गोसाइकुण्ड यात्रा संस्मरण २०८० : सुरेन्द्र वाग्ले
News Desk
Feb-01 , 2025 तारिख 06:29 बेलुका

-सुरेन्द्र वाग्ले

म गोसाइकुण्ड गएको थिइन । गोसाइकुण्डको बारेमा थाहा पाएको २० वर्ष भइ सकेको थियो । म वि.सं. २०६० सालतिर काठमाण्डौमा बस्दा  सर्बज्ञ वाग्ले जानु भएपछि गोसाइकुणडको बारेमा थाहा पाएको थिएँ ।  यहाँले मलाई नभनीकन जानु भएको थियो । गोसाईकुण्डबाट फर्केपछि डिजीटल क्यामेराबाट खिचिएका फोटाहरु मलाई देखाउँदा मलाई किन जाने बेलामा भनेनन भन्ने लागेको थियो । 

नुवाकोट र रसुवाको काममा १ वर्ष ६ महिना फिल्डको काम लिएर बस्दा पनि खै कुन्नी किन गइएन थाहा भएन । वि.सं. २०८० मा गोसाइकुण्ड जानको लागि समूह बनाउन लागें । मेरो प्रस्तावलाई कसैले स्वीकार गर्नुभएन । कसैको समय मिलेन त कसैले पहिले नै गएको भन्नुभयो । मलाई तीजको चौथीको दिन बुबाको मासिक श्राद्धको तिथि पर्दथ्यो । मलाई तेही दिन गोसाईकुण्ड पुगेर बुबाको नाममा पानी दिने र बत्ती बालेर फर्कने चाहना थियो । त्यस समयमा दिपक वाग्लेको बैंकको जागिर भएको र तीजको बेलामा पुरुषलाई बैकले बिदा नदिंदा दिपक मसँग जान पाएनन । तीजको बेलामा जयराम  वाग्ले भाइ पनि मसँग जानको लागि समय अनुकूल भएन । दुबै भाइ असोजको ३ गते गएर फर्केका थिए । 

म चौथीको दिन नपुगी भएको छैन । साथी पनि पाइन । अनि जान्छु भने पछि जानै पर्ने सोंच अनुसार म जाने निर्णय गरेको थिएँ । ठूलो छोरा शैलु वाग्लेलाई लिएर जाने निधो गरें । छोराले पनि मलाई साथ दिए । वि.सं. २०८० भाद्र ३१ गते घरबाट जाने निधो गरी एका बिहानै उठेर ६ बजे ट्याक्सी चढेर हिडियो। घरबाट निस्कनु अघि Indrive बाट ट्याक्सी बोलाएर घरबाट ५० मीटर अगाडि मूल सडकमा निस्केर सडक छेउमा विजुलीको पोल मूनि कसेर ट्याक्सी कुर्दै बसेको थिएँ । ट्याक्सी पनि आइपुग्यो । ट्याक्सी चढ्न मात्र के लागेको थिएँ‚ मेरो टाउकोमा केही परेझै लागेर हातले छामेको त कागले छेरेको रहेछ । खै शुभ साइत हो की अशुभ हो भन्दै ट्याक्सी चढेर सामाखुशी तर्फ लागियो ।

हाम्रो योजना नुवाकोटको घ्याङ्फेदी‚ सिसिपु‚ तालु कसेरी‚ फेदी‚ सूर्यकुण्ड हुँदै जाने योजना थियो । सामाखुशीमा गएर गाडी कहाँबाट लाग्छ भनेर सोधेको यही ठाउँबाट जान्छ तर ८ बजेतिर गाडी आउँछ भन्ने जवाफ पाएपछि हामी बसपार्क तर्फ लागियो । बसपार्कमा गएर सोध्दा घ्याङ्फेदी जाने बस छुटिसकेको रहेछ । समुन्द्रटार जाने बसले घ्याङ्फेदी जाने बसलाई समुन्द्रटारमा भेट्टाइदिन्छु त भन्दै थिए खलासीले । बसमा हेरेको त सबै सीट भरिसेकेको रहेछ । उभिएर जान नसक्ने भएकोले अब धुन्चे हुँदै जाने निर्णय गरी माछापोखरी तर्फ लागियो । धुन्चे जाने बसको लाष्ट सिटमा बसेर धुन्चेतर्फ ८ बजे तिर धुन्चतर्फ लागियो ।  गाडीको अवस्था राम्रै रहेछ । जब गाडी गुड्न लाग्यो अनि हामीलाई निद्रा लाग्न थाल्यो । नौबिसेसम्म त म जागा नै थिएँ । त्यसपछि निदाएछु एक्कासी बेलकोटगढी नगरपालिकाको रातमाटे पुगेपछि मात्र थाहा भयो । बाटो राम्रो भएकोले गाडी तुफान रुपमा गुड्दै गेर्खुमा गएर खाना खानको लागि रोकियो । पृथ्वी राजमार्गमा भएका होटलहरुमा जस्तै खाना होला भनेर भन्ने सोंच्दै खाना त खानै पर्‍यो भन्दै खान बसेको खाना त स्वादिष्ट रहेछ । खाना थपेर खाइयो । तिर्ने बेलामा सोधेको त सादा खानाको रु २५० मात्र रहेछ । अनि मैले त गाडी रोक्ने ठाउँमा पनि यति मिठो खाना पाइदो रहेछ भनिदिएको थिएँ । होटलवालाले हजुर हामी खानामा सम्झौता गर्दैनौ भन्ने जवाफ पाएको थिएँ ।

 

खानापश्चात हामी चढेको गाडीका यात्रीहरु कम भएकोले अर्को गाडीमा चढाएर लगियो । दुइटा गाडीमा रहेका यात्रीहरु एउटै गाडीमा अटियो । त्यसपछि गाडी धुन्चेतर्फ लाग्यो । गोसाइकुण्ड लामटाङ्ग राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकोले धुन्चे पुग्ने बेलामा रोकेर गोसाइकुण्ड  जाने यात्रुबाट प्रतिव्यक्ति रु १०० लिइदो रहेछ । हामी पनि रु २०० मा दुइटा टिकट काटेर धुन्चेतर्फ लागियो । 

