News Desk
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जलस्रोतलाई नेपालको “सुनको खानी” को संज्ञा दिँदै यसको सही उपयोगमार्फत देशले ठूलो आर्थिक रूपान्तरण गर्न सक्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारद्वारा हालै ल्याइएको ऊर्जा सम्बन्धी नीति तथा आर्थिक वर्ष २०८३/८४ को बजेटलाई स्वागतयोग्य रहेको बताए।
उनले ऊर्जा उत्पादन, प्रसारण, वितरण तथा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने सरकारको नीति सकारात्मक भएको उल्लेख गर्दै यसले लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।
अग्रवालले जलविद्युत् क्षेत्रमा देखिएका नीतिगत समस्या समाधानतर्फ बजेट केन्द्रित भएको भन्दै निजी क्षेत्र उत्साहित भएको बताए। “विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था तथा ‘टेक अर पे’ मोडेलमा पीपीए खुला गर्ने निर्णयले ऊर्जा क्षेत्रमा नयाँ आशा जगाएको छ,” उनले भने।
उनका अनुसार नेपाल लामो समयदेखि नीति राम्रो बन्ने तर कार्यान्वयन कमजोर हुने “नीति र नियतिको दलदल” मा फसेको छ। “नीति जहिले राम्रो बन्छ, तर कार्यान्वयन प्रभावकारी नहुँदा अपेक्षित परिणाम आउन सकेको छैन,” उनले टिप्पणी गरे।
अध्यक्ष अग्रवालले नेपालको जलस्रोतलाई आर्थिक विकासको मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै गिट्टी–बालुवाजस्ता सीमित स्रोतमा मात्र निर्भर नभई जलविद्युत्को अपार सम्भावनालाई उपयोग गर्नुपर्ने बताए।
उनले हालैको बजेटमा ऊर्जा क्षेत्रका लागि ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन, जलाशययुक्त आयोजनालाई प्राथमिकता, प्रसारण लाइन विस्तारमा तीव्रता तथा निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने व्यवस्था सकारात्मक रहेको उल्लेख गरे। साथै नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना, अन्तरदेशीय विद्युत् व्यापार, हरित हाइड्रोजन तथा ऊर्जा भण्डारण कार्यक्रमलाई पनि स्वागतयोग्य भने।
“विद्युतीय चुलो, विद्युतीय सवारी साधन र औद्योगिक प्रयोग बढाउनुपर्ने समयमा अतिरिक्त कर लगाउनु उपयुक्त होइन,” उनले भने, “उत्पादनसँगै खपत वृद्धि पनि उत्तिकै आवश्यक छ।”
अग्रवालले ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्न दीर्घकालीन नीतिगत स्थिरता, सहज वित्तीय पहुँच, एकद्वार प्रणाली तथा प्रशासनिक सुधार आवश्यक रहेको बताए। साथै उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधार विस्तारलाई समान प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
उनले नेपाल ऊर्जा आयातकर्ताबाट ऊर्जा निर्यातकर्ता राष्ट्र बन्ने दिशामा अघि बढिरहेको उल्लेख गर्दै भारत, बंगलादेशलगायत क्षेत्रीय बजारमा नेपाली विद्युत्को माग बढिरहेको बताए।
कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा सुधार र लगानीमैत्री वातावरण निर्माणमा इप्पानले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका रहने विश्वास व्यक्त गरे।