एलन मस्कले आफ्नै राजनीतिक दल अमेरिकी पार्टी गठनको ग​रे घोषणा 
News Desk
Jul-06 , 2025 तारिख 04:31 बेलुका

न्यूयोर्क ः अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुई दलीय प्रणालीलाई चुनौती दिएका छन। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि मस्कले ‘अमेरिका पार्टी’ बनाएको बताएका छन। उनले अमेरिका पार्टीलाई रिपब्लिकन–डेमोक्र्याटबाट सन्तुष्ट नरहेका ८० प्रतिशत मतदाताको आवाजका रूपमा वर्णन समेत गरेका छन। 

मस्कले घोषणा गरेको पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन आयोगमा दर्ता भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन भने उनले पार्टीको नेतृत्व कसले गर्ने वा यसको संरचना कस्तो हुनेछ भनेर पनि बताएका छैनन।

मस्कले किन पार्टी बनाए ?

ट्रम्पसँग विवाद हुँदा मस्कले पहिलोपटक नयाँ दलको मुद्दा उठाएका थिए। विवादपछि ट्रम्प सरकारबाट अलग भएर उनी ट्रम्पसँग कडा रूपमा सार्वजनिक बहसमै उत्रिए। 

पार्टीको घोषणासँगै मस्कले अहिले सिनेटको २–३ सिट र ८–१० हाउस डिस्ट्रिक्टहरूमा मात्र ध्यान केन्द्रित गर्ने बताएका छन। अमेरिकामा प्रत्येक दुई वर्षमा सबै ४३५ अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ सिटका लागि चुनाव हुन्छ। यस बाहेक ६ वर्षको कार्यकाल पूरा गर्ने सिनेटका १०० सदस्यमध्ये लगभग एक तिहाइ, प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन। मस्कको नजर ती सदस्यहरूमा छ।

ट्रम्पसँगको विवाद पछि मस्कले एक्समा एक सर्वेक्षण चलाएका थिए, जसमा उनले मानिसहरूलाई ‘अमेरिकामा नयाँ राजनीतिक दल हुनुपर्छ ?’ भनेर सोधेका थिए। उनको प्रश्नको उत्तर दिएका धेरैजसो प्रयोगकर्ताहरूले नयाँ पार्टीलाई समर्थन गरेका थिए।

त्यही सर्वेक्षणलाई उल्लेख गर्दै शनिबार मस्कले लेखे, ‘सर्वेक्षणअनुसार तपाईंहरू नयाँ पार्टी चाहनुहुन्छ र अब तपाईंले त्यो पाउनुहुनेछ। हामी लोकतन्त्रमा होइन, अनावश्यक खर्च र भ्रष्टाचारले देशलाई बर्बाद गर्ने पार्टी प्रणालीमा बाँचिरहेका छौं। आज फेरि आफ्नो स्वतन्त्रता दिलाउन ‘अमेरिका पार्टी’ गठन गरिएको छ।’
सन २०२४ को चुनावमा ट्रम्पका मुख्य समर्थक रहेका मस्कले ट्रम्पको जितका लागि लगभग २५ करोड डलर खर्च गरेका थिए।

चुनावपछि मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्नेन्स एफिसिएन्सी (डोज) का प्रमुख बनाइयो, जसको काम संघीय बजेटमा भारी मात्रामा कटौतीका लागि सुझाव दिनु थियो। गत मेमा प्रशासन छोड्ने विषयसँगै ट्रम्पको कर र खर्च योजनाको सार्वजनिक रूपमा आलोचना गरेपछि मस्क र ट्रम्पबीच मतभेद सुरु भएको थियो। 

ट्रम्पले ‘बृहत् सुन्दर’ भनेका विधेयकलाई मस्कले ‘देशलाई टाट पल्टाउने खालको’ भनेर वर्णन गरेका थिए, जसलाई कंग्रेसले मुश्किलले पारित गरेपछि राष्ट्रपतिले हस्ताक्षर गरी कानुनको रूप दिए।

मस्कले नयाँ विधेयकलाई ‘घृणित र भयानक’ भनेर वर्णन गर्दै यसले अमेरिकाको पहिलेदेखिको ठूलो बजेट घाटालाई थप बढाउने तर्क गरेका थिए। ट्रम्पले मस्कका कम्पनीहरू (जस्तै टेस्ला र स्पेसएक्स)लाई अनुदान कटौती गर्ने र उनलाई देशबाट निकाल्ने धम्की समेत दिए। ठूलो सरकारी खर्च र कर कटौती समावेश गरिएको नयाँ कानूनले आगामी १० वर्षमा अमेरिकी बजेट घाटामा ३ ट्रिलियन डलरभन्दा बढी थप्ने अनुमान गरिएको छ। 

वास्तविक प्रयास कि रणनीति ?

