News Desk
- हिक्मत दाहाल
विद्यालय काउन्सिलर÷पिएचडी स्कलर
काठमाडौं विश्वविद्यालय
सामाजिक - भावनात्मक सिकाइको कुरा किन गर्ने ?
नेपालको शिक्षा प्रणाली आज एउटा संक्रमणकालीन अबस्थामा उभिएको छ । एकातिर हामी अझै पनि परीक्षा केन्द्रित शिक्षण प्रणालीमा अड्किएका छौँ भने अर्कोतर्फ समाज, प्रविधि र जीवनशैलीमा तीव्र परिवर्तन भइरहेको छ । विद्यालयहरूमा केवल “कति जान्दछरु” भन्दा पनि “कसरी जिउनेरु” भन्ने छलफल चल्दै गर्दा सामाजिक-भावनात्मक सिकाइको आवश्यकता झन् गहिरो रूपमा महसुस हुन थालेको छ । काठमाडौँ उपत्यकाका धेरै विद्यालयहरूमा अध्ययन गर्ने किशोर-किशोरीहरूबीच गरिएको अनौपचारिक अवलोकनले विद्यार्थीहरूमा तनाव, प्रतिस्पर्धात्मक दबाब, आत्म-विश्वासको कमी र सम्बन्धगत द्वन्द्व सामान्य बन्दै गइरहेको देखिन्छ । अभिभावकको उच्च अपेक्षा, सामाजिक सञ्जालको प्रभाव र सहपाठीबीचको तुलनाले उनीहरूको मानसिक अवस्थालाई प्रभावित गरिरहेका छन् । यस्तो अवस्थामा विद्यालयहरूले केवल पाठ्यक्रम पूरा गर्नु पर्याप्त हुँदैनस उनीहरूले विद्यार्थीलाई जीवन व्यवस्थापनका सीपहरू सिकाउनुपर्ने हुन्छ, जुन सामाजिक-भावनात्मक सिकाइको केन्द्रबिन्दु हो ।
अवधारणा
सामाजिक-भावनात्मक सिकाइ आधुनिक शिक्षाशास्त्रको एक महत्वपूर्ण आधार हो, जसले व्यक्तिको केवल बौद्धिक विकास मात्र होइन, उसको भावनात्मक, सामाजिक र नैतिक विकासलाई पनि समान रूपमा महत्व दिन्छ । यो “जीवन जिउन सिक्ने प्रक्रिया” हो जहाँ व्यक्तिले आफ्ना भावना बुझ्न, तिनलाई सन्तुलित रूपमा व्यक्त गर्न, अरूसँग सहकार्य गर्न र जिम्मेवार निर्णय लिन सिक्छ । परम्परागत शिक्षाले विद्यार्थीलाई “के सिक्नेरु” भन्ने प्रश्नमा केन्द्रित गर्छ भन सामाजिक–भावनात्मक सिकाइले “किन र कसरी सिक्नेरु” भन्ने गहिरो प्रश्न उठाउँछ । यसको अभ्यासले विद्यार्थीलाई आत्मचेतन, संवेदनशील र उत्तरदायी नागरिकको रूपमा विकास गर्न मद्दत गर्छ । यस सिकाइका विभिन्न आयामहरु जस्तै आत्म–चेतना, आत्म–व्यवस्थापन, सामाजिक चेतना, सम्बन्ध निर्माण सीप, जिम्मेवार निर्णय क्षमता आदि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अति महत्वपूर्ण कसी हुन् ।
आत्म-चेतनाले व्यक्तिलाई आफ्ना भावना, विचार, मूल्य र क्षमताबारे बुझ्न मद्दत गर्छ । उदाहरणका लागि, एउटा विद्यार्थीले परीक्षा अघि डर महसुस गरिरहेको छ भने सामाजिक–भावनात्मक सिकाइको अभ्यासले उसलाई “म किन डराइरहेको छु रु” भन्ने प्रश्न सोध्न प्रेरित गर्छ । यसले आत्म-पहिचान र आत्म-स्वीकृतिको प्रक्रिया सुरु गर्छ । हाम्रा धेरै विद्यार्थीहरू आफ्नो भावना व्यक्त गर्न हिच्किचाउँछन् । यदि उनीहरूलाई आत्म-चेतना विकास गर्ने अवसर दिइयो भने उनीहरूमा आत्मविश्वास उल्लेखनीय रूपमा बढ्न सक्छ ।