धुन्चे पुग्दा ३ बजिसकेको थियो । बसमा अन्य यात्रीहरु पनि थिए । एक जना मार्को नाम गरेका  इजरायली नागरिक पनि थिए । २ जना केटीहरू र २ जना केटाहरुको अर्को समूह पनि थियो । इजरायली आफ्नो तयारी गरी एक्लै हिड्न लागे । एउटै बसमा  आएका अरु ४ जना सँगै हिंड्दै थियौं। उनीहरु अलि हिड्न नसक्ने जस्तै देखियो । फोटो खिच्दै हिड्न लागें । उनीहरुसँग हाम्रो कुरा नमिल्ने महशुस गरी हामी बाबु छोरा पनि अगाडि बढ्न लागियो । अगाडि बढ्ने क्रममा धुन्चेमा गोसाइकुण्डसम्म जाने बाटोमा पर्ने स्थानहरू र ती स्थानहरुको उचाइ समेत उल्लेख गरिएको फ्लेक्स प्रिन्ट सडकको भित्तामा भेटें तर त्यस ठाउँमा सानो गाडीले छेकिदिदां राम्रोसँग फोटो त खिच्न मिलेन तै पनि त्यसलाई फोटोमा उतारिएको थियो । यस फोटोमा देखाइए अनुसार धुन्चेको उचाई २०० मीटर र यहाँ ४० वटा होटलहरु रहेका छन् । धुन्चेबाट पूर्वतर्फबाट पदयात्रा शुरु हुन्छ । ४५ मिनेटको यात्रा पश्चात घट्टेखोला पुग्न सकिन्छ । यहाँ मीनी गोसाइकुण्ड बनाइएको छ । यसको उचाई १९६० मीटर रहेको छ । धुन्चेबाट करिब ४० मीटर तल रहेको र समथर तथा ‍ओरालो बाटो भएकोले यहाँसम्मको यात्रा ज्यादै सहज भएको थियो ।  घट्टेखोलाबाट हामी उकालो लाग्न थाल्यौ । केही माथि पुगेपछि विश्रामस्थल आइपुग्यो । झोलामा भएको मकै झिकेर खान लागियो । मकै खाँदै गर्दा हामीले धुन्चेमा छाडेका ४ जनाको समूह पनि केही तल आएको देखियो । हामी अगाडि जाने विचार गरेर विश्रामस्थलबाट उकालो लागियो । त्यसैबेला पानी पर्न लाग्यो । झोलामा भएको रेनकोट झिकेर ओढेर माथि लाग्दै जाँदा २३०० मीटरमा अवस्थित खेंदी भन्ने ठाउँमा पुगियो । त्यस ठाउँमा पनि ३ वटा होटलहरू रहेछन् । पानी परेको थियो । अध्यारो हुँन लागि सक्यो भनेर होटलवालाले बस्ने आग्रह गर्दै थिए । त्यसै बीचमा हामी पछाडिको ४ जनाको समूहले पनि भेट्टायो । त्यसपछि हामी ६ जनाको समूह बन्यौं । ६ जनाको समूह देउरालीसम्म पुग्ने अठोट गरेर अगाडि बढियो । हामीसँग टर्च लाइट थियो । पानी परेको थियो । रेनकोट ओढेर टर्चलाइट बालेर उकालो लागियो । हाम्रो साथमा एउटा भोटे कुकुर पनि पछि लाग्यो । त्यस कुकुरले हाम्रो सहारामा माथि जाने निर्णय गरेको थियो होला तर हामीलाई त्यस कुकुरले सुरक्षाको प्रत्याभूति पनि गराइरहेको थियो ।

केही समयको हिंडाइपछि बत्ती बलेको स्थान देखियो त्यो ठाउँ २५०० मीटरमा अवस्थित देउराली भन्ने ठाउँ रहेछ । त्यस ठाउँमा २ वटा होटलहरु थिए । हामी जाँदा जाँदैको पहिलो होटलमा बस्न पुग्यौं । हाम्रो त्यस दिनको गन्तब्य आइपुगेछ । हामी त्यस रात त्यही बस्यौं । खानाको हिसाव प्याकेजमा गरिदो रहेछ । एक जना व्यक्तिले खाएको र सुतेको रु ८५० तिर्ने गरि बसियो ।  मैले मकैको ढिंडो पाउँछ भनी सोधेको थिएँ । पिठो नै छैन भन्ने जवाफ आयो । सिस्नो छ भनेको एक कचौरा मात्र छ बिहानको राखेको तपाइलाई मात्र दिन्छु यो समूहले खाना खाइसकेपछि आउनु है भनिन ती होटलकी साहुनीले । बस्ने कोठा माथिको तलामा भएकोले खानाको लागि म तल झरें । छोरा शैलु म धन्दा पहिले नै झरिसकेको थियो । तल गएर खोज्दा नदेखेपछि फोन गरेको आगो बालेको स्थानमा गएर जुत्ता मोजा अनि ज्यान तताएर बसेको रेहछ । बत्ती गएको अवस्था भए पनि खाना खाइयो । मैले खाना ल्याउने भाइलाई सिस्नोको कुरा गरें। तय्यो भाइले छैन त भन्दै थियो मैले कुरा गरिसकेको छु साहुनीलाई भनेर ल्याउ भनेपछि तताएर ल्याइदिए । शैलुलाई खान्छौ भनेको मिठो लागेन मलाई थानकोटमा खाँदा भनेका थिए । त्यसदिन हामी आफैले बनाएको ढङ्ग नपुगेर साह्रै नमिठो भएको थियो । ल यति खाउ मिठो हुन्छ यीनीहरुले बनाएको भनेर अलकति दिएर मैएसो चजचॉय् यलो तैकगखाना खाएर माथि गएर कोठामा सुतियो । बत्ती गएको अवस्था थियो एकछिनपछि बत्ती आयो मोबाइल र टर्चलाईट पनि चार्ज गरी सुतियो । 

भोलिपल्ट बिहान उठेर होटलमा पैसा बुझाउँदा रु ८०० का दरले बुझाइ अघि बढियो । हामी बसेको होटल भन्दा माथि अर्को होटल रहेछ । त्यस होटलमा १४ जनाको एउटा समूह चिया खाँदै थिए । हामीलाई आज कहाँबाट आउनुभयो भनी सोधेका थिएँ । यही तल्लो होटलबाट भनेर उकालो बाटो लागियो । 