सीएनएन, सीबीएस र न्युयोर्क टाइम्स जस्ता अमेरिकी प्रमुख मिडियाहरूले मस्क र ट्रम्प बीचको तिक्ततालाई नयाँ पार्टी घोषणाको कारण मानेका छन।

‘ट्रम्प समर्थकबाट आलोचक बन्नु मस्कको राजनीतिक अडानमा ठूलो परिवर्तन हो, किनकि पहिले उनको झुकाव रिपब्लिकन पार्टीतर्फ थियो। यो परिवर्तन ‘डोजको आलोचना र विस्कन्सिन सुप्रिम कोर्टको चुनावमा असफल हस्तक्षेप पछि आएको हो’ वासिङटन पोस्टले लेखेको छ।

मस्कको पार्टी योजनालाई ‘चाल’ भनी वर्णन गरेका राजनीतिक विशेषज्ञ थोमस गिफ्टले ‘मस्क वास्तवमा पार्टी बनाउन चाहँदैनन् तर रिपब्लिकनहरूलाई दबाब दिन चाहन्छन्’ भनेको अल जजिराले लेखेको छ। ‘यो एलन मस्कको चाल हो। डेमोक्रेटिक र रिपब्लिकन दलहरूको बलियो संगठनात्मक शक्तिलाई पार गर्न धेरै गाह्रो छ भन्ने कुरा मस्कलाई राम्रोसँग थाहा छ’‚ उनले भनेका छन। 

मस्कका सामु चुनौतीहरू

एलन मस्कले पार्टी घोषणा गरे पनि अमेरिकाको दुई–दलीय प्रणाली, राज्यगत मतपत्र प्रणाली, दर्ता प्रक्रिया, कोष सङ्कलन र मतदाता समर्थनको अभाव जस्ता समस्या छन।

‘मस्कसँग स्रोत छन् तर राजनीतिक धैर्य र तल्लो तहका संगठनको अभाव ठूलो बाधा हुन सक्छ’‚ विज्ञहरू भन्छन। डोजको नेतृत्व गर्दा उनले धेरै सरकारी योजना र बजेट कटौती गरे। 

अमेरिकी चुनाव प्रणाली ‘विनर टेक अल’ को सिद्धान्तमा आधारित छ, जसमा तेस्रो पक्षलाई स्थान बनाउन धेरै गाह्रो हुन्छ। जर्ज टाउन विश्वविद्यालयका प्राध्यापक हान्स नोएलले भने, ‘अमेरिकामा बहुदलीय व्यवस्थालाई प्रभावकारी रूपमा सफल हुने मौका दिने संस्था छैनन। अन्य लोकतान्त्रिक देशहरू जस्तो, अमेरिकामा २०–३० प्रतिशत मत प्राप्त गर्दा पनि कुनै सिट मिल्दैन, त्यसैले साना दलहरूलाई टिक्न धेरै गाह्रो छ।’

मस्कले भने अर्को वर्षको मध्यावधि चुनावलाई लक्षित गर्ने योजना बनाएका बताएका छन। उनले आफ्नो रणनीतिको तुलना ग्रीक सेनापति एपेमिनोन्डासको त्यो युद्ध नीतिसँग तुलना गरेका छन्, जसमा एक विशेष स्थानमा सबै शक्ति केन्द्रित गरेर शत्रुलाई पराजित गरिएको थियो।

पहिले डेमोक्र्याटिक पार्टीको सल्लाहकारको रूपमा पनि काम गरिसकेका प्रोफेसर म्याक म्याककोर्कल ड्यूकले वासिङटन पोस्टसँगको कुराकानीमा मस्कका लागि धेरै नियमहरू ठूलो चुनौतीका रूपमा खडा हुनसक्ने बताए। ‘यद्यपि मस्कसँग यति धेरै पैसा छ कि उनी यो काम गर्न सक्छन्’‚ ड्यूकले भने। 