आत्म-व्यवस्थापनले आफ्ना भावनाहरू नियन्त्रण गर्न, लक्ष्य निर्धारण गर्न र कठिन परिस्थितिमा पनि धैर्यता कायम राख्न सिकाउँछ । उदाहरणका लागि, कक्षामा कुनै विद्यार्थी रिसाएको अवस्थामा शिक्षकले उसलाई तुरुन्त सजाय दिनुको सट्टा “तिमीलाई के भयो रु” भनेर सोध्दा, त्यो विद्यार्थीले आफ्नो भावनालाई पहिचान र नियन्त्रण गर्ने अभ्यास गर्छ ।
विद्यालयहरूमा देखिने अनुशासनसम्बन्धि समस्याहरूलाई सामाजिक-भावनात्मक सिकाइको माध्यमबाट सकारात्मक रूपमा सम्बोधन गर्न सकिन्छ ।
सामाजिक चेतनाले अरूको भावना, दृष्टिकोण र अनुभव बुझ्न मद्दत गर्छ । यो समानुभूतिसँग गहिरो रूपमा सम्बन्धित छ । नेपालजस्तो बहुसांस्कृतिक समाजमा सामाजिक चेतना अत्यन्त आवश्यक हुन्छ । कक्षामा विभिन्न जाति, भाषा वा आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूले एकअर्काको अनुभव बुझ्न सके भने भेदभाव र पूर्वाग्रह कम हुन सक्छ ।
सम्बन्ध निर्माण सीपले प्रभावकारी रूपमा संवाद गर्न, सहकार्य गर्न र द्वन्द्व समाधान गर्न सक्षम बनाउँछ । विद्यालय जीवनमा विद्यार्थीहरूबीच झगडा, गलतफहमी र प्रतिस्पर्धा सामान्य हुन्छन् । सामाजिक–भावनात्मक सिकाइको अभ्यासले उनीहरूलाई “कसरी सम्मानपूर्वक असहमति व्यक्त गर्नेरु” र “कसरी मिलेर काम गर्नेरु” भन्ने सीप सिकाउँछ । उदाहरणका लागि, समूह कार्य गर्दा मतभेद आउँदा शिक्षकले संवादमार्फत समाधान खोज्न प्रेरित गर्न सक्छन् ।
जिम्मेवार निर्णय लिने क्षमताको विकासले व्यक्तिलाई आफ्नो व्यवहारका परिणामहरू बुझेर नैतिक र जिम्मेवार निर्णय लिन सिकाउँछ । एयटा विद्यार्थीले नक्कल गर्ने वा नगर्ने निर्णय लिनुपर्दा सामाजिक–भावनात्मक सिकाइले उसलाई दीर्घकालीन प्रभावबारे सोच्न मद्दत गर्छ । यसले केवल व्यक्तिगत सफलता मात्र होइन, सामाजिक उत्तरदायित्वको भावना पनि विकास गर्छ ।
आवश्यकता
नेपालको सामाजिक संरचना बहुभाषिक, बहुसांस्कृतिक, भौगोलिक विविधता जस्ता विशेषताले भरिएको छ । हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक विविधतासँगै यहाँका मानिसहरूको जीवनशैली, सोच, मूल्य र अवसरहरू पनि फरक–फरक छन् । यही विविधताको प्रत्यक्ष प्रभाव विद्यालयका कक्षाकोठामा देखिन्छ, जहाँ एउटै कक्षामा बसेका विद्यार्थीहरू फरक–फरक सामाजिक, आर्थिक र सांस्कृतिक पृष्ठभूमिबाट आएका हुन्छन् । यस्तो अवस्थामा विविधतालाई बुझ्ने, स्वीकार गर्ने र त्यसअनुसार सिकाइलाई रूपान्तरण गर्ने दृष्टिकोण आवश्यक हुन्छ, जसमा सामाजिक-भावनात्मक सिकाइ अत्यन्त उपयोगी साबित हुन्छ । ग्रामीण क्षेत्रका विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको दैनिकी नै चुनौतीपूर्ण हुन्छ । बिहानैदेखि घरायसी काम, पशुपालन, दाउरा–घाँसको