त्यो उकालो चढ्दा शैलुलाई म माथि जान सक्छु भन्ने लागेको थिएन । यसरी त पुग्न सकिन्न त भन्दै थिए । म हिड्न पनि नछोड्ने छिटो हिड्न पनि नसक्ने मध्ये पर्दथे । खरायो र कछुवाको कथा सम्झदै अगाडि बढिरहें । देउराली पछिको स्थान २९०० मीटरको उचाइमा रहेको ढिम्सा थियो । यहाँ ३ वटा होटलहरु रहेका छन । देउरालीबाट ढिम्सा तर्फ लाग्दा बाटोमा इजराली नागरिक मार्कोले हामीलाई भेट्टाए । उसले भन्दै थिए कि लामो यात्रा गर्नु छ भने एक्लै हिड्न पर्छ भनेर उ एक्लै हिड्न लागे । २४ वर्षको जवान सैनिक तालिम लिइसकेको मान्छेलाई हामीले भेट्टाउन सक्ने कुरै भएन । देउरालीबाट बिहान ६ बजे हिडेर ७ बजेर १० मिनेटमा ढिम्सा पुगेपछि २ कप चिया बनाउन लगाइ हामीले बोकी लगेको बिस्कुट खान लागियो । देउरालीबाट ढिम्सा पुग्न लाग्ने समय १ घण्टा १५ मिनेट तोकिएकोमा हामो १ घण्टा १० मिनेटमा पुगेका थियौं । ढिम्सामा लामटाङ्ग राष्ट्रिय निकुञ्जले राखेको बोर्ड हेरेको अबको नजिकको स्थान भनेको ३२५० मीटरमा रहेको चन्दनबारी रहेछ । 

चिया खाएपछि फेरि उकालो लागियो । हामी ८ बजेर २७ मीनेटमा पुगेका थियौं । यो समय चिया खाएर बस्दाको समेत जोडिएको हो । चन्दनवारी पुग्न १ घण्टा लेखिएकोमा हामीलाई १ घण्टा १७ मिनेट लागेको थियो । चन्दनबारीमा दुग्ध विकास संस्थान भेटियो । त्यहाँ चौरीको दुधबाट चिज बनाउने पनि गरिदो रहेछ । यस स्थानमा ८ वटा होटलहरू रहेका छन् । चौरीको दुधबाट नून हालेको चिया खाएर प्रति कम रु १०० तिरेर त्यहाँबाट हिडियो । त्यस ठाउँमा बेतबाँसको लट्ठी छोटो बनाइ उकाली लगियो । अबको नजिकको गन्तव्य चोलाङ्पाटी थियो । 

चोलाङ्गपाटी पुग्न २ घण्टा लाग्ने समय बोर्डमा उल्लेख गरिएको भेटेपछि अब चोलाङ्गपाटीमा खाना खाने उद्देश्यसहित चन्दनबारिबाट हिडियो । चन्दनबारीबाट चोलाङ्गपाटी २ घण्टा समय लाग्ने उल्लेख गरिएकोमा हामी २ घण्टा १६ मिनेटमा पुगेका थियौं । चन्दनबारीबाट उकालो लाग्दा खासै उकालोको अनुभव गर्न परेन । कतै समथर त कतै सामान्य उकालो उक्लदैं माथि लाग्दै जाँदा हामी १० बजेर ४३ मिनेटमा पुगेका थियौं । यस ठाउँको उचाई ३५८४ मिटर रहेको छ भने यस ठाउँमा २ वटा होटलहरु रहेका छन् ।  चोलाङ्गपाटीमा खाना अर्डर गरेर एकछिन बसियो । देउरालीमा चिया खाँदै गरेको १४ जनाको समूह मध्येको ७ जना जति भेट भएको थियो । चोलाङ्गपाटीमा खाना खाने समयमा १४ जनाको समूह पनि आइपुगेको थियो । यस ठाउँमा जनैपूर्णिमाको समयमा गोसाईकुण्डमा मेला भर्न आउनेलाई मध्य नजर गरी अस्थायी रुपमा होटलहरु पनि सञ्चालन गरिने रहेछन । मेला सकिएपछि ती अस्थायी रुपमा सञ्चालन गरिएका होटलहरु सबै भत्काउने गरिदो रहेछ । हामी खाना खाएर एक जनाको ५०० को दरले रु १००० तिरेर  अगाडि लागियो । 

खाना खाएपछि हामी फेरी उकालो तर्फ लागियो । अबको नजिकको गन्तव्य ३९०० मिटरमा रहेको लौरीबिनायक थियो । लौरीबिनायक पुग्नको लागि बाटो ढलान गरिएको सिंढी निर्माण गरिएको रहेछ । बाटोमा अरु यात्रुहरु पनि थिए । म हिड्न अरुभन्दा कमजोर भएकोले एकोहोरो हिडिरहेको थिएँ । हामीसँग अरु समूहका यात्रुहरु सँगै थिएँ । चोलाङ्गपाटीबाट ११ बजेर ३९ मिनेट जाँदा हिडेर लौरी बिनायकमा हामी १ बजेर ७ मिनेटमा पुगेका थियौं । समय अवधिको सन्दर्भमा भन्नुपर्दा हामीलाई चोलाङ्गपाटीबाट लौरीबिनायकसम्म पुग्न १ घण्टा  २८ समय लागेको थियो । हामीलाई उनीहरु लौरीबिनायकमा खाना खाने योजनामा थिए । हामीले खाना खाइसकेका थियौं । उनीहरु भोकले लखतरान भएर दालमोठ खान लागेका बेला शैलुले बदाम एक एक मुट्ठी खान दिएपछि लौरीबिनासम्म सजिलै जान सफल भएका थिए । लौरीबिनामा खाना खान नपरेकोले हामी उकालो तर्फ लागियो । प्राय  तिर्थ यात्रुहरु लौरीविनायकमा बास बसेर बिहान सबेरै उठेर झोला होटलमा राखेर गोसाइकुण्ड जाने र नुहाएर फर्कने र खाने खाएर फर्केर आउने गरेको पाइयो । 

हामीहरु १ बजेर ७ मिनेटमा लौरीविनायक पुगिसकेकोले हामी गोसाइकुण्ड पुगेर बास बस्ने निर्णय गरियो । लौरीविनायकबाट माथि लाग्ने बेलामा पानी पर्न थाल्यो । रेनकोट ओढेर उकालो लाग्दा साह्रै कठिन भयो । अबको नजिकको गन्तव्य ४१५० मिटरमा रहेको  बौद्ध गुम्वा थियो । त्यसठाउँमा हामी दिउँसो २ बजे २३ मिनेटमा पुगेका थियौं । लौरीविनायकबाट बौद्ध गुम्बा पुग्न हामीलाई १ घण्टा ४ मिनेट समय लागेको थियो । 

बौद्धगुम्बाबाट गोसाइकुण्डसम्मको समय २ घण्टा समय लाग्छ भन्ने लेखिएकोमा हामीहरु ४ बजेर १७ मिनेटमा पुगेका थियौं । बौद्धगुम्बाबाट गोसाइकुण्डसम्म पुग्नकालागि हामीलाई १ घण्टा ५४ मिनेट लागेको थियो । 

