु भनेको केवल सरकार वा प्रशासकमा पात्रको हेरफेर गर्नु होइन।स्वयंले उदघोष गरेका अल्पकालीन र दीर्घकालीन विकासको अनुभुत जनस्तरमा गराउनु हो।राज्यले गर्ने निर्णयमा उब्जिएका बहसमा राजनीतिक पार्टीको धारणाले धेरै अर्थ झल्काउने गर्दछ।अझ वास्तवमा भन्नुपर्दा जब मुलुकलाई बाह्य हस्तक्षेप हुने खतरा बढ्दो रहन्छ तब नागरिकले राजनीतिक तहमा आफ्नो अभिभावकत्वको आभास खोजी गरेका हुन्छन्।
मुलुक भित्रको राजनीतिक,प्रशासनिक र नागरिक बीचको त्रिकोणात्मक आकर्षण नै असल शासन पद्धति हो। राजनीतिमा जनताको अभिमतले राज्य संचालनमा राजनेतालाई जिम्मेवारीबोध गराउदछ।साथै प्रशासकिय अबलम्बन गर्न सघाउ पुर्याइराखेको हुन्छ।लोकतान्न्त्रिक व्यवस्थामा नागरिकले लिने लाभ असल राज्य व्यवस्था हो, राज्यमा स्वस्थ राजनीतिको सुशासन रहदा प्रभावकारी परिवर्तन मात्रै हैन दिगो विकास हुने गर्दछ। राजनीतिमा जनस्तरको आकर्षण एक बलियो आधार हो। राजनीति भनेको चरित्रको जग पनि हो।राजनेताले लिने त्याग र तपस्या सदाचार गुणको रुपमा लिन सकिन्छ।सत्तामा रहदा प्रतिपक्ष धारणाको सम्मान र प्रतिपक्षमा हुँदा खबरदारी गर्नु प्रजातान्त्रिक अभ्यासको सुन्दर रुप मानिन्छ। संवैधानिक व्यवस्थामा वाक स्वतन्त्रता मौलिक हक जस्तै भएको छ।राजनेताको अभिव्यक्तीहरुलाई अडान र समर्थनका रुपमा लिने गरिन्छ । यस्ताखाले अभ्यास प्रजातान्त्रिक मुलुकमा निर्वाचन पुर्व गरिने राजनीतिक दाउपेज वा लाइनका रूपमा हेरिएको हुन्छ।निर्धक्क आफू र मुलुकविरुद्ध गद्दारी गर्दैनन् भन्ने विश्वासका साथ जनताले मतदान गर्छन् र गौरव गर्छन्। राजनीति त्यहीकारण सर्वस्वीकार्य प्रतिष्ठित बिषय हो।
'वाक स्वतन्त्रतासँगै उब्जिएको शब्द हो गोयबल्स शैली। नेपालको राजनीतिमा देखिने र संचार क्षेत्रमा जुन शैलीको अभ्यास भएको छ त्यो साच्चिकै भन्नुपर्दा गोयबल्स हावी भएको अनुमान गर्न सकिन्छ।गोयबल्स शैलीले नेपाली राजनीतिलाई किन तरंगीत गराउछ र गोयबल्स शैली भनेको के हो?यो प्रसङ्गलाई केलाउन जरुरी छ।'
वाक स्वतन्त्रतासँगै उब्जिएको शब्द हो गोयबल्स शैली। नेपालको राजनीतिमा देखिने र संचार क्षेत्रमा जुन शैलीको अभ्यास भएको छ त्यो साच्चिकै भन्नुपर्दा गोयबल्स हावी भएको अनुमान गर्न सकिन्छ।गोयबल्स शैलीले नेपाली राजनीतिलाई किन तरंगीत गराउछ र गोयबल्स शैली भनेको के हो?यो प्रसङ्गलाई केलाउन जरुरी छ।
बिसौं शताब्दीको चौथो दशकमा हिटलरकालिन एकजना संचार तथा प्रचार मन्त्री थिए जसको नाम जोशेफ गोयबल्स थियो।उनको के मान्यता थियो भने कुनै पनि कुरालाई सैयौं चोटी दोहोर्याएर भनियो भने झुठ नै भए पनि त्यो सत्य ठहरिन्छ। जोशेफ गोयबल्सले हिटलरलाई देवत्वकरण गर्दै उनले सैयौं चोटी आफु नियन्त्रित संचार माध्यममा प्रसारण गरे।नभन्दै त्यो सफल पनि भयो । जर्मनमा हिटलर साच्चै नै भगवान नै हुन् कि भन्ने एक खालको भावना त्यस घटनाले जागृत गरायो। बेलाबखत राजनीतिक पार्टीको अन्तर संघर्षमा क्रुरशासकको उदय हुनुमा गोयबल्स जस्ता पात्रको प्रमुख हात रहने तर्कना समेत चल्ने गरेको छ ।
प्रायः राजनीति र समाजसेवा एक सिक्काका दुई पाटाका रुपमा चित्रण गरेर हेरिने गरिएको हुन्छ।यी दुई जुन क्षेत्रमा लागे पनि उस्तै-उस्तै काम हुन भनिन्छ। राज्यको नीतिभित्र रहेर अगुवाइ गर्ने, नेतृत्व प्रदान गर्ने र बृहत्तर राष्ट्रिय र मानवहितमा समर्पण रहनुको अर्थ नै राजनीति हो। कुनै देश बलियो हुनु र शासक बलियो हुनु एउटै कुरा होइन। राजनैतीक पार्टीमा आवद्ध ब्यक्तिले नराम्रा काम ढाकछोप गर्ने र गरेका काम अनावश्यक रूपमा ठूला काम गर्यौँ भनेर देखाउने काम भइरहेको छ। नेतृत्वको व्यक्ती भजन कृतन जुन ढंगले प्रचारप्रसार हुन्छ, यो तरिका गोयबल्स शैलीको अभ्यास मान्न सकिन्छ।