व्यवस्था, साना भाइबहिनीको हेरचाह जस्ता जिम्मेवारी पूरा गरेर विद्यालय आउने विद्यार्थीहरू कक्षामा शारीरिक रूपमा उपस्थित भए पनि मानसिक रूपमा थकित र विचलित हुन सक्छन् । यस्तो अवस्थामा शिक्षकले केवल पाठ्यपुस्तकमा केन्द्रित भएर पढाउँदा ती विद्यार्थीहरू सिकाइ प्रक्रियाबाट टाढा हुन सक्छन् । तर जब शिक्षकले विद्यार्थीको अवस्थालाई बुझ्न खोजेर उनीहरूलाई “तिमीले आज कस्तो महसुस गरिरहेका छौ रु” जस्ता प्रश्न सोध्छन्, उनीहरूको अनुभवलाई मान्यता दिन्छन्, तब विद्यार्थीले आफूलाई देखिएको, सुनिएको र सम्मानित भएको महसुस गर्छन् । यही अनुभवले उनीहरूको आत्म–विश्वास बढाउँछ र सिकाइप्रति उनीहरूको संलग्नता पनि बढ्न थाल्छ । अर्कोतर्फ, शहरी क्षेत्रका विद्यार्थीहरु प्रायः अत्यधिक प्रतिस्पर्धा, अभिभावकको अपेक्षा र सामाजिक सञ्जालको प्रभावमा हुन्छन् । उनीहरुले आफूलाई अरूसँग तुलना गर्ने, “अरूले कति अंक ल्यायोरु” भन्ने कुरामा केन्द्रित हुने प्रवृत्ति देखिन्छ । यसले उनीहरूमा आत्म–सन्तुष्टि घटाउँछ र निरन्तर तनावको अवस्था सिर्जना गर्छ । यसको प्रभावले उनीहरूलाई आफ्नो वास्तविक पहिचानभन्दा बाहिर गएर व्यवहार गर्न बाध्य बनाउँछ । यस्तो अवस्थामा सामाजिक–भावनात्मक सिकाइ अत्यन्त सान्दर्भिक हुन्छ । जब विद्यार्थीलाई आफ्ना भावना बुझ्न, आफ्नो मूल्य र लक्ष्य पहिचान गर्न र अरूसँग स्वस्थ सम्बन्ध निर्माण गर्न सिकाइन्छ, तब उनीहरू अस्वस्थ प्रतिस्पर्धाबाट बाहिर निस्कन थाल्छन् । उदाहरणका लागि, यदि कक्षामा नियमित रूपमा विद्यार्थीहरूले “आज म के कुरामा गर्व महसुस गर्छुरु” वा “मलाई के कुराले तनाव दियोरु” भन्ने कुरा लेख्न वा भन्न पाए भने उनीहरूमा आत्म–चेतना विकास हुन्छ । यसले उनीहरूलाई बाह्य तुलना भन्दा आन्तरिक विकासमा केन्द्रित हुन मद्दत गर्छ ।
नेपालको सामाजिक संरचनामा जातीय, भाषिक र लैङ्गिक विविधता पनि गहिरो रूपमा उपस्थित छ । केही विद्यार्थीहरू अझै पनि भेदभाव, पूर्वाग्रह वा बहिष्करणको अनुभव गर्छन् । सामाजिक–भावनात्मक सिकाइको अभ्यासले विद्यार्थीलाई अरूको अनुभव बुझ्न र सम्मान गर्न सिकाउँछ । अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पनि यस्ता अभ्यासमा सहभागी विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा औसत ११ प्रतिशतसम्म सुधार आएको देखाएको छ । जब विद्यार्थी भावनात्मक रूपमा सन्तुलित हुन्छन्, तब उनीहरूको ध्यान, स्मरण शक्ति र समस्या समाधान क्षमता पनि सुधार हुन्छ, जसले प्रत्यक्ष रूपमा शैक्षिक उपलब्धिमा प्रभाव पार्छ । हामीले अभ्यास गरिरहेको शिक्षा प्रणालीले अझै सबै विद्यार्थीहरूको विविध आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकिरहेको अवस्थामा शिक्षण–सिकाइ प्रक्रियालाई व्यक्तिगत, सान्दर्भिक र समावेशी बनाउनका लागि सामाजिक भावनात्मक सिकाइले रूपान्तरणमूखी भूमिका खेल्न सक्छ ।
