News Desk
-केशवराज आमोदी / चितवन
क) आमुख
सिद्धहस्त आख्यानकार गोकर्ण मल्लको जन्म वि सं. २०१३ साल पौष ३० गते म्याग्दे गा पं.-४, छाङ तनहुँमा भएको हो । वर्तमानमा उनी चितवनको रत्ननगर नगरपालिका-२,मा स्थायी बासिन्दा भई नेपाली भाषा र साहित्यको अध्ययन र साधनामा तल्लीन छन् । शहीद स्मृति क्याम्पस रत्ननगरमा क्याम्पस प्रमुखको जिम्मेबारी समाल्दै शिक्षणसेवाबाट अवकाश लिएका मल्लले बडो परिश्रमपूर्वक डिमाइ साइजको चारसय अठासी पृष्ठको आख्यानपरक सुन्दर कृति 'शुभारम्भका पाइलाहरू' ( उपन्यास २०७९ ) र 'सिउँडीका फूल' ( कवितासङ्ग्रह-२०८० ) प्रकाशनमा ल्याएका छन् । फुटकररूपमा कविता , मुक्तक , निबन्ध र संस्मरणहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । एकेकोटा मुक्तक सङ्ग्रह र उपन्यास प्रकाशोन्मुख कृतिहरू उदारदिलवाला प्रकाशकको प्रतीक्षामा छन् ।
२. नेपाली उपन्यासमा वादको प्रभाव र औचित्य :
पाश्चात्य साहित्यमा उपन्यासका लागि रोमान्टिसिज्म वा रोमान्टिक प्रवृत्ति नेपाली भाषामा वैयक्तिक अभिव्यञ्जना नै स्वच्छन्दतावादका रूपमा अध्ययन गरिने सन्दर्भ दोहोर्याइरहन परोइन । आदर्शवादमा निहित रूद्रराज पाण्डेको 'रूपमती' ( वि. सं. १९९१ ) बाट आधुनिक नेपाली उपन्यासको थालनी भएको हो । भुवनेश्वर कोइरालाको 'बिधवा जीवन' ( २०१३ ), अच्छा राई रसिकको 'लगन' (२०१२ ) , हृदयचन्द्रसिंह प्रधानको ' स्वास्नी मान्छे' २०११ ) , बी पी कोइरालाको 'सुम्निमा' ( २०२७ ), पारिजातको 'शिरीषको फूल' ( २०२२ ) आदि शिल्पगत नयाँ शैलीमा समाजमा व्याप्त विकृति विसङ्गति विडम्बना , विद्रूपता , अराजकता राजनीतिक स्खलनलाई उदङ्ग्याउँदै कतै अस्तित्वको खोजिगर्दै , कतै शून्यवादी दर्शनलाई खोतल्दै , कतै परम्परालाई भत्काउँदै र कतै सामाजिक यथार्थसहित सञ्चेतनायुक्त समाजसुधारतर्फ उन्मुखिदै विभिन्न वादका प्रवृत्तिगतरूपमा नेपाली उपन्यास अगाडि बढिरहेको देखिन्छ ।
३. शुभारम्भका पाइला'मा शीर्षकीय चयन :
समय र समाजसँगै समानान्तररूपमा केन्द्रित रहेर नै साहित्यकारले विचार प्रक्षेपण गर्दछ भने समालोचकले प्रक्षेपित भाषा , भाव र शैलीका दृष्टिबिन्दुका आधारमा स्वविवेकले तिनको उत्खनन गरी सहमति वा असहमतिद्वारा स्वाभिमत प्रकट गर्दछ ।
गोकर्ण मल्ल आफ्नै कुल , परम्परा , संस्कार , संस्कृति , कला , भाषा , भेष , खेतबारी , कान्लाकुन्ली ,भीरपाखो छाँगा-छहरा , उकाली-ओराली , भन्याङ-चौतारी र गाउँबेसीसँगै संरक्षित जन्तु-जनावरलाई असाध्यै माया गर्ने तथ्यलाई उजागर गर्दै तिनको विकास र प्रगतिमा नै राष्ट्रको समुचित समुन्नति हुने सङ्कल्पलाई साकाररूप दिनु नै उपन्यासको वैशिष्ट्य हो ।
समीक्ष्य आख्यानपरककृति आलोकित आयाममा आख्यानकारले बाह्यावरणमा बक्र-रेखीय यात्रासूचक पाइतालाहरूबाट जीवनको गतिमयता ,सङ्घर्ष र प्राप्तिलाई उजिल्याइएको छ । २२ महिनाको एकाग्र साधनाद्वारा त्रियासीवटा शीर्षकबाट आख्यान तयार पार्नु भगीरथ-प्रयास भन्दा कम आँकिनुहुन्न ।आख्यानका सान्दर्भिक शीर्षकहरू निम्नासार छन्-
"शुभारम्भ उन्मुख , चिया पसले बहिनीको निर्देश , खाली सिट सहयात्री र मेरो मन , सुमाला होमस्टेमा एडजस्ट हुँदा , जङ्गलमा के के गर्छन् ? त्यो त्यो हेर्ने नि !, बिरानो ठाउँतिर हराएर बिर्सिने पो होला कि ? , कृतिकाकी बटुवा अङ्कल हुँदा , खै लैनो हुन्छ कि म : म : !, त्यो सङ्घर्ष सम्झँदाखेरि , वन झाँक्री ठानेकोले लौरो दिएर झरें ,आकर्षण शक्तिअनुसार तान्ने तानिने भएबाट संसार चल्दो रहेछ , खेताले साथी , फुपूको बह , खै त मेरो स्वतन्त्रता ? , साथी पर्खिन्जेल , नभनुम् नभनुम् भन्दाभन्दै आज भन्नैपर्यो , मेरा दुईवटा आँखामध्ये एकले पूर्व,अर्कोले पश्चिम हेर्ने पो भएछन् , दुइटा डुङ्गामा खुट्टा राख्दा , काज फिर्ता भो बुबाको , हजुरको सवारीबाट म त छुटिइएँ नि त ! ,पराई पो भएछन् ती त कहिले ?,पुरै टुहुरा भयौं , तिम्रो आँखामा पीडा नदेखाउने प्रयास गरें , महलबाट डेराको बास , जागिर खोज्नेक्रमदेखि सुधार केन्द्रसम्म ,बाँच्नुपर्ने कारणै तिमीलाई बनाएँ , साथी , तिमीलाई उनको इच्छा कहिलेदेखि थाहा हुनथाल्यो ? , त्यसपछि अन्यत्र डेराको खोजीमा , नयाँ डेरामा सर्दा , सुधार केन्द्रमा जन्मदिन मनाउने क्रममा , टुल्कीको टिकोटालो , नयाँ परिचय बनाउन घुम्ती पसल चलाएँ , टुल्कीको बिदाइपछि बाटो