धुन्चेबाट गोसाइकुण्ड पुग्नकालागि औसत समय १३ घण्टा समय लाग्ने भनिएकोमा हामी करीब १३ घण्टामा पुगेका थियौं । गोसाइकुण्ड पुग्ने बेलामा कुहिरो लागेर त्यति राम्रो दृष्य अवलोकन गर्न त पाइएन । सबै भन्दा तल सरस्वती कुण्ड‚ त्यसभन्दा माथि भैरव कुण्ड र सबैभन्दा माथि गोसाइकुण्ड रहेका छन । गोसाइकुण्ड ४३८० मीटर उचाईमा रहेको छ । यस कुण्डबाट पानी बगेर भैरवकुण्डमा खस्ने गर्दछ । भैरव कुण्डबाट पानी सरस्वती कुण्डमा खस्दछ । 

गोसाइकुण्डमा ४ बजे पुगेको हुँनाले त्यही स्थानमा होटल खोजेर वास बसियो । रातिमा निद्रा राम्रो लागेन । नाक सुक्खा भएको र स्वासप्रस्वासको दर बढी नै थियो । निकै जाडो महशुस गरिएको थियो । टाउको दुखेको थियो । भोक लागेर आफैले लगेको विष्कुट खाइयो । टोपी लगाएर सुतेको थिएँ । 

भोलिपल्ट बिहान कुण्डमा गएर पानी हातले छामेको साह्रै चिसो अनुभव भयो । नाक सुख्खा भएको छ । चिसो पानीले नुहाएर बिरामी परिन्छ कि भन्ने डरले मुख मात्र धोएर बा को नाममा बत्ती बाल्ने र पानी दिने काम गरियो । हामीसँग गएका १४ जनाको समूह नुहाउन सकिन्छ भनेर कपडा खोल्न थाले । हामी उनीहरूको क्रियाकलाप हेर्दै भिडियो बनाउँदै बसियो । उनीहरु एक एक गरी सबै नुहाउने विचार गरे । अनि हामी पनि के कम भनेर कपडा खोलेर म नुहाउन कुण्डमा पसें । शैलुले भिडियो बनाए । अनि सबैले जोस्याइदेको त शैलुले पनि नुहाउन पसे । पानीमा पस्न मात्र के लागेका थिए चिप्लिएर पानीमा डुविहाले । एक पटक मात्र डुबुल्की मारेर उनी पनि कुण्डबाट निस्किए । दुबै जनाले नुहाइयो । 

नुहाउने काम सकिएपछि अब सूर्यकुण्ड हुँदै नुवाकोटतिरबाट फर्कने निधो गरी सूर्यकुण्डतर्फ लागियो । सूर्यकुण्डतर्फ लाग्दा बाटामा अन्य कुण्डहरु पनि देखिए । सूर्यकुण्ड ४६१० मीटर उचाइमा रहेको कुण्ड रहेछ तर कुन चाहि हो कुनै मानव वस्ती तथा साइनवोर्ड नभएकोले छुट्याउन सकिएन । हिड्दा हिड्दै सूर्य पास कटिएछ । सूर्यकुण्ड नुवाकोट जिल्ला अन्तर्गत पर्ने भएता पनि कहाँबाट छुट्टियो भन्ने कुनै सिमाना भेटिएन । 

सूर्यपासबाट फेदीतर्फ झर्दा बाटो सबै ढुङ्गाले चिठेको भेटियो । ४६०० मिटर उचाईबाट करिब ८०० मीटर उचाईमा झर्नु पर्नेछ । खुट्टा दुख्न लाग्यो । साप्रा र तिघ्राको मांसपेशी दुखेर हिड्न गाह्रो हुन लाग्यो । खुट्टाका औंला दुखेर ओरालो बाटो भएकोले शरीरलाई थामेर हिड्न निकै कठिन हुँदै जान थाल्यो । बाटोमा एउटा होटल देखियो । तर त्यस ठाउँमा रहेको होटल बन्द रहेछ । त्यस स्थानलाई H.CAMP भनिने रहेछ ।  त्यो होटल जनै पूर्णिमा तथा दशहराको समयमा गोसाइकुण्डमा मेला लाग्ने अवधिमा मात्र खुल्ने गर्दछ भन्दा अनुपयुक्त नहोला । मेलाको अवधिमा सिन्धुपाल्चोकको हेलम्बु‚ काठमाण्डौको सुन्दरी जल र नुवाकोटको घ्याङ्फेदी हुँदै जाने यात्रुहरु फेदीमा पुग्नु पर्ने हुन्छ । यस ठाउँमा २ वटा होटलहरु सञ्चालनमा ल्याइएको छ ।

 एउटा होटल बाह्रै महिना सञ्चालनमा आउने गरेको छ भने अर्को मौसमी रुपमा सञ्चालनमा आउने गरेको पाइन्छ । त्यस अवधिमा  तथा विदेशी पर्यटकको आवागमनको समयमा मात्र चल्ने गरेको पाइन्छ । यो वोर्डले दिएको शन्देश Upper Ghopte 2-2:30 घण्टा लाग्ने उल्लेख गरिएको छ । H.CAMP २/३ घण्टा लाग्ने उल्लेख गरिएको छ । ४६०० मीटरबाट ३७३० मीटरसम्म पुग्दा बाटोमा याक र भेडा चरिरहेको भन्दा थप केही देखिएन । बाटो भने लगभग पुरै ढुङ्गाको सिंढी बनाइएको छ । ठाडै उकालो बाटो भएको बाटोमा कुनै संकेत पनि नहुँदा कति बाटो पार गरियो‚ कति बाँकी छ भन्ने कुनै संकेत भेटिदैन । बाटो काट्न लाग्ने समय पनि वास्तविक देखिदैन । 

