News Desk
-मनहरि तिमल्सिना
देशमा आमूल परिवर्तनको नेतृत्व गर्ने जनयुद्धलाई १७ हजारको हत्या भनि विद्रुपीकरण गर्नुपूर्व महान् जनयुद्धबारे आधारभूत कुरा बुझ्नु राम्रो हुन्थ्यो। मानौं तपाई स्वयं जनयुद्धमा सामेल हुनुभएको भए कस्तो अनुभूति गर्नुहुन्थ्यो ? आउनुस्, यी तथ्यमाथि बहस गरौँ।
१. जनयुद्ध सुरू हुनुपूर्व नै रूकुम–रोल्पा लगायतका जिल्लामा पूरानो सत्ताले ‘रोमियो अप्रेसन’का नाममा दर्जनौं निहत्था नागरिकको हत्या गरेको थियो।
२. जनयुद्ध सुरू गर्नुपूर्व माओवादीले पूरानो सत्तासामू राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धि ४० बुँदे मागपत्र पेश गरेको थियो, जुन मागपत्र सम्वोधन गर्नु त टाढाको कुरा, पूरानो सत्ता सुन्नसम्म तयार भएन।
३. जनयुद्ध सुरू हुनुपूर्व नै सयौं निहत्था नागरिकलाई गिरफ्तार गरी चर्को यातना दिइएको थियो। संसदीय राजतन्त्रको विरोध गर्नेहरूलाई जेल हाल्ने, झुठ्ठा मुद्दा लगाउने कूकर्मले सीमा नाघेको थियो।
४. शान्तिपूर्ण संघर्षका सबै बिकल्पहरू बन्द भएपछि माओवादीले विद्रोहको बाटो रोजेको थियो, उक्त विद्रोह माओवादीको चाहना नभएर पूरानो सत्ताको दमन र ज्यादतिको परिणाम थियो।
५. माओवादीलाई समर्थन गरेकै कारण सयौं चेलीहरूमाथि बलात्कार गरिएको थियो, सयौंले यातना भोगेका थिए। सिंगो गाउँ नै आगजनी गरिएको थियो। अत्यन्तै निर्मम एवं क्रुर दमन र अपराधले जनता भूमिगत जीवन रोज्न बाध्य हुनुपरेको थियो।
६. ‘संघर्ष गर या मर’को परिस्थिति निर्माण गरिएपछि माओवादीले विद्रोहको बिकल्प रोज्यो, जुन विद्रोह पूरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्था स्थापनाको ध्येयमा आधारित थियो।
७. जनयुद्धकै क्रममा किलो सेरा–टु अप्रेसन, जंगल सर्च अप्रेसन, सर्च एण्ड डिस्ड्रोए लगायतका ठूलठूला अप्रेसनमार्फत् हजारौं जनताको हत्या गरिएको थियो।
८. माओवादी नेताहरूले पटकपटक वार्ताको प्रयास गर्दा पूराना पार्टीहरू वार्ताका लागि तयार भएनन्, यसरी वार्ता नचाहनेमा एमाले नेताहरू केपी ओली, ईश्वर पोखरेलहरू मुख्य थिए।
९. जनयुद्धका क्रममा राप्रपा र एमालेका ओलीपक्षीय नेता–कार्यकर्ता मुक्ति वा मृत्युको कसम खाएर देश परिवर्तनको ध्येय बोकेर हिड्ने माओवादी नेता–कार्यकर्तामाथि सुराकी गर्ने र हत्याका मतियार बन्न प्रतिस्पर्धामा थिए।
१०. जनयुद्धमा जति नागरिक मारिएका थिए, त्यसमध्ये सबैभन्दा धेरै नागरिक राजावादी र ओली समूह लगायतका दलको सुराकीमा मारिएका थिए। सुराकी गरेवापत् उनीहरूले राज्यबाट भत्ता बुझ्दथे।
११. माओवादीले आफ्नो एकल पहलमा २ पटकसम्म युद्धविराम गरेको थियो। तर, युद्धविरामकै क्रममा पूरानो सत्ताले दोरम्बामा १७ जना र देशैभरि दर्जनौं निहत्था जनताको हत्या गरेको थियो।
१२. जनयुद्धको क्रममा मारिएका नागरिकमध्ये ८५ प्रतिशत नागरिक राज्यपक्षद्वारा मारिएका थिए। दोहोरो भीडन्तबाहेक व्यक्तिहत्याको नीति माओवादीको थिएन।
१३. जनयुद्धका क्रममा माओवादी नेताहरूको ५० लाखदेखि ५० हजारसम्म टाउकोको मूल्य तोकिएको थियो, आत्मसमर्पणका लागि ठूलो प्रलोभन देखाइएको थियो। तर, उनीहरू चुकेनन् र झुकेनन्।
१४. गणतन्त्रका निम्ति माओवादी नेताहरूले २५ वर्ष लामो भूमिगत जीवन बिताएका थिए, जुन कुरा आज कल्पना गर्दा पनि कहालीलाग्दो हुन्छ, शहरको बिलासी जीवनमा बसेर माओवादीको विरोध गर्न जति सजिलो छ, सिंगो जिन्दगी नै हत्केलामा राखेर संघर्ष गर्न त्यति नै कठिन थियो।
