देश जोड्ने डम्प्लिङ्गः नेपाली मोमोचाको उदय र समृद्धिको कथा
News Desk
Jun-22 , 2025 तारिख 02:25 बेलुका

काठमाडौंका साँघुरा गल्लीहरूमा, सयौँ वर्ष पुराना देवालयहरूको छायाँ मुनि आजका दिन मोटरसाइकल र गाडीको हल्ला मिसिन्छ। त्यो हल्लामाथि पनि एक सुगन्ध छ ।  जुन हो - तात्तातो, मसलेदार बाफिएको मोमोको बास्ना, अनि सँगै आएको सूपको स्वाद।

धेरैलाई लाग्न सक्छ, मोमो त केवल डम्प्लिङ्ग हो। तर हामी नेपालीहरूका लागि मोमो परिकार होइन, यो त भावना हो। यो परिवार हो, मित्रता हो, स्मृति हो। यो हो त्यो स्वाद जसले जात, धर्म, वर्ग, भाषा केही नभनी सबैलाई एउटै थालमा ल्याउँने सामर्थ्य राख्दछ ।

सिल्क रोड हुँदै बाफिएको स्वादको आगमन

खासमा मोमो कहाँबाट आएको हो भन्ने धेरैलाई जिज्ञासा हुन सक्छ । यस सन्दर्भमा कुरा गर्नुपर्दा मोमोको उत्पत्ति उत्तरपूर्वी चीनबाट भएको मानिन्छ। मोमोको उत्पत्ति चीनको सान्सी (Shaanxi) प्रान्तमा भएको मानिन्छ। प्राचीन समयमा "जियाओजी (Jiaozi)" भन्ने डम्प्लिङ्ग एक स्थानीय चिकित्सक ह्वा तो (Hua Tuo – सन् 140-208) ले बनाएका थिए। उनले जाडोको मौसममा कान दुख्ने समस्या (cold sore) भएका बिरामीहरूका लागि तातो सूपसहितको डम्प्लिङ्ग बनाए । जसलाई उनले जडिबुटी, मासु र स्थानीय हरियो तरकारी मिसाएर कानजस्तो आकारमा बनाएका थिए । शान्शी भाषामा "मोमो"भन्ने शब्दले बाफिएको पाउरोटी भन्ने जनाउँदछ। शान्शी प्रान्त सिल्क रोडको प्रवेशद्वार थियो र अझै पनि पर्यटकहरूका लागि प्रिय गन्तव्य हो। त्यहाँका चिया घरहरूमा मासु भरिएको डम्प्लिङ्ग, चिया सँगै खाने परिकारको रूपमा प्रचलित छ। प्रत्येक शहरमा फरक–फरक शैलीको मोमो पाइन्छ । जस्तो कि, कतै बाक्लो पिठो, कतै कलात्मक गाठो । अझ पनि चिनियाँ नयाँ वर्षमा मोमो बनाउने र खाने विशेष परम्परा छ।

त्यही डम्प्लिङ्ग पछि व्यापार र तीर्थ यात्राका सिलसिलामा तिब्बत हुँदै नेपाल आयो। तिब्बतमा यसको नाम मो- मो ( Mo : Mo ) रहन पुग्यो। यहाँ यसको उपयोग भोजन मात्र नभई धार्मिक अनुष्ठानमा पनि गरिन थालियो। 

सन् ६४० तिर चिनियाँ राजकुमारी वेनचेंगले तिब्बती राजा सोंगसेन गम्पोसँग विवाह गरेसँगै तिब्बतमा चपस्टिक, कपडा बुनाइ, औषधीय जडिबुटी प्रयोग गर्ने विधि र बाफिएको परिकारको संस्कार फैलियो। मोमोको फैलावटसँगै यसको लोकप्रियता  चुलिदै गयो ।  फलत यो केवल स्वाद र भोजनका रुपमा मात्र सिमित नभई एक सांस्कृतिक परिकारका रुपमा पनि स्थापित हुन पुग्यो ।

काठमाडौंको मोमोचा कथा

विशेषगरी तिब्बतसँग व्यापार गर्ने नेवार जातिका तुलाधर थरका व्यापारीहरुलाई नेपालमा मोमो भित्र्याउने श्रेय जान्छ । किनकी उनीहरूले सुन, नुन, ऊनसँगै आफनो जिब्रोमा झुण्डिएको बाफिएको स्वादिष्ट भोजन नेपालमा भित्र्याएका थिए । जसलाई उनीहरूले नामाकरण गरे  “मोमो” । नेवारीमा जसको अर्थ  हुन्छ "उसिनिएको खाना"।

