भारत–पाकिस्तान तनावः क्षेप्यास्त्र, बदला र आणविक युद्धको सम्भावना
News Desk
May-10 तारिख 05:30 बिहान

सात मे २०२५ का दिन भारतीय सेनाले पाकिस्तानको भूमिमा क्षेप्यास्त्र आक्रमण गर्‍यो। यस आक्रमणमा पाकिस्तानले ३१ जनाको मृत्यु भएको दाबी गरेको छ। घटनालाई इस्लामावादले गम्भीर रूपमा लिएको छ र भारतीय कदमलाई अतिक्रमणको संज्ञा दिएको छ। यद्यपि यो हमला अप्रत्याशित भने थिएन। करिब दुई साताअघि भारतप्रशासित कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई स्पष्ट चेतावनी दिएका थिए कि "यो मूल्य चुकाउनु पर्नेछ"।

यस वक्तव्यपछि भारतले कूटनीतिक संवादको सट्टा सैन्य प्रतिकारको बाटो रोजेको देखिन्छ। आक्रमणपछिको प्रतिक्रिया स्वरूप, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले देशको सेनालाई भारतको कदमको जवाफ दिन आदेश दिएका छन्। त्यसयता, भारत र पाकिस्तान एकअर्कामाथि ड्रोन हमला, क्षेप्यास्त्र प्रहार तथा सीमामा गोलाबारीको आरोप लगाइरहेका छन्। दुई आणविक शक्ति राष्ट्रहरूबीचको यो नयाँ चरणको द्वन्द्व अब पूर्ण युद्धतिर उन्मुख देखिन्छ।

विश्व समुदायको मौनता र शक्तिहरूको शिथिलता

यो सबै त्यस्तो समय भइरहेको छ जब अन्तर्राष्ट्रिय कूटनीतिक गठबन्धनहरू कमजोर अवस्थामा छन्। शीतयुद्धकालमा भारत–पाकिस्तान तनाव हुँदा, अमेरिका, रुसजस्ता महाशक्तिहरूले प्रभावशाली हस्तक्षेप गरी द्वन्द्वलाई नियन्त्रण गर्ने गर्थे। तर आजको विश्वमा त्यस्तो संलग्नता कम देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि भारत–पाकिस्तानबीच मध्यस्थताको इच्छा देखाए पनि, वासिङ्टनस्थित अधिकारीहरू यथास्थितिवादी देखिएका छन्। उपराष्ट्रपति जेडी भान्सले त यो विवाद अमेरिका को प्राथमिकता नभएको स्पष्ट संकेत दिएका छन्।

वर्तमान अवस्थामा विश्वले विद्यालयको शिक्षक नभएको स्थिति सृजना गरेको छ, जहाँ दुई झगडालु केटाहरू एकअर्कालाई मार्न खुला मैदान दिइएको छ। साउदी अरब, बेलायतजस्ता देशहरूले तनाव घटाउनका लागि आग्रह गर्ने प्रयास गर्दै छन्। तर, ती प्रयासहरू अमेरिकी दबाबजत्तिकै प्रभावकारी नहुने निश्चित छ।

पाकिस्तानी जनमत र राष्ट्रवादी आवेग

पाकिस्तानभित्रको जनमानस अझैसम्म भारतलाई प्रमुख शत्रुका रूपमा हेर्ने गर्दछ। आम मानिसहरूलाई आफ्नो देशमा आतंकवादी शिविरहरू रहेको जानकारी कम छ। तसर्थ, पहलगाम हमलापछि भारतले गरेको कारबाहीलाई उनीहरूले अन्यायपूर्ण आक्रमण मानेका छन् र देशभर भारतविरुद्धको राष्ट्रिय भावना झन बलियो भएको छ।

एक व्यक्तिको हातमा मुलुकको भविष्य

अहिलेको संकटको केन्द्रमा छन्– पाकिस्तानका सेनाप्रमुख जनरल असिम मुनिर। उनी देशको सबैभन्दा शक्तिशाली व्यक्ति हुन्। पाकिस्तानको परराष्ट्र नीति, कश्मीरमाथिको दृष्टिकोण, र भारतसँगको सम्बन्धको दिशा निर्धारण गर्ने जिम्मा निर्वाचित सरकारभन्दा बढी सेनामाथि रहन्छ।