रिपब्लिकन पार्टीका लागि समस्या निम्त्याउन सक्ने तेस्रो पक्ष खडा गर्न मस्कसँग पर्याप्त आर्थिक शक्ति रहे पनि उनले जोखिम उठाउलान भन्ने आशंका रहेको समेत विश्लेषण गरिएको छ। 

दुई–दलीय प्रणालीभन्दा बाहिरको अमेरिकी इतिहास
दुई प्रमुख दलहरू (रिपब्लिकन र डेमोक्र्याट) बाहेकका राजनीतिक दलहरू अमेरिकामा लामो समयदेखि अस्तित्वमा छन्, तर हालका वर्षहरूमा उनीहरूले सीमित राष्ट्रिय समर्थन प्राप्त गरेका छन।

पछिल्लो पटक सन १९६८ मा जर्ज वालेस नामका तेस्रो–दलीय उम्मेदवारले राष्ट्रपति चुनावमा इलेक्टोरल मत पाए। त्यसबेला अमेरिकाका पाँच दक्षिणी राज्यहरूले अमेरिकी स्वतन्त्र पार्टीका उम्मेदवार जर्ज वालेसलाई मतदान गरेका थिए।

१९९२ मा करिब १९ प्रतिशत लोकप्रिय मत प्राप्त गरेर आश्चर्यजनक रूपमा राम्रो प्रदर्शन गरेका अर्बपति व्यापारी रस पेरोट कुनै पनि राज्यमा पहिलो स्थानमा आउन सकेनन।

सन २००० मा राष्ट्रपति पदको अभियानमा राल्फ नाडरको ग्रिन पार्टीले फ्लोरिडामा प्रभुत्व जमायो तर इलेक्टोरल भोट जित्न असफल भयो। १९१२ मा प्रोग्रेसिभ पार्टीका थियोडोर रुजवेल्टले २७।४% लोकप्रिय मत र ८८ इलेक्टोरल भोट जिते, जुन अमेरिकी इतिहासको सबैभन्दा राम्रो तेस्रो पार्टीको प्रदर्शन मध्ये एक थियो।
धेरै चुनावहरूमा तेस्रो पार्टीहरूले मत विभाजनको प्रभाव सिर्जना गरे र मुख्य दललाई फाइदा र बेफाइदा दुवै पुर्‍याए। 

नयाँ दल गठनका चुनौतीहरू

अमेरिकामा नयाँ राजनीतिक दल गठन गर्न सजिलो छैन। वास्तवमा यो एकदमै जटिल र लामो प्रक्रिया रहेको छ। मस्कले हालै गरेको ‘अमेरिका पार्टी’ को घोषणापछि नयाँ दलले अमेरिकी राजनीतिमा साँच्चै पाइला राख्न सक्छ ? भन्ने प्रश्न फेरि उठेको छ।

नयाँ दलले पहिले औपचारिक नाम तय गर्नुपर्छ जसलाई घोषणापत्रसँगै पार्टी अध्यक्ष, कोषाध्यक्ष र अन्य अधिकारीसहितको संगठनात्मक संरचना चाहिन्छ। राष्ट्रपति, सिनेट वा हाउस अफ रिप्रेजेन्टेटिभ जस्ता संघीय चुनाव लड्न उसले संघीय निर्वाचन आयोगमा दर्ता हुनुपर्छ र पार्टीले चन्दा जुटाउने र खर्च गर्ने पारदर्शी नियमहरू पालना गर्नुपर्छ।

अमेरिकामा सबैभन्दा ठूलो चुनौती चुनावी मतपत्रमा पार्टीको नाम राख्नु हो। यसका लागि, प्रत्येक राज्यका फरक–फरक कानुनी नियम छन। कैयौँ राज्यमा हजारौं वैध नागरिकहरूको हस्ताक्षर सङ्कलन गर्नु अनिवार्य छ भने केहीमा अघिल्लो चुनावमा निश्चित प्रतिशत मत प्राप्त गर्नुपर्ने अवस्था छ।

पार्टी चलाउन, उम्मेदवारहरू उठाउन र प्रचार गर्न धेरै पैसा चाहिन्छ भने राष्ट्रपति चुनाव अभियानको क्रममा टीभीमा हुने राष्ट्रिय बहसमा भाग लिन, उम्मेदवारले १५ प्रतिशत राष्ट्रिय समर्थन (मत सर्वेक्षणको आधारमा) देखाउनुपर्छ।

बिबिसीबाट

धेरै पढिएको