काठमाडौं आइपुग्दा यो परिकारले नयाँ जीवन पायो। नेवार भान्साको गहिरो स्वाद, मसला, मौलिक विधि र परम्पराले मोमो रूपान्तरण भई बन्यो “मोमोचा”।

नेवारी भाषामा “-चा” प्रत्यय माया, आत्मीयता र सम्मान जनाउने सूचक हो। त्यसैले “मोमो ” बन्यो “मोमोचा” अर्थात माया मिसिएको उसिनिएको खाना।

मोमोको कथा, स्वादको कहानी

मोमो भनेकै मासु भरिएको सानो डम्प्लिङ्ग हो। यसलाई बनाउने हरेकको आ-आफ्नै तरिका छ। बहसभन्दा पनि स्वादको चर्चा गर्नु नै मामशिव हुन्छ भन्ने लाग्छ । र मेरो प्रयास पनि त्यही नै छ ।

नेपालमा विशेष गरी नेवारी समुदायमा "मोमोचा" भन्ने आफ्नै मौलिक रूप छ। चिसो दिनहरूमा, कात्तिके पुन्ही र यमरी पुन्हीमा मोमोचा बनाउने चलन अझै जीवित छ।

मोमोचा खाने दिन भनेको चाडजस्तै हुन्छ । बिहानै घरको सबैजना जुट्थे मासु काट्ने, अदुवा, लसुन, प्याज मिलाउने, मसला कुट्ने र विशेष ध्यान दिने अर्को कुरामा मासुमा हड्डीको गूदा, बोसो, मसला र पानीको सन्तुलन मिलाउनुपर्ने हुन्छ।

पिठो मिलाएर सानो च्याप्टो “पा” बनाउने काम त झनै कलाको कुरा छ । यदि यसरी सन्तुलन मिलाउन सकेपछि मात्रै बन्थ्यो स्वादिलो रसले भरिएको तात्तातो मोमोचा।

नेवार भाषामा “पा” भन्नाले सानो, चप्टो आकृतिको पिठोको लोईलाई जनाइन्छ, जुन विशेषतः नेवारी मोमोचा (नेवार शैलीको मोमो) को आवरण (र्यापर) बनाउन प्रयोग गरिन्छ।

मोमो त डम्प्लिङ्ग हो, तर नेपालीको दिलमा यसको स्थान खास छ। त्यो स्वाद मात्र होइन परिवार, रीतिरिवाज, र सम्झनाको मिठास मिसिएको परिकार हो।

तसर्थ पनि मोमोको कथा भनेकै स्वाद र संस्कृतिको सँगालो हो । परम्परागत नेवार घरपरिवारहरूमा “पा छुनेगु” भन्नाले पिठोको सानो गोलो आकृति बनाउने क्रियालाई जनाइन्छ । यो प्रायः हातले नै गरिन्छ र सीप परिवारमा पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै आएको छ।

थायँ र म्हीचा: मोमोको आत्मा

मोमो बनाउने तरिका सामान्य होइन। पिठो गुँथ्ने, मसला पिस्ने, अनि मोमो बेर्ने प्रक्रिया आफैँमा एक परम्परा हो। मोमोको अन्तिम गाँठो, जसलाई नेवारीमा थायँ भनिन्छ, त्यही हो मोमोको आत्मा। गाँठो बलियो भयो भने मात्र रस भित्रै बन्दछ, स्वाद छुट्दैन।

मोमो पार्दै गर्दा, पिठोबाट बनाईने बाहिरी खण्डको मुख वरिपरि नेवारी हाकु पटासी साडीको मुजा जस्तै बनाईएको हुन्छ ।  जसले मोमोलाई आकर्षक बनाउँदछ ।  

नेवारी कला अनुसार, मोमो बनाउने बेलामा जस्तो हकु पटासी सारीको मुजा बनाइन्छ, त्यस्तैगरी मोमोको थायँ तयार गरिन्छ। यो “म्हीचा” झैँ देखिन्छ। म्हीचा भन्नाले थैली, pouch भन्ने अर्थमा बुझिन्छ, जुन मोमोको संरचना झैँ हुन्छ।

नेवार घरमा, जब व्यापारीहरू तिब्बतबाट फर्किन्थे, उनीहरूले आफ्नी श्रीमती वा आमालाई भन्न्थे “पातलो रोटी बेल, बीचमा काचिला मासु राख, अनि हकु पटासी जस्तो घेरा बनाई टाइट बेरेर बन्द गर, अनि उसिन।” यही हो मोमो तयार गर्ने थालनी।

