News Desk
पर्वत — २३ कात्तिक २०७८
पर्वत , २०५४ साल भदौ २१ गते शनिबार । गाउँको दुर्गा मन्दिरमा लाख बत्ती बाल्नेसहितको पूजा थियो । कुश्मा–७ गोदामका दलित समुदायमा पनि घरलौरी निमन्त्रणा थियो । कार्यक्रम भव्य भयो । करिब सय हाराहारी दलित परिवारका घरबाट बाक्लो उपस्थिति थियो । तर पूजामा दलित समुदायले सहभागिता जनाउन पाएनन् । आफूहरूलाई दर्शकमात्रै बनाइएपछि धेरै जना पूजा आधा पनि नहुँदै त्यहाँबाट हिँडे । सेनाको जागिरबाट अवकाशप्राप्त तथा वैदेशिक रोजगारीबाट फर्किएका छिने सार्की, धनबहादुर सार्की र रामु नेपालीलाई भित्रभित्रै उकुसमुकुस भयो । भोलिपल्टै दलित समुदायको भेला डाके । छलफल भयो– आफ्नै मन्दिर बनाउने । दुर्गा मन्दिर निर्माण गर्ने सल्लाह भयो । तर, उनीहरूलाई मन्दिर बनाउन सार्वजनिक जग्गाको खाँचो पर्यो । सार्वजनिक जग्गा नपाएपछि स्थानीय अगुवाले जग्गा दिने पक्का गरे । त्यसपछि दलित युवा मन्दिरको जग बसाल्न कस्सिएर लागि परे ।
उक्त वर्षको माघ २९ मा श्रीपञ्चमी पर्व थियो । अगुवाले त्यही दिन जग बसाल्ने निधो गरे । श्रीपञ्चमीको दिन आयो । मन्दिरको जग बसालियो । करिव दुई सय दलित समुदायका युवा मिलेर वर्ष दिनमा मन्दिर ठड्याए । दुर्गाको मूर्ति बनाए । पूजा गर्न सुरु गरे । मन्दिर निर्माण गर्दाका बखत केही गैरदलित अगुवाले धर्मलाई अपवित्र बनाउन खोजेको भन्दै विरोधसमेत गरे । समुदायमा एकता थियो । त्यसकै कारण विरोधको पर्वाह गरेनन् । निरन्तर मन्दिर निर्माण जुटे । मूर्ति बनाएर मन्दिरभित्र बाजागाजासहित भित्र्याए । करिब एक वर्षमा निर्माण भएको मन्दिरमा त्यसयता निरन्तर पुजारीका रूपमा रामकृष्ण विकले काम गरिरहेका छन् । ‘पीडा सहन नसकेरै यो मन्दिर बनाएका हौं,’ उनी भन्छन्, ‘यहीं आसपासमा मन्दिर नभएका पनि होइनन् । भगवान् सबैका हुन्छन् । तर, हामीले भित्र पसेर पूजा गर्न नपाएपछि आफैं मन्दिर बनाएर पूजा गर्न थाल्यौं ।’ दलित अगुवाले मन्दिर बनाएर पूजा गर्न थालेपछि मन्दिर परिसर हुँदै दुर्लुङ, क्याङ, लेकफाँटलगायत जाने सडकमा यात्रारत पैदल तथा गाडीका यात्रुले समेत पूजाआजा गर्दै आएका छन् । ‘हामीले अन्त गएर पूजा गर्न नपाए पनि गैरदलितले हामीले बनाएको मन्दिरमा आएर पूजा गरेको देख्दा खुसी लाग्छ,’ स्थानीय बुद्धिश्री सार्कीले भनिन्, ‘उनीहरूले यहाँ पूजा गरेको देखेपछि भगवान सबैका हुँदा रहेछन् भन्ने लाग्छ ।’ टाढा–टाढाका मन्दिरमा पूजाआजा गर्न पाइए पनि चिनेजानेको र वरपरका मन्दिरमा भने अझै पनि ढोकाभित्र पसेर पूजा गर्न, फूलप्रसाद र टीका लगाउन नपाउँदा भने हीनताबोध हुने उनले बताइन् ।
पुजारी रामकृष्ण विक गाउँ नजिकै खरेहास्थित एक शिव मन्दिरको व्यवस्थापन समितिका सदस्यसमेत हुन् । तर, उनलाई आफैं व्यवस्थापन समितिको सदस्य रहेको मन्दिरमा समेत अझैसम्म पूजाआजा गर्न र भित्र पस्न निषेध छ । ‘पूजा गरेपछि दुनामा टीका र प्रसाद दिनुहुन्छ,’ उनले भने, ‘दुनामा दिएको टीका कसरी लगाउनु ? यस्तो विभेद यो हाम्रो मन्दिरमा कहिल्यै कसैलाई गरिँदैन ।’ मलामी जाँदा शवमा तर्पण दिनसमेत नपाएपछिको पीडा उनीहरूलाई अझै छ । मन्दिर निर्माण गरेर सबैका लागि एउटा उदाहरण प्रस्तुत गर्न चाहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डम्बर सार्की बताउँछन् । कुश्मा नगरपालिकाको नगर कार्यपालिका सदस्यसमेत रहेका सार्की आफूले सामाजिक क्षेत्रको अगुवाइ गरेको भए पनि हरेक क्षेत्रमा विभेदको सिकार हुनुपरेको बताउँछन् । ‘हामी अगुवा हौं भन्नेहरूले त कति पीडा भोगेका छौं । अरू सामान्य व्यक्तिको अवस्था कस्तो होला,’ उनले भने, ‘हामी त मान्छे नै होइनौं जस्तो लाग्छ ।’ हरेक सामाजिक कार्यक्रममा एक्लो हुँदाको पीडा भने सामूहिक रूपमा निर्माण गरेको मन्दिरमा पूजा गर्न आउने गैरदलित देख्दा भुलिएको उनले बताए । सामूहिक श्रम र पसिना खर्चेर बनाएको मन्दिरमा हिजोआज नियमित पूजाआजा हुन्छ । दलित युवाहरूको ब्रतबन्धलगायत कर्मकाण्ड, पूजाआजा हुँदै आएका छन् । नवदुर्गा, चैत्राष्टमीलगायतमा यो मन्दिरमा भव्य पूजा हुने गरेको पुजारी विकले बताए ।
( कान्तिपुर दैनिक )