चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न चितवन रेडक्रसको अपिल
News Desk
Oct-31 , 2023 तारिख 11:57 बिहान

चितवन । चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ।  रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेको हो। चाडपर्वसँगै अस्पतालमा बिरामीको संख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगत अभाव भएपछि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेका हुन्। जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पतालमा आउने बिरामीको संख्या दिनहुँ बढ्दै गएको तर चाडवाडमा रक्तदानका कार्यक्रम कम भएको अपिलमा उल्लेख छ।

अपिलमा भनिएको छ, 'मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछौँ।'

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रक्तदान कार्यक्रममा विगतमा जस्तो रक्तदाताको उत्साहजनक सहभागिता नहुने गरेको बताए। दशैँअघि रक्तदान कार्यक्रम भए पनि रक्तदाताको संख्या घट्दा हाल रगतको अभाव भएको उनको भनाइ छ। उनले भने, 'रक्तदाताको संख्या घट्दै गएको छ, धेरै संख्यामा युवाहरू विदेश पलायन हुँदा रक्तदाताको संख्या घटेको हुनसक्छ।'

भरतपुरमा मात्रै दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको भन्दै मागअनुसारको रगत आपूर्ति गर्न कठिन भएकोे पौडेलले बताए। उनले भने, 'भोलिबाटै विभिन्न स्थानमा रक्तदानका कार्यक्रम आयोजना हुँदैछन्, जस कारण रगतमा केही सहजता हुन्छ भन्ने अपेक्षा गरेका छौँ।'

धेरै पढिएको

Related Post