फेदीमा हामी दिउँसोको २ बजेर २१ मिनेट जाँदा आइपुगेका थियौं । सूर्यपासबाट झर्दा करिब विहानको १० बजेको थियो । ४ घण्टामा हामी ४६०० मीटरबाट ३७०० मीटरमा झर्न सफल भइएको थियो । यो गति साह्रै ढिलो थियो । खुट्टा दुखेर हिड्न कठिन हुँदा यति समय लागेको थियो । फेदी होटलमा खाना अर्डर गरी खाँदै गर्दा इजरायली नागरिक मार्को पनि आइपुगे । मार्कोसँग हामी नुवाकोटमा बस फेरेपछी सँगै भएका थियौं । गोसाइकुण्डमा १० बजेसम्म सुतेछन अनि उठेर हिंड्दा पनि हामीलाई भेट्टाउन सफल भएका थिए । खाना खाएर प्रति व्यक्ति सादा खानाको रु ८००(२ जनाको) तिरेर नुवाकोटको तालु कसेरी तर्फ जाने तयारी गर्न लागियो । होटलवाला साहुले मलाई एउटा काम गरिदिनुहुन्छ भनी सोधे । मैले के होला भनेको त पा लैदिनुहुन्छ खरानीटारसम्म भने । मैले के हो पा भनेको त पाहा(भ्यागुता) भनेपछि मैले त्यस्तो काम नगरौं भनेर टारें ।अब तालु पुग्न कति समय लाग्छ भनी सोध्दा २/३  लाग्छ भन्ने जवाफ आएपछि हामी पनि पुग्न सकिन्छ भनेर तलितर झरियो । अलि तल झरेपछि एउटा वोर्ड देखियो । त्यसमा लेखिए अनुसार घ्याङ्फेदी पुग्न ३ घण्टा ३० मिनेट लाग्ने उल्लेख गरीएको देखेपछि ढुक्क भएर हामी तलतिर झरिएको थियो । वास्तवमा यो सूचना नै कसैलाई पनि नमिल्ने खालको रहेछ । यस्ता अव्यहारिक सूचना जिम्मेवार निकायबाट लेखिनु सरासर अपराध हो । 

केही तल झरेपछि ठाडो खोलाबाट ठाडै तल झर्ने बाटो आयो । केही तल सानो झलुङ्गे पुल हालिएको रहेछ । त्यही बाटो चारपाउ टेक्दै तल झरियो । खासमा भन्नुपर्दा पहिलो पटक हिडेको मान्छे अध्यारो भएपछि बाटो नै पत्ता लगाउन नसकिने रहेछ । त्यो बाटो नयाँ बनाइएको रहेछ । पुरानो बाटो अलि घुमाउरो भएपनि सजिलो भएको कुरा तालुमा भेटिएका बासिन्दाले बताएका थिए । ओरालो बाटो तलतिर ठूला ठूला सिढी थाकेका गोडा बिस्तारै तल झर्दै गयौं । केही तल झरेपछि २०४९ असार १६ गते (३० जुन १९९२) सोमबार Thai Airways दुर्घटना भएको स्थानमा आइपुगियो । त्यस स्थानमा उक्त्त जहाजको पाटपुर्जा समेत देख्न पाइएको थियो । ती सामानहरु पनि एक ठाउँमा जम्मा पारेर सुरक्षित राख्नुपर्नेमा यस विषयमा सम्बन्धित निकायको ध्यान पुगेको देखिएन । केही पाटपुर्जा फेदीको होटलवालाले फेदीमा लगेर समेत राखिएको भेटिएको थियो ।

साँझ पर्न लागिसक्यो । बाटो जति हिडेपनि सकिने होइन । अध्यारो हुन थालिसक्यो । थाकेका खुट्टा अग्ला सिढी बिस्तारै बिस्तारै तल झर्न लागियो । अब त आयो होला भन्यो आउँदैन । खुट्टाले तेर्सो बाटो खोजेको छ तर बाटोले तलतिर मात्र लैजान खोज्छ । धेरै तल आइसके जस्तो लाग्छ बस्ती आउँदैन । केही बेरमा एउटा टिनको छाना भएको घर देखियो । बस्ती आएछ कि भनेर हेरेको त यात्रु विश्रामस्थल बनाइएको रहेछ । त्यहाँ एकछिन बसेझै गरेर तलतिर लागियो । बाटोमा जुका लागेर हैरान । बाटोमा पानीको तिर्खा लागेपछि झरनाबाट झरेको पानी खाँदै तल झरिएको थियो । 

केही समयपछि अलि पर बत्ती  बलेको देखेपछि बस्ती आइपुगेछ भन्ने लाग्दथ्यो तर बस्ती निकै टाढा थियो । केही समयपछि एउटा वस्तीमा पुगियो । एउटा घर जस्तो देखेर त्यस तर्फ लागियो । बत्ती नबलेको देखेर नजिकै गएर हेरेको त गाइ गोठ रहेछ । अलि तल हेरेको त तगारो लगाएको भेटियो । मुल बाटो हरायो । हामीसँग भएको टर्च लाइट बालेर बाटो खोज्दै गर्दा अर्को स्थानबाट पनि टर्चलाइटको उज्यालो आयो । लौन हजुर बाटो बिराइयो । एक छिन यता आइदिनुस न भनेर भनेपछि एक जना आइपुगे । हामीले बास पाइन्छ कि भनेर सोधौं । ती बुढाले पाइन्छ भने । मैले कहाँ पाइन्छ भनेको हाम्रै घरमा पाइन्छ भनेर उनकै घरमा लगे । उनकी श्रीमतिले किन यस बेला आएको । फेदीमै बास बसेर भोलि आएको भए हुन्थेन भनेर सोधिन ।

हामी ३ घण्टामा घ्याङ्फेदी पुगिन्छ भनेर लेखेको बोर्डले गर्दा झुक्कियौं भनेर जवाफ दियौं । 

 

रेनकोट खोलेर चिसा कपडा बाहिर कठबारमा टाँगेर भित्र गइयो । आगो बलिरहेको रहेछ नजिकै गएर बसियो । जुकाले खाएको रहेछ जताततै शरीरमा । गोडा रगताम्य भएको अवस्था थियो । पानीले पखालेर भित्र गएर आगो तापेर बसियो । उनीहरुले भात खाइसकेका रहेछन । भात पकाइदिम त भन्दै थिए हामीले भो भोक छैन २ बजे तिर खाएको  हो भोक भन्दा बढी थकाइ लागेको छ भनेर जवाफ दियौं । लोकल कुखुरको अण्डा खाने भनेर सोधेका थिए हामीले खाने भन्ने जवाफ दियौं । तेलमा कि घ्यूमा भनेर सोधेका थिए मैले घ्यूमा भनेपछि चौरीको घ्यूको भाँडा झिकेर ४ वटा लोकल अण्डाको अम्लेट बनाएर खान दिए । हामी त्यही अम्लेट र पानी खाएर सुतियो । उनीहरु आफु आफुमा मातृ भाषा बोलिरहेका थिए । कुन भाषा हो तपाइहरुको भनेर सोध्दा शेर्पा भनेका थिए ।

