News Desk
संखुवासभा | संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।
यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्यालामजदुरी गरी जीविका चलाइरहेका सर्वसाधारणले घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुशी व्यक्त गरेका छन्।

जिल्लामा एउटा सरकारीसहित ३ अस्पताल छन्। जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञ सुविधा पनि छ तर दुर्गम बस्तीमा भने स्वास्थ्य सेवा निकै कमजोर छ।
भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांशलाई साँझ–बिहानको छाक टार्न नै मुस्किल हुने गरेको छ। उपचारको कुरा त परै जाओस्‚ जग्गा–जमिनमा उब्जनी गरेको खाद्यान्नले उनीहरूलाई ६ महिना पनि खान पुग्दैन।
भोटखोला गाउँपालिकाले राखेको स्वास्थ्य शिविरले पनि समग्र जिल्लाको स्वास्थ्य अवस्था छर्लङ्ग पारेको छ। गाउँपालिकाले दुई वडामा राखेको विशेषज्ञ स्वास्थ्य शिविरमा १ हजार २४८ जनाले स्वास्थ्य सेवा लिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।
दुर्गम पहिलो पटक गाउँमै विषेशज्ञ स्वास्थ्य सेवा र औषधि पाएपछि ४/५ दिन लगाएर सदरमुकाम खाँदबारी जानु नपरेको भोटखोला–४ सिप्रुङका ७८ वर्षीय सिनेन लामाले बताए।
घर–आँगनमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुशी लागेको स्थानीय लामाले बताए। चीनको तिब्बतसँग सिमाना जोडिएको भोटखोलाका बासिन्दा उपचारका लागि सदरमुकाम आउन ४ देखि ५ दिन लाग्छ।
संखुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले दुर्गम गाउँमा विषेशज्ञसहितका शिविर सबै स्थानीय तहले राख्ने हो भने भौगोलिक विकटता र विपन्नताका कारण औषधि उपचार नगर्नेहरूलाई फाइदा हुने प्रदेशसभा बताए। दुर्गम भेगका स्वास्थ्य क्षेत्रमा राज्यले विशेष ध्यान जरुरी रहेको उनले बताए।
विपन्नका लागि स्वास्थ्य, नेपाल घुन्सा फाउन्डेसन काठमाडौंको सहयोग तथा भोटखोला गाउँपालिकाको आयोजनामा विभिन्न वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए।
काठमाडौंका वीरलगायत विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य सेवा दिएको उनले बताए।
विशेषज्ञ स्वास्थ्य शिविरमा भिडियो एक्सरे, यौन तथा प्रजनन स्वास्थ्य, बाल रोग, नाक कान घाँटी, मुटु रोगलगायतको परीक्षण र उपचार सेवा दिइएको थियो।