व्यवहारिक अभ्यासहरू
सामाजिक-भावनात्मक सिकाइलाई प्रभावकारी बनाउन यसलाई छुट्टै विषयको रूपमा होइन, दैनिक शिक्षण–सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा समावेश गर्न आवश्यक हुन्छ । जब सिकाइमा कक्षाकोठाको संस्कृति, शिक्षक-विद्यार्थी सम्बन्ध र सिकाइका गतिविधिहरूमा स्वाभाविक रूपमा मिसिन्छ, तब मात्र यसको वास्तविक प्रभाव देखिन्छ । यसका लागि शिक्षकले केवल पाठ्यवस्तु प्रस्तुत गर्ने होइन, सिकाइलाई अनुभवात्मक, संवादात्मक र आत्म प्रतिबिम्बात्मक बनाउने भूमिका निर्वाह गर्नुपर्छ ।
कथा, कविता वा निबन्ध पढाउने क्रममा शिक्षकले केवल विषयवस्तुको व्याख्या गर्नुको सट्टा पात्रहरूको भावना, निर्णय र सम्बन्धबारे प्रश्न उठाउन सक्छन् । उदाहरणका लागि, एउटा कथामा मुख्य पात्रले कुनै कठिन निर्णय लिन्छ भने शिक्षकले “यो पात्रले यस्तो निर्णय किन गर्योरु” वा “तिमी यो अवस्थामा भएको भए के गथ्र्यौरु” भन्ने प्रश्न सोध्न सक्छन् । यस्तो संवादले विद्यार्थीलाई कथाभित्र प्रवेश गर्न, पात्रसँग भावनात्मक रूपमा जोडिन र आफ्नै अनुभवसँग तुलना गर्न प्रेरित गर्छ ।
गणित कक्षालाई प्रायः “भावनाहीन” विषयका रूपमा लिइन्छ, तर सामाजिक भावनात्मक सिकाइको दृष्टिले यो कक्षा पनि अत्यन्त महत्वपूर्ण हुन सक्छ । जब शिक्षकले विद्यार्थीहरूलाई समूहमा समस्या समाधान गर्न दिन्छन्, तब उनीहरूले केवल गणितीय समाधान मात्र होइन, सहकार्य गर्ने, विचार आदान–प्रदान गर्ने र मतभेदलाई व्यवस्थापन गर्ने सीप पनि सिक्छन् । उदाहरणका लागि, कुनै समूहमा दुई विद्यार्थीबीच समाधानको तरिकाबारे असहमति भयो भने शिक्षकले तुरुन्त समाधान दिने सट्टा “हामी कसरी एकअर्काको विचार सुन्न सक्छौँरु” वा “कुन तरिकाले सबैलाई समेटेर निर्णय लिन सक्छौँरु” भन्ने प्रश्न उठाउन सक्छन् । यसले विद्यार्थीहरूलाई सम्मानजनक संवाद र सहकार्यको अभ्यास गराउँछ । साथै, गणितमा गल्ती हुँदा धेरै विद्यार्थीहरू निरुत्साहित हुन्छन् । यदि शिक्षकले गल्तीलाई सिकाइको अवसरको रूपमा प्रस्तुत गर्छन् भने विद्यार्थीहरूमा जोखिम लिन र प्रयास गर्न डर कम हुन्छ ।
दैनिक विद्यालय जीवनमा साना-साना अभ्यासहरूले पनि सामाजिक–भावनात्मक सिकाइलाई सुदृढ बनाउन सक्छन् । केही विद्यालयहरूले बिहानको समय ध्यान वा मौन प्रार्थनाबाट सुरु गर्ने गरेका छन्, जहाँ विद्यार्थीहरूले केही मिनेट श्वासमा ध्यान केन्द्रित गर्छन्, आँखा बन्द गरेर आफ्नो शरीर र मनको अवस्थाबारे सचेत हुन्छन् । हामीबीच ध्यान र प्राणायामजस्ता अभ्यासहरू सांस्कृतिक रूपमा पनि परिचित छन्, जसलाई विद्यालयमा सहज रूपमा समावेश गर्न सकिन्छ । यस्तो अभ्यासले विद्यार्थीहरूको ध्यान, एकाग्रता र भावनात्मक सन्तुलनमा सुधार ल्याउँछ, जसको प्रभाव दिनभरको सिकाइमा देखिन्छ ।
