News Desk
- मनोज कुमार कंडेल, अधिबक्ता
सिद्धान्त विनाको राजनितीले शक्तीलाई महत्व दिन्छ । राजनितीका हरेक निर्णयहरु सत्ता, शक्ती र पैसालाई केन्द्रविन्दुमा राखेर गरिन्छ । अनि ‘प्रेम र युद्धमा सबै जाहेज’ भने जसरी सिद्धान्त, नैतिकता र इमान्दारीतालाई बन्धक बनाएर राजनितीको नाममा ‘छलनिती’ शुरु हुन्छ । ओलीको दुईतिहाईको दम्भबाट सुरु भएको सर्बसत्ताबादी चरित्र र व्यवहारले देउवा, माधब र प्रचण्डलाई एक ठाँउमा उभ्यायो । यो गठबन्धन ओलीको सर्बसत्ताबादको लागी मात्र नभएर नेपाली राजनतीमा भविस्यमा समेत आउन सक्ने सबै प्रकारका सर्बसत्ताबादको विरुद्धकोलागी पनि जरुरी थियो ।
आज सत्ता गठबन्धनमा रहेका एमाले समाजबादी, माओबादी र जनमोर्चा कम्युनिष्ट व्यवहार नभएका तर कम्युनिष्ट चिन्तनबाट प्रशिक्षित समुहहरु हुन । ओली जस्तै सर्बसत्ताबादका हिमायती यि घटकहरुले लोकतन्त्रलाई तत्काल गरिखाने भाँडो त बनाएकाछन तर लोकतन्त्रलाई आत्मसाथ गर्न सकेका छैनन । यि तिनै घटकको राजनितीक दस्ताबेज हेर्ने हो भने प्रष्ट हुन्छ की नेपालमा विद्यमान लोकतन्त्रको रक्षा यिनले गर्ने छैनन । यसर्थ नेपालमा लोकतन्त्रको रक्षाको लागी सधै अग्रणी भुमिकामा रहने पाटी भनेको नेका नै हो । यो अबस्थामा यिनै कम्युनिष्टहरुको सहयोगमा नेकाका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको भुमिकामा रहनुभएको छ ।
नेपालको राजनितीमा प्रधानमन्त्री शेरबहादुर देउवा त्यस्ता पात्र हुन जसले सिद्धान्त र नैतिकतालाई भन्दा सत्ता र शक्तीलाई महत्व दिन्छन र त्यसकै आधारमा निर्णय गर्दै आएकाछन् । त्यो सत्ता र शक्ती पनि आफु केन्द्रीत हुन्छ नकी पाटी तथा गुट । अबको एक बर्ष यि तिन कम्युनिष्ट घटकहरुले घेरिएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रीक परिपाटीको विकासको पक्षमा निर्णयहरु गर्नेछन कि त्यही सत्ता र शक्ती संचय तर्फ नै अगाडि बढनेछन् यसले नै नेपालको लोकतन्त्रीक परिपाटीको विकासको मार्गचित्र कोर्ने देखिन्छ । नयाँ संविधान पछिको अबको बाटो राजनितीक क्रान्ति नभएर आर्थिक क्रान्ति हो भनेर नथाक्ने नेताहरुले कहिल्यै पनि आर्थिक क्रान्तीको बाटो देखाउन सकेका छैनन । लोकतान्त्रीक परिपाटीको विकास विना आर्थिक क्रान्तिको बाटोको जग बस्न सक्दैनन पनि । लोकतन्त्रको नाममा सिद्धान्तहिन गठबन्धन देखी अनैतिक आचरणमा रमाउने नेपालको राजनीतिक पाटीहरुले लोकतन्त्रलाई देशमा र विदेशमा पनि मागी खाने भाँडो सिवाय केही बनाएको देखिदैन ।