१५. माओवादीले संविधानसभामार्फत् जनताका प्रतिनिधिले संविधान लेख्न पाउनुपर्ने माग राखेको थियो, त्यो माग राजा र पार्टीहरूले सुनेको भए जनयुद्ध नै हुने थिएन। तसर्थ, देशलाई जनयुद्धमा धकेल्ने प्रमुख शक्ति राजावादी र उनका समर्थक थिए।
१६. माओवादी जनयुद्धकै कारण किसानहरू मुक्त भएका थिए। किसानलाई ४० प्रतिशतसम्म ब्याज थोपर्ने, नक्कली तमसुक बनाई घरबास उठाउनेलाई माओवादीले नियन्त्रणमा लिएका कारण नै देशमा सामाजिक न्यायको जग बस्न थालेको थियो।
१७. महिला हिंसा, बलात्कार, बोक्सी प्रथा, सामाजिक कार्यमा पुरूषको एकल बर्चश्व माओवादी जनयुद्धकै कारण तोडिएको थियो। जनयुद्ध नभएको भए अहिले पनि महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख, महिला मेयरको कल्पनासमेत गर्न सकिँदैनथ्यो।
१८. जनयुद्धले जातीय छुवाछूतको कूप्रथा तोडेको थियो। जनयुद्ध नभएको भए आज पनि दलितहरू अपमानित नागरिककै रूपमा जिउन बाध्य हुनुपर्दथ्यो।
१९. जनयुद्ध नभएको भए समाजमा यति ठूलो राजनीतिक जागरण आउन सम्भव नै थिएन। आज तपाई–हामीमा जुन राजनीतिक चेत छ, जुन स्वतन्त्रता छ, जुन आलोचनाको अधिकार छ, त्यो जनयुद्धले नै सिर्जना गरेको हो। तसर्थ, माओवादीको आलोचना गर्नेहरूले जनयुद्धलाई विशेष धन्यवाद दिनुपर्ने हुन्छ।
२०. जनयुद्ध नभएको भए अहिले पनि गाउँ–गाउँमा मुखियाहरू हुन्थे, उनीहरूले कूत उठाउँथे, नागरिकमाथि दासत्व थोपर्थे, जनता प्रजाबाट नागरिक बन्न सम्भव थिएन।
२१. जनयुद्ध नभएको भए लोकतन्त्र नै सम्भव थिएन। राजाले चाहँदा चुनावको नाटक गर्थे, नचाहँदा दलमाथि प्रतिवन्ध लगाउँथे, नेताहरू जेल हाल्थे। आज जे–जति अधिकार स्थापित छन्, त्यो जनयुद्धकै देन हो।
२२. २०५२–२०६२ सम्म देश दस वर्ष अनिच्छित युद्धको भूमरिमा पर्यो, त्यसको प्रमुख दोषी तत्कालीन शासकहरू हुन्, किनकि समस्या समाधानको साँचो माओवादीको हातमा थिएन, शासकहरूकै हातमा थियो।
२३. जनयुद्धमा जे–जति क्षति भयो, सबैभन्दा धेरै माओवादीलाई भयो, हजारौंको संख्यामा उनीहरू मारिए, हजारौंले जेलनेल भोगे, हजारौं अंगभंग भए, हजारौं बेपत्ता छन्। यसो हुनुमा तत्कालिन शासक र तिनीहरूका समर्थक जिम्मेवारी थिए। यथार्थमा भन्नुपर्दा अहिले जो–जसले जनयुद्धको विरोध गरिरहेका छन्, यो द्वन्द्वका खलनायकहरू तिनीहरू नै हुन्।
२४. समाज बदल्न विश्वभरिका जनताले प्रतिरोध गरेका छन्। त्यही प्रतिरोधका कारण विश्व आजको अवस्थामा छ। जनयुद्ध पनि जनताको न्यायपूर्ण प्रतिरोध थियो। यसको विपक्षमा जो–जो खडा भए तिनीहरू नै वास्तविक अर्थमा हिंसाका हिमायती हुन्।
२५. शहरका बंगलामा बसेर १७ हजारको हत्या भन्न जति सजिलो छ, जनयुद्ध गर्न र भोग्न त्यति सजिलो थिएन। जसले आफ्नो सम्पूर्ण जीवन नै परिवर्तनका निम्ति सुम्पिए, जसले परिवर्तनका लागि संघर्ष गर्दा ‘बाल–बाल’ले बाँचे, तिनीहरू गणतन्त्रका सेनानी हुन्।
२६. बिस्तृत शान्ति सम्झौतापछि युद्ध शान्तिमा अवतरण भएको छ। फेरि पनि कसैले विगत उछालेर परिस्थिति भड्काउन चाहन्छ भने त्यो शान्तिविरोधी हो, युद्धपिपासु हो।
२७. जनयुद्धले देशलाई गणतन्त्र दियो, वास्तविक लोकतन्त्र थियो, जनतालाई सामाजिक न्याय दियो। अनि, युवा पुस्तालाई भविष्य निर्माणको बलियो आधार दियो। त्यसैले, जनयुद्ध र यसको योगदानको जति प्रशंसा गरे पनि त्यो कम हुन जान्छ।