हप्तामा एकपटक विद्यार्थीहरूलाई घेरामा बसाएर “यो हप्ता मलाई के कुराले खुसी दियोरु” वा “मलाई के कुराले चुनौती दियोरु” भन्ने प्रश्नमा छलफल गराउँदा उनीहरूमा आत्म–अभिव्यक्ति र समानुभूति विकास हुन्छ । यस्तो अभ्यासले शिक्षकलाई पनि विद्यार्थीहरूको भावनात्मक अवस्था बुझ्न मद्दत गर्छ, जसले शिक्षणलाई थप सान्दर्भिक बनाउँछ । विद्यार्थीहरूलाई दैनिक वा साप्ताहिक रूपमा आफ्ना अनुभव, भावना र सिकाइबारे लेख्न प्रोत्साहित गर्दा उनीहरूमा आत्म प्रतिबिम्बको क्षमता विकास हुन्छ । उदाहरणका लागि, “आज मैले के सिकेँरु”, “मलाई के कुरामा गर्व लाग्योरु”, “मलाई के सुधार गर्न मन छरु” जस्ता प्रश्नहरूले विद्यार्थीलाई आफ्नो सिकाइको जिम्मेवारी लिन प्रेरित गर्छ ।
सामाजिक भावनात्मक सिकाइ कुनै जटिल वा अतिरिक्त बोझ होइनस यो शिक्षण–सिकाइ प्रक्रियालाई अझ मानवीय, अर्थपूर्ण र प्रभावकारी बनाउने तरिका हो । यसको सफल कार्यान्वयनका लागि शिक्षकको संवेदनशीलता, लचकता र सृजनशीलता अत्यन्त आवश्यक हुन्छ । जब कक्षाकोठामा यस्ता अभ्यासहरू स्वाभाविक रूपमा लागू हुन्छन्, तब विद्यार्थीहरूले केवल विषयवस्तु मात्र होइन, जीवनका लागि आवश्यक सीपहरू पनि सिक्न थाल्छन् । यही नै समग्र शिक्षाको मूल उद्देश्य हो ।
चुनौतीहरू र सम्भावनाहरू
नेपालमा सामाजिक भावनात्मक सिकाइलाई विद्यालय शिक्षामा समावेश गर्ने प्रयास गर्दा केही संरचनात्मक, सांस्कृतिक र व्यवहारिक चुनौतीहरू स्पष्ट रूपमा देखिन्छन् । यद्यपि, यिनै चुनौतीहरूभित्र परिवर्तनका महत्वपूर्ण सम्भावनाहरू पनि लुकेका छन् । यी दुबै पक्षलाई सन्तुलित रूपमा बुझेर अघि बढ्न सकिएमा सामाजिक भावनात्मक सिकाइलाई नेपालको सन्दर्भमा प्रभावकारी रूपमा संस्थागत गर्न सकिन्छ । सबैभन्दा पहिलो र गहिरो चुनौती भनेको हाम्रो शिक्षा प्रणालीको परीक्षा–केन्द्रित प्रकृति हो । नेपालमा विद्यालय शिक्षाको मुख्य उद्देश्य प्रायः राम्रो अंक ल्याउनु, बोर्ड परीक्षामा सफल हुनु र प्रमाणपत्र प्राप्त गर्नुमा सीमित भएको देखिन्छ । यस्तो अवस्थामा शिक्षक र विद्यार्थी दुवै पाठ्यक्रम पूरा गर्न र परीक्षामा केन्द्रित हुन बाध्य हुन्छन् । जीवनोपयोगी सीपहरूलाई “अतिरिक्त” विषयको रूपमा हेरिन्छ ।
यससँगै अभिभावकको सोच पनि एउटा महत्वपूर्ण चुनौतीका रूपमा देखिन्छ । धेरै अभिभावकहरू अझै पनि “राम्रो शिक्षा” लाई केवल उच्च अंक र प्रतिष्ठित पेशासँग जोडेर हेर्छन् । उनीहरूका लागि सामाजिक–भावनात्मक सिकाइले स्पष्ट रूपमा देखिने वा मापन गर्न सकिने नतिजा नदिने भएकाले कम प्राथमिकतामा पर्छन् । स्रोतको अभाव पनि अर्को यथार्थ चुनौती हो ।