गल्लीदेखि सिनेमा हलसम्म: आरसी मोमोको आरम्भ

काठमाडौंको व्यावसायिक मोमो यात्राको सुरुवात भयो रञ्जना गल्लीको RC Momo बाट भएको हो ।  RC Momo ले मोमो खाने संस्कृति मात्र फैलाएन, स्वादमा जनआन्दोलन नै ल्यायो। कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो आत्मकथा "महको म" मा यसको विशेष सम्झना गरेका छन्।

RC Momo एउटा मोड थियो, जहाँ गल्लीका मोमो अब सहरका व्यञ्जन बन्न थाले। सस्तो, छरितो र स्वादिलो मोमोले सबै वर्गको मन जित्यो।

झरना मोमो: मासु परिवर्तनको मोड

नेवार मोमोमा प्रायः बफ मासु प्रयोग हुन्थ्यो, जुन अन्य समुदायले सजिलै ग्रहण गर्दैनथे। तर सन् १९५० को दशकमा झरना मोमोले खसीको मासु प्रयोग गर्न थालेपछि मोमो सबैका लागि साझा स्वाद बन्न पुग्यो।

गल्लीका राजा: नातिकाजी, कालु महर्जन र गुछा मोमो

ट्योडामा नातिकाजी, यथामा कालु महर्जन, अनि ललितपुरको गल्लीहरूमा गुछा मोमो बेच्नेहरूले मोमोको साँझलाई सामाजिक भोज बनाइदिए। अनि त सुरु भयो साथीभाइ सँगै लाइनमा बसेर मोमो खाने चलन ।  

१९६६ को क्रान्ति: थोक उत्पादनको आरम्भ

१९६६ मा रामकृष्ण श्रेष्ठ र चायता नारायण मानन्धरले रञ्जना हल नजिकै मोमो थोकमा उत्पादन गर्न सुरु गरे। स्कुल, ट्रेकिङ रुट, क्यान्टिन र होटलहरूमा मोमोको बाढी आयो।

विश्वभरि मोमो: प्रवासको पहिचान

 न्युयोर्कदेखि सिड्नी, टोकियोदेखि दोहासम्म मोमो फैलिएको छ ।  अर्थात आज मोमो विश्वभर पुगेको छ । तर स्टीम, फ्राइड, चिली, तन्दुरी जुनसुकै स्वरूपमा भए पनि आत्मा भने उही नै छ।

विदेशी प्रवासमा रहेका नेपालीका लागि मोमो भनेको “घरको स्वाद” हो। त्यो स्वाद जसले उनीहरूलाई न्यानोपनसँग बाँधेर राख्दछ।किनकी यो नेपाली पहिचान र संस्कृतिसँग जोडिएको छ ।  

मोमो: स्वादभन्दा गहिरो अनुभूति

मोमो वास्तवमा घर घरको याद हो ।  जसले आमाको हातको स्वाद, नातिनीले पिसेको अचारको वासनाको झल्को दिलाउँदछ  । विदेशीले नेपालको स्वाद चाख्ने खाजा मध्ये पहिलो पङ्तिमा पर्ने खाना परिकार हो “मोमो” ।  

जहाँ गए पनि, म नेपाली रेस्टुराँ देखेँ भनेमेरो पहिलो अर्डर बन्छ “मोमो”। किनकि त्यो केवल खाना होइन, मेरो लागि मेरो देशको याद हो।

मोमोको थायँ बाँकी रहोस्

चीनको राजदरबारदेखि काठमाडौंको गल्ली र न्युयोर्कका फूड ट्रकसम्मको मोमो यात्रा भन्छ ‘खाना केवल पेटको कुरा होइन, यो संस्कृति हो।’ तर आज पनि, मोमोको जादू त्यही गाँठो थायँ मा छ अर्थात हकु पटासी म्हीचामा ।  त्यो गाँठो जसले स्वाद, सिप र स्मृतिलाई बाँध्छ ।   बुझ्न चाहनुहुन्छ भने पहिले एकपटक मोमो चाख्नुस्। तर ध्यान दिनुस थायँ राम्रोसँग बेरेको होस्। जसले जादू छरेको होस् , बिछट्ट स्वादको जादु ।

(हाल​ युकेमा ब​सोबास​ ग​र्दै आउनुभ​एका लेख​क बराल रिस​र्च​ एण्ड​ डेभ​ल​प​मेण्ट​ सेफ​ हुनुहुन्छ​ )

 

धेरै पढिएको