एमाले ¬– ओलीले हिजो गरको संसदविघटन देखी सबै सर्बसत्ताबादलाई सहि थियो भनेर प्रमाणित गर्न लागि परेकोछ । उसलाई नत संसदीय मर्यादाको ख्याल छ न लोकतान्त्रीक परिपाटी । लगातार संसद नै चल्न नदिएर अल्पायुमा नै यो संसदलाई मार्नु उसको प्रमुख लक्ष्य देखिन्छ । एमाले समाजबादी – चुनावको नामबाटै तर्सिन्छ । उसलाई जसरी नि चुनाव सार्नुछ । कुनै पनि चुनाबमा आफ्नो सिमित बर्चश्व दिन नसक्ने आँकलनमा रहेका उनीहरु सकेसम्म अर्को एक बर्ष चुनाव नगरेर सात्तामा मस्ति गर्नु चाहान्छन र केही शक्ती निर्माण पनि गर्न सकिन्छ की भन्ने आशमा छन ।
माओबादी – त्यस्तो पाटी हो उसले सके त यो संसद नि विघटन गर्ने अनि चुनाव पनि नगरी चुनाब एक दुई बर्ष पछि सार्न पाए रमाउथ्यो । अनि राजनितीक संयन्त्रको नाममा सत्ता कब्जा गर्न पायोस । आजसम्म जनयुद्धको ‘ह्याग ओभर’ मै रहेको यो पाटी आगामी चुनावबाट बाँकी रहेको सिमित अस्तित्व पनि गुम्ने डरमा राता फेटा गुथेका वाइसिएल ब्युताएर जनता तर्साउन लागेको देखिन्छ । यो परिस्थितीमा नेकामात्र त्यस्तो पाटी हो जसले नेपालको संविधान, कानून, अन्तराष्ट्रिय संसदिय प्रणालीको रक्षा गर्न सक्ने र रक्षा गर्नको लागी नेतृत्व लिनु पर्ने देखिन्छ ।
विडम्बना आज प्रधानमन्त्री देउवा तिन कम्युनिष्ट पाटीहरुको घेरामाछन र यि कम्युनिष्ट पाटीहरु लोकतान्त्रीक व्यवस्थालाई संस्थागत गर्न बाध्यताले राजी देखिए पनि सैद्धान्तीक रुपमा चाहादैनन पनि । आज चुनावको विषयमा जुन बहसहरु शुरु भएको छ यो बहस नै गलत र लोकतान्त्रीक पद्धतीको संस्थागत गर्ने भन्दा तहसनहस गर्नको लागी गरिएकोछ । संविधानले स्पष्टरुपमा व्यवस्था गरेको आबधिक चुनाव कुनै बहसको विषय नै होइन । चुनाव संबिधानले तोकेको समय हुनुपर्छ । यहा बहस कोरानाको कारण कसरी सुरक्षितरुपमा चुनाब गर्न सकिन्छ भन्ने हुन सक्छ तर चुनाब सार्ने होइन । कम्युनिष्ट पाटीहरुको अस्तित्व र सत्ता स्वार्थको आधारमा गरिएको विश्लेषण र चाहानाको आधारमा संविधान, कानून र संसदिय प्रणालीकै बर्खिलाप हुने विषयमा गरिएको बहस नै नेपालको लोकतान्त्रीक पद्धतीको विरुद्धमा देखिएकोछ ।
यहा अर्को पाटो भनेको प्रधानमन्त्री देउवाको नियत र उनले हिजोका दिनमा गरेका राजनितीक व्यवहार हो । कतै केही महिना बढि सत्ता लम्व्याउने खेलमा तिनै कम्युनिष्टहरुले उनलाई जालमा पर्ने त होइनन, केही शंका गर्ने आधारछ । सत्ता र शक्तीलाई बढि महत्वदिने प्रधानमन्त्री देउवा सचेत हुनु पर्ने र नेकाको हिजोको विरासतलाई अगाडि बढाउदै नेपालको लोकतन्त्रको पहरेद्धारको रुपमा रहन दृढ हुन अति जरुरीछ । यसको लागी प्रधानमन्त्रीले सत्ता र शक्तीको मोह त त्याग्नु पर्छ नै पदकै लागी कम्युनिष्टहरुको स्वार्थको रक्षाकबज हुनु हुदैन । आशा छ उहाँ कम्युनिष्टहरुको ‘कब्जा’ बाट मुक्त हुनु हुनेछ ।