सानै उमेरमा घर पनि भोटेको घ्याङ्ग जस्तो भन्ने सुनेको थिएँ । घरको ढोकाबाट भित्र पसेपछि खुल्ला थियो । एक छेउमा सुधारिएको चुल्हो थियो । घरको एक छेउमा २ वटा साना बेड थियो । हामीलाई भुइमा म्याट्रेस लगाएर ओछ्यान लगाइदिए । गएको दिन देखिको पानीमा भिजेका हामीलाई बेसरी जाडो भयो । ३ बटा ब्याक्केट र चौरीको उनबाट बनाएको बाक्लो राडी ओडाइदिएपछि बल्ल तातो अनुभव भयो । राति त तातो भएर शैलुले ओढेका लुगालाई लात्ताले हानेर घुडाभन्दा तल पुर्‍याइदिएका रहेछन । मैले राति तानेर सुते । 

त्यो घरमा भोटे कुकुर पनि रहेछ तर त्यस दिन कता गएछ कुन्नी थिएन । राति आउन सक्छ बाहिर जान पर्‍यो भने भन्नु है कुकुर आएको भए टोक्न सक्छ भन्दै थिए तर थाकेका हामीहरु राति उठेनौं । बिहान ६ बजे म उठे पहिले अनि छोरालाई पनि उठाएर ट्वाइलेट जाने काम सकेर कपडा लगाउन लागियो । 

कति पैसा दिउँ भनेर सोधेको थिएँ मैले । ती बुढाले तपाईहरुले हिजो भात पनि खाएन ‚ अहिले चिया पनि खाएन के पैसा लिने । आफै बिचार गरर देउ भने । मैले उनलाई नै भन्न कति कर गरें तर उनले नभए पछि मैले पर्समा हेरेको रु २०० मात्र खुल्ला रहेछ । मैले त्यही दिए । उनी खुशी भए । त्यसपछि हामी त्यस घरबाट सिसिपुतिर लागियो । 

केही तल झरेपछि एउटा घरबाट एक जनाले कहाँबाट आउनुभएको हो भनेर सोधनी भएको थियो । हामीले हिजो फेदीबाट झरेको र त्यै माथिको घरमा बास बसेर आएको भन्ने जवाफ दिंदै तलतिर लागियो । अलि तल आएपछि डोजरले खनेको बाटो खोलातिर मोडीएर पारीतिर जाने भयो । अर्को बाटो पनि देख्न त देखिएको थियो । डोजरले खनेकै बाटो सही होलानी भनेर खोला तिर झरियो । खोलामा पुल पनि रहेनछ । यसो तर्न सकिन्छ कि हेरेको आँट आयो र म खोला तरें । छोरा एउटा हातले दुइटा लौरी र अर्को हातले जुत्ता लिएर तर्न लाग्दै थिए । त्यतिकैमा एउटा ढुङ्गाबाट अर्को ढुङ्गामा फड्केर जाँदा जुत्ता भएको हातले ढुङ्गाको साथ लिंदा एउटा जुत्ता खोलाले बगायो । ठाडो खोला थियो । त्यसलाई कतै भुमरीमा रोकिन्छ कि भनेर हेरेको बगाएर लग्यो । अर्को जुत्ता पनि खोलामा फालिदियौं । अनि पारी पुगेपछि फर्केर हेरेको पानी घट्ट दखियो। त्यहाँ मान्छे पनि देखियो । खोला सुसाएकोले केही सुनिने अवस्था थिएन । बाटो सही छ कि छैन भनेर सोध्ने अवसर पनि भएन । विस्तारै डोजरले खनेको बाटोबाट केही घर भएको ठाउँतिर जाँदै थियौं । बाटोमा गाई बाख्रा लिएर एक परिवार खोलातिर आए । ती पशुहरुको गोठ सार्न लागेको रहेछन । 

तीनीहरुबाट थाहा भयो कि हामी गलत बाटो आएका रहेछौ । अब फर्केर जाँदा पनि बल्ल बल्ल तरेको खोला फेरि कसरी तर्नी ‚ तेती लामो बाटो फर्कदा समय लागि हाल्छ भनेर गाउँतिर लागियो । 

खाली खुट्टा हिड्न सकिने अवस्था त छँदै थिएन । थोत्रा चप्पल भएपनि गाउँमा मागेर जाने निर्णय गरेर म एउटा घरमा गएर मागेको रहेनछ । अर्को घरमा गएर माग्न छोरालाई नै पठाएँ । छोराले सबै कुरा बताएपछि मैले के गर्ने त भने ती घरका व्यक्तिले । थोत्रा जुत्ता वा चप्पल जे भए पनि किन्न दिनु न भनेपछि एक जोर पुराना चप्पल दिए । कति पैसा भनेर सोध्दा पर्दैन जाउ भनेर जवाफ आयो । चप्पल पाएपछि हाम्रो यात्रा पुन शुरु भयो । 

मेरो खुट्टाका औंला दुखिरहेका थिए त्यसैले मैले चप्पल लगाएर छोरालाई मैले लगाएको जुत्ता दिएँ । मेरा खुट्टाले पनि राहत पाए । विस्तारै गन्तव्य तर्फ लागियो । केही तल आएपछि डरलाग्दो पहिरो आयो । छोरा अगाडि थिए । बाबा यहाँ त बाटोमा पहिरो गएको रहेछ भने । मैले जानै सकिन्न भनेर सोधेको थिएँ । छोराले जान त सकिन्छ भनेका थिए । म पहिरो भएको ठाउँमा पुग्दा छोरा पार गरिसकेका थिए । छोराले देखाएको बाटो मैले पनि त्यस पहिरो पार गरें । 

हामी विस्तार विस्तार तल डोजरले खनेको बाटोबाट तलतिर झर्दै थियौं । बाटामा एक जोडी माथितिर जाँदै थिए । मैले बाटोमा पहिरो गएको छ कसरी जानुहुन्छ भनेर सोधेको थिएँ । उनीहरुलाई पनि थाहा रहेछ त्यो बाटो । उनीहरु फेदीमा होटल चलाउन जान लागेका रहेछन कुराकानी गर्दा गर्दै मलाई थाहा भयो कि तीनी किसाङ् शेर्पा रहेछन । तीनी फेदीमा होटल सञ्चालन गर्ने हुन भन्ने कुरा दुप्चेश्वर गाउँपालिकाका भू.पू. अध्यक्ष योविन्द्र सिंह तामाङ्गले मलाई बताएका थिए । मैले तपाई किसाङ् शेर्पा हो भन्दा हो भने । तपाइलाई मैले हो नी फोन गरेको भनें । किसाङले छोरा शैलुसँग योविन्द्रको साथी हो भनेर सोधेका रहेछन । छोराले हैन भनी दिएछन । योविन्द्र त मेरा साथी हुन छोराले चिन्दैनथे ।