नेपालका धेरै विद्यालयहरूमा आधारभूत शैक्षिक सामग्री, पर्याप्त शिक्षक र भौतिक पूर्वाधारको अभाव छ । यस्तो अवस्थामा सामाजिक–भावनात्मक सिकाइ जस्ता कार्यक्रमहरू लागू गर्न अतिरिक्त समय, तालिम र स्रोत आवश्यक पर्छ, जुन सहज रूपमा उपलब्ध हुँदैन । शिक्षकहरू आफैँ धेरै जिम्मेवारीमा थिचिएका हुन्छन्, जसले यस्ता अभ्यासका लागि आवश्यक तयारी र प्रतिबद्धता कायम राख्न कठिन बनाउँछ । सांस्कृतिक पक्ष पनि यहाँ गहिरो रूपमा जोडिएको छ ।
नेपाली समाजमा भावना खुला रूपमा व्यक्त गर्ने अभ्यास अझै सीमित छ । विशेषगरी, “रुनु”, “डर देखाउनु” वा “कमजोरी स्वीकार गर्नु” लाई कमजोरीका रूपमा लिने प्रवृत्ति देखिन्छ । धेरै विद्यार्थीहरू आफ्नो दुःख, डर वा तनाव खुला रूपमा व्यक्त गर्न हिच्किचाउँछन् । शिक्षकहरू पनि प्रायः अनुशासन र नियन्त्रणलाई प्राथमिकता दिन्छन्, जसले भावनात्मक संवादका लागि आवश्यक सुरक्षित वातावरण सिर्जना गर्न कठिन बनाउँछ । यस्तो सांस्कृतिक पृष्ठभूमिमा सामाजिक–भावनात्मक सिकाइ लागू गर्नु चुनौतीपूर्ण भए पनि, यही सन्दर्भमा यसको आवश्यकता झन् बढी देखिन्छ ।
यिनै चुनौतीहरूभित्र परिवर्तनका महत्वपूर्ण सम्भावनाहरू पनि स्पष्ट रूपमा देखिन्छन् । पछिल्ला वर्षहरूमा नेपालको शिक्षा नीतिमा मानसिक स्वास्थ्य, काउन्सिलिङ, मनोसामाजिक परामर्श जस्ता अवधारणाहरूले स्थान पाउन थालेका छन् । नयाँ शिक्षा नीति र पाठ्यक्रम संरचनाले केवल संज्ञानात्मक विकास मात्र होइन, सामाजिक र भावनात्मक विकासलाई पनि महत्व दिन थालेको छ । यसले सामाजिक–भावनात्मक सिकाइलाई औपचारिक रूपमा शिक्षा प्रणालीमा समावेश गर्ने आधार तयार गरेको छ ।
विद्यालय काउन्सिलिङ सेवाको विस्तार पनि अर्को महत्वपूर्ण अवसर हो । काठमाडौँ लगायतका शहरी क्षेत्रका धेरै विद्यालयहरूमा अहिले विद्यालय काउन्सिलरको व्यवस्था हुन थालेको छ । यद्यपि यो अझै प्रारम्भिक चरणमा छ, तर यसले सामाजिक–भावनात्मक सिकाइलाई संस्थागत गर्ने सम्भावना बढाएको छ । काउन्सिलर र शिक्षकबीच सहकार्य भएमा सामाजिक–भावनात्मक सिकाइलाई कक्षाकोठा र विद्यालयको समग्र वातावरणमा एकीकृत गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा सामाजिक भावनात्मक सिकाइ लागू गर्ने यात्रा चुनौतीपूर्ण अवश्य छ, तर असम्भव छैन । चुनौतीहरूलाई अवरोधको रूपमा होइन, सिकाइ र रूपान्तरणको अवसरका रूपमा हेर्न आवश्यक छ । यदि नीति स्तर, विद्यालय स्तर र कक्षाकोठा स्तरमा समन्वित प्रयास गरियो भने यसले नेपालको शिक्षा प्रणालीलाई केवल “जान्ने” बाट “बुझ्ने” र “जीउने” दिशातर्फ रूपान्तरण गर्न सक्छ । यही सम्भावनाले सामाजिकभावनात्मक सिकाइलाई आजको शिक्षामा अत्यन्त सान्दर्भिक बनाएको छ ।