News Desk
के हुन ती यादहरु?
जीवन पर्यन्त मनलाई तड्पाएर राख्ने
यातना गृह?
या हुन यी निरीह आत्माहरुलाई कैद गर्ने
जेलखाना?
म अझै बन्दी छु ती यादहरुको कारागार भित्र
भोगिरहेछु अटुट क्रूर गोदाई-यातना
ती यादरूपी सिपाहीका बुटहरुको
मलाई जकेडेर राख्ने ती यादका सिकञ्जा देखि
मेरा चिन्तन, मस्तिष्क र सोंचहरु
त्यसै जर्जर छन्, मुक्तिको आशमा,
मलाई त्यो अंधेरी खोलाको
सुरिलो कदमको रुखले बोलाउँछ
कमीले आँप अनि डाँडाको सुपारी आँप
मलाई हेरी एकोहोरो टोलाउँछ
हिजो राती मलाई हेरी,
साँगे खोलाको त्यो असारे भेल रोकियो
म केही भन्न खोज्दै थिएँ
बिना खबर म हराएको भन्दै
एक्कासी उर्लेर झोक्कियो,
त्यो बगरको ढुङ्गा,बालुवा र चौरहरु
सित्तैमा म सँग रिसाउँछन्
ती अमला, अमारो र अंगेरीका रूखहरू
त्यस्सै मलाई जिस्क्याउँछन्,
आजै राती हो, घर भन्दा अलि पर
झाडीमा भुद्रुङ करायो, त्यति बेलाको
मेरो बाल मनको सातो लाने
आवाजको यादले मनमस्तिष्क जलायो,
बालक कालमा म चिच्याएको आवाजको प्रतिध्वनि
भर्खरै ओडारे पहराले फिर्ता पठायो।
आज बिहानै, क्रियापानी-श्यामघा पारीबाट
चियाउने ती हिमालको चमकले मलाई उठायो,
ती फाँट, कान्ला र गोरेटाहरुले अझै
दिन दिन मेरा पाइला विझाउँछन्
बाह्रबिसे, चुदेर, हर्कपुर र सांगेफाँटहरुले
निर्दयी रूपले मलाई रुलाउँछन
त्यहाँ हिँड्दा चुँडिएको चप्पलको तुना
मन भित्र उस्तै छ, अझै जोडिएन
लाग्छ, संसार छोड्ने बेला भै सक्यो
तर खै सांगेको याद अझै छोडिएन।
यसरी सम्झनाको डोरीले बाँधेर राख्ने
नाथे अनकन्टार खोंच, तिमी को हौ?
बचपनमा खेलिएका मोजाका बल र
ती गुच्चाहरु साँचेर राख्ने तिमी को हौं?
ए नेपालटार, पएँर, बर्रबोटे र पतेनीहरु हो
नतेर्स्याउ न त्यसरी स्मृतिका बन्दुकहरु
नफेक न मलाई नोस्टालजियाका ती
बम, बारूद, गोला र छर्राहरु!
ए गलेखाम, सिरुवारी र रातमाटाहरु हो
तिमी मलाई सधैंका लागि भुल्ने
एक जुक्ति दिन्छौ?
म त तिम्रो यादको कैदी छु कहिले देखि-
के मलाई तिम्रो यादहरुबाट मुक्ति दिन्छौ?
-विश्व प्रकाश न्यौपाने (हाल गैंडाकोट)