जनरल मुनिर, धार्मिक कट्टरता र राष्ट्रवादी सोचका पक्षपाती मानिन्छन्। उनले आतंकवादी आक्रमणको एक साताअघि दिएको वक्तव्यमा कश्मीरलाई पाकिस्तानको "गलाको नसा" भनेका थिए र कश्मीरी जनतालाई कहिल्यै एक्लो नछाड्ने कसम खाएका थिए। यो दृष्टिकोण अघिल्ला सेनाप्रमुख कमर जावेद बाज्वाको विचारभन्दा निकै कट्टर छ, जसले २०२१ मा भारतसँगको दुश्मनी अन्त्य गर्नुपर्ने तर्क गरेका थिए। बाज्वा–जसले मुनिरलाई ISI प्रमुख बनाएका थिए– आर्थिक यथार्थबारे सचेत थिए र युद्धविरोधी नीति अवलम्बन गर्ने पक्षमा थिए।

तर मुनिर फरक छन्। उनी सैन्य र वैचारिक दृष्टिले कठोर निर्णय लिने स्वभावका छन्। अघिल्ला सहकर्मीहरूका अनुसार, जब उनलाई चुनौती दिइन्छ, उनी संवादमा बस्न रुचाउँदैनन्, र क्रोधित भएर बैठक छाड्ने प्रवृत्तिका छन्। अहिले उनी त्यही सेना चलाइरहेका छन्, जसले विगतमा भारतविरुद्ध युद्धका योजनाहरू बनाउने गर्दथ्यो।

आन्तरिक अस्थिरता र शक्ति सन्तुलन

मुनिर एउटा यस्तो देशमा शक्ति बढाउँदै छन्, जहाँ लोकतान्त्रिक संस्थाहरू कमजोर भइसकेका छन्। धेरै पाकिस्तानी जनताको विश्वास छ कि मुनिरले २०२४ को चुनावमा हस्तक्षेप गरी पूर्व प्रधानमन्त्री इमरान खानलाई सत्ताबाट बाहिर राख्ने भूमिका खेले। यसले उनीमाथि आलोचना त बढायो, तर भारतसँगको द्वन्द्वले अस्थायी रूपमा उनको राष्ट्रवादी छवि बलियो बनाएको छ। किनकि पाकिस्तानको प्रत्येक संकटमा सेनाको हात बलियो भएको इतिहास छ।

तर यो द्वन्द्व उनकै लागि दुईधारको तरवार सावित हुन सक्छ। यदि उनी युद्धलाई अझ उकास्छन् भने, कमजोर अर्थतन्त्रले सैनिक अभियान धान्न सक्दैन। पाकिस्तान अहिले विदेशी मुद्रा सञ्चितिमा गम्भीर संकटको सामना गरिरहेको छ। जनताको धैर्य चुक्दै छ, महँगी र बेरोजगारी चरम सीमामा छ। यस्तो अवस्थामा मुनिरले राष्ट्रलाई युद्धतर्फ लैजानु भनेको जोखिमपूर्ण निर्णय हुन सक्छ।

मोदी र मुनिर: दुई राष्ट्रवादी आमने–सामने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् एक कट्टर राष्ट्रवादी नेता हुन्, जो कुनै पनि आक्रमणको जवाफ दिन पछि हट्दैनन्। मुनिरले मोदीविरुद्ध मोर्चा खोल्ने हो भने, यो केवल दुई देशबीचको द्वन्द्व मात्र हुने छैन, यो दुई शक्तिशाली, कठोर निर्णय लिने राष्ट्रवादी नेताहरूबीचको सीधा टक्कर हुनेछ।

अब निर्णय मुनिरमाथि छ। उनी संवाद र कूटनीतिक पहलमार्फत तनाव कम गर्छन् कि भारतसँग ठूलो द्वन्द्वको खाडलमा मुलुकलाई धकेल्छन्, त्यो अबको केही हप्तामै स्पष्ट हुनेछ। यस्तो अवस्था आएमा न त पाकिस्तान सुरक्षित हुनेछ, न दक्षिण एशियाली स्थिरता।