एकछिनको कुराकानी पछि म उनीहरुसँग छुट्टिएर अगाडि बढें । केही बेरको हिंडाइ पछि एक समूहसँग भेट भयो । त्यो समूहसँग छोरा अलि अगाडि भएकोले कुराकानी गरिसकेका रहेछन । ती समूहले मलाई भेट्ने बित्तिकै बाटो बिराउनु भएछ । बाटो बताउने मान्छे हामी हौ सबै यता थियौ । कसको घरमा बास बस्नु भयो भनेर सोधे । मैले सबै भन्दा माथिको घर भनेर स्थान बताएँ । अनि ती बुढाले बाटो बताइदिनु पर्ने बताएनछन् । हाम्रो पनि कुनै गुनासो थिएन । रातको समयमा आतिथ्यता दिएका थिए । गुनासो त हाम्रो ३ घण्टा ३० मिनेटमा घ्याङ्फेदी नै पुग्न सकिन्छ भनेर बोर्ड लेख्नेसँग थियो । बाटो फाटेपछि सिसिपु जाने बाटो यता भनेर नलेख्नेसँग थियो ।

घ्याङफेदीबाट सूर्यकुण्ड जाने बाटोको मात्र हैन फर्कदाको अवस्थामा पनि निर्देशनात्मक संकेत नराख्नेसँग हाम्रो गुनासो रहेको थियो । 

दिउँसोको समय भएकोले हामी कहाँ पुग्ने भन्ने थाहा थियो । डोजरको बाटोबाट तल ‍ओर्लने क्रममा घ्याघर भन्ने ठाउँको नजिकै आइपुगेछौं । त्यस ठाउँमा जाने बाटो डोजरले खनेको बाटोबाट जाँदा अलि घुमाउरो भएता पनि त्यही बाटोबाट तल झर्दै आएका थियौं । घ्याघरमा आएपछि एउटा पसलमा खाना पकाउन भनेर विश्राम गरियो । केही मानिसहरु आएर नक्सामा यो बाटो राखेको थिएन कसरी आउनुभयो यो बाटो भनेर सोध्न थाले । हामीले सूर्यकुण्डबाट फर्कदा तालुबाट बाटो विराएपछि त्यस ठाउँमा आइपुगेका बतायौं । एक ठाउँबाट अर्को स्थानमा पुग्न लाग्ने समय यथार्थपरक नहुँदा दुख पाएको कुरा पनि अवगत गरायौं । भात त पकाए तर तरकारी के पकाउने भनेर हामीसँग सोधे । बाख्राको मासु छ त्यही पकाइदिम भने । हामीले हुन्छ भनेर  स्वीकृति दियौं । एक छिनपछि खाना पाक्यो भनेर खान गइयो । भात त ठिकै थियो तर मासु भनेको सुकुटी रहेछ । राम्रोसँग नसुकेको रहेछ । खाउँ भने दिनभरिको शिकार‚ नखाउँ भने कान्छा बाको अनुहार भनेको जस्तै भयो । नखाउँ पेटमा अन्न नपरेको २४ घण्टा भइसकेको थियो । खाउँ भने मुखबाट तल पठाउन पानीको सहयोग लिनु परेको थियो । सुकुटीमा झोल झोल हालेको पिरो पिरो थियो जसो तसो खाइयो । दाल‚ तरकारी र अचार केही पनि थिइन । जे भए नी २४ घण्टापश्चात तातो भात पेटमा पारीदिएका थिए । खाएर पैसा तिर्ने बेलामा कति हो भनेको तपाई आफै मिलाएर दिनुस न भन्न थाले । हामीले के हिसाबले दिने खै  आफै भन्नुस न भनेपछि रु ३०० दिनुस न भने । हामीले रु ३०० दिएर तलतिर झरियो । 

अब घ्याङफेदी पुग्न १ घण्टाको समय लाग्ने भन्ने थाहा भएपछि विस्तारै तलतिर झरियो । बिहान ९ बजे पछि गाडी नपाइने भएकोले जति छिटो गएपनि केही फरक नपर्ने भएपछि विस्तारै झरियो । तलतिर आइपुगेपछि तादी खोलामा पुल झोलुङ्गे पुल हालेको स्थान आयो । त्यहाँ एक छिन विश्राम गरियो। पुलमुनि नदिको किनारमा ४ वटा पानी घट्ट देखियो । ४ वटा मध्ये १ वटा मात्र सञ्चालनमा रहेको रहेछ । त्यस घट्टमा मकै पिसिएको थियो । १ मुरी मकै पिस्न दिनभर लाग्ने रहेछ । ज्याला १ मुरीको १२ माना पिठो लिने गर्ने रहेछन । सँधै जसो घट्ट चल्दो रहेनछ । जे भए पनि घट्टमा पिसेको पिठोबाट बनेको परिकार डिजेल वा विजुलीबाट पिसेको भन्दा मिठो हुने गर्दछ । घट्ट सञ्चालकसँग केही कुराकानीपश्चात घ्याङफेदीतर्फ लागियो । 

घ्याङफेदीमा आएपछि बस्ने होटल खोज्दै थियौ । खासै राम्रो होटल भेटिएको थिएन । एक जना होटलवालाले होमस्टे खोज्नु भएको भनेर सम्झाइदिइन । होमस्टेमा जाउँ न त भनेर माथितिर लागियो । होमस्टे नजिकै घ्याङफेदी शिक्षण सिकाइ केन्द्र देखियो । त्यसको ठीक विपरित दिशातर्फ तामाड् होमस्टे देखियो । त्यस ठाउँमा गएर झोला बिसाएर बसियो । 

घरमा मान्छे कोही रहेनछन । एक जना महिलासँग सोधियो । ती महिलाले म बोलाएर पठाइदिन्छु भनेपछि हामी ढुक्कले बसियो । एक छिनपछि एक जना व्यक्त्ति आएर हामीलाई नमस्कार गरे । ती होमस्टेका सञ्चालक कर्मजित तामाङ रहेछन । बारीमा हरियो मकै देखेपछि मैले खान पाइन्छ भनेर सोधें । उनले मकै भाँचेर पोल्न लगाइदिए । सामान्य कुराकानी भयो । कहाँबाट आउनुभएको हो भनेर सोधे । हामीले गोसाइकुण्डबाट आएको र फरक बाटो आइएछ । यस्तो बाटो आउन पर्यो आज कूनै संकेत नहुँदा भनेर मैले बाटोको पहिरो गएको स्थानको फोटो देखाएँ । कसरी आउनुभयो यस्तो बाटो भनेर आश्चर्य भए उनी  । मैले तपाईसँग भेट हुन बाँकी रहेछ र केही भएन भनीदिएँ । 

