कविता : हाम्रो प्यारो शहर (ठाकुर पण्डित)
News Desk
Jun-10 , 2025 तारिख 05:33 बेलुका

शहरले हाम्लाई रोगी बनायो, 

शहरले हाम्लाई भोगी बनायो, 

शहरले हाम्लाई ढोंगी बनायो, 

शहरले हाम्लाई जोगी बनायो।  

 

गाम्का मान्छे शहरै खोज्नी, 

कोदालोभन्दा कुर्सी नै रोज्नी, 

पसिना बिर्सी पैसै खोज्नी, 

हावाभन्दा धुवाँ नै रोज्नी।  

 

विषादी फलफूल जानीजानी, 

बेमौसमी बन्दा किनेर खानी, 

पाउडर दूधको चिया पिउनी, 

हामी त आधुनिक जीवन जिउनी।  

 

हराए गाउमैं चिचिन्डो र भेन्टा, 

आए घरघरमै रेडबुल र फेन्टा, 

मकै भटांसको स्वादै हरायो 

मोमोको डल्लो पेटमा करायो।  

 

अङ्ग्रेजी भाषाले क्वाप्पै खायो, 

मातृभाषामा धमिरा लायो, 

कता हराए विवेक र सुद्धी, 

विनाश-काले विपरीत बुद्धि।  

 

( ठाकुर पण्डित, भक्तपुर)

धेरै पढिएको