कुराकानीको क्रममा मैले शिक्षण सिकाइ केन्द्रको बारेमा सोधें । शिक्षण सकाइ केन्द्रलाई अनौपचारिक रुपमा वि.सं. २०६८ सालदेखि सञ्चालनमा ल्याइएको रहेछ । यसलाई विधिसम्मत रुपमा वि.सं. २०७९ माघ १५ गते बाट सञ्चालनमा ल्याइएको रहेछ । यस संस्था गैर सरकारी संस्थाको रुपमा दर्ता भइ आफ्नो काम गर्दै आएको रहेछ । करीब ८ आना जग्गा संस्थाको नाममा र लगभग १ रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको रहेछ । 

यस केन्द्रमा १ वटा कोठा पिडित आमा कतै वेवारिसे अवस्थामा रहेको खण्डमा राख्नकालागि बनाइएको रहेछ । १ वटा सुरक्षा गार्डको लागि राखिएको रहेछ । त्यस केन्द्रमा ३७ जना छात्राहरुले आवासीय रुपमा बसेका र २ जना बाहिर बसेर त्यस केन्द्रमा खाने खाने गरेका रहेछन । ती छात्राहरु कुनै अनाथ त कुनै गरिब असहाय परिवारका त कुनै बेचबिखनबाट पिडीत छात्राहरु रहेछन । हामी त्यस ठाउँमा पुग्दा असोज ३ गते संविधान दिवसको दिन परेकोले विदा थियो । केही छात्राहरु घरमा गएका रहेछन । त्यहाँ रहेकाहरु विविध कारणले घर जान नचाहने रहेछन । 

यस सिकाइ केन्द्रको स्रोतको सन्दर्भमा भन्नुपर्दा एक जना अष्ट्रेलियन नागरिक Trevor ले ३ महिनाको खर्च व्यहोरिदिने र १ जना अमेरिकन नागरिक Hillbon ले ३ महिनाको खर्च व्यहोरी दिने गरेको रहेछ । बाँकी खर्च घ्याङफेदीमा सञ्चालनमा रहेका होमस्टेबाट प्राप्त हुने आम्दानीको १० देखि ४० प्रतिशत आम्दानी रहेछ । ती मध्ये कर्मजित तामाङले सञ्चालन गरेको होमस्टेबाट ४० प्रतिशत‚ दोर्जे तामाङले सञ्चालन गरेको होमस्टेबाट १० प्रतिशत र बीर बहादुर तामाङले सञ्चालन गरेको होमस्टेबाट १० प्रतिशत प्राप्त हुने गरेको छ । 

ती छात्राहरु घ्याङफेदी माध्यमिक विद्यालयमा पढ्ने गरेका छन । १२ सम्म पढाइ हुने त्यस माध्यमिक विद्यालयमा ११ कक्षासम्म पढ्ने गरेको रहेछन । सबै सूचनाहरु प्राप्त गरिसकेपछि भौतिक रूपमा  शिक्षण सिकाइ केन्द्रको अवलोकन गरियो । यस संस्थालाई गाउँपालिकाले सहयोग नगरेको पाइयो । न त विद्यालयले पहल सहयोग गर्ने गरेको न त गाउँपालिकाले नै सहयोग गर्ने गर्दथे । तत्कालिन समयका वडाध्यक्षको घर शिक्षण शिकाई केन्द्रबाट नजिकै दुरीमा रहेता पनि सहयोग त परै जावोस पुरै विरोधी थिए । गाउँपालिकाको उपाध्यक्षसँग सहयोगको अपिल गरी निवेदन दिंदा बोर्डमा राख्नु पर्छ भन्ने जवाफ पाउँदा पनि सञ्चालक कर्मजित तामाङ निकै खुशी भएको हामीलाई बताएका थिए । सबै कुरा बुझिसकेपछि मैले महिला‚बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मेरी दिदि हुनुहुन्छ उहाँसँग यी सबै कुरा राखुला । सहयोग गर्न मिल्न नमिल्ने पछिको कुरा हो भनेको थिए कर्मजित निकै खुशी भएका थिए । 

बेलुकाको खाना खाने समय भयो । खाना खान भित्र गइयो । फर्सीको मुन्टाको तरकारी‚ आलुको तरकारी र मासको दालमा सिमी मिसाएको दाल र नुवाकोटको लोकल चामलको भातको स्वाद निकै मिठो थियो । त्यसमाथि एक चम्चा घ्यू मिसाएपछि के चाहियो र एक थाल भात खाइयो । 

कोठामा आएको वाइफाइ चलिरहेको रहेछ । एक छिन इन्टरनेटमा भुलियो । बेसरी थाकेको शरीर एक पेट टन्न खान पाएपछि मस्तसँग सुतियो । एकासी भोलिपल्ट  बिहान ४ बजेतिर उठेर ट्वाइलेट गएर म फेरी सुतें । बिहानको ६ बजेको थियो छोरालाई पनि उठाएर कपडा लगाएर बाहिर निस्कियो । कपडा सबैजसो भिजेको थियो  । हामीसँग बचेको ड्राइ फुड त्यही स्थानमा छाडियो । खानाको कति दिउँ भनेको रु ५०० छोडिदिनु न भनेर भने । मैले रु १००० त दिनुपर्ला भनेर रु १००० दिएर यति राख्नुहोस भनेको हैन सर भनेर रु ५०० फिर्ता दिए । 

बसेको स्थानबाट केही तल झरेर बसको सीट बुक गरियो । ड्राइभर भन्दा पछिको २ सीट बुक गरिएको थियो । ८ बजेतिर टाटा सुमो सिसिपुसम्म गएको रहेछ आइपुग्यो । सुमो विस्तारै तलतिर झर्न लाग्यो । बाटो निकै कठिन रहेछ । छोराले यस्तो बाटो कति छ भनेर सोधेका थिए । मैले १० कि.मी. मात्र हो यस्तो बाटो हो त्यसपछि पीच बाटो आउँछ भनेको थिएँ । 

हामी चढेको बसमा ५ जना मात्र काठमाण्डौ जाने यात्रुहरु रहेका थियौं । यात्रुहरु नपुगेकोले ड्राइभर कता कता फोन गरेर आफु जाने हो कि नजाने निश्चित भएको थिएन । समुद्रटारमा पुगेपछि २ जना शिक्षक आन्दोलनमा जान भनेर आएका रहेछन ।  अब ७ जना भएपछि हामी चढेको गाडी नै काठमाण्डौ जाने भयो । अब गाडी खरानीटार‚ थानसिङ‚ छहरे‚ टोखा हुँदै सामखुशीसम्म आइपुगियो । सामाखुशीबाट ट्याक्सी चढेर २ बजेतिर घर आइपुगियो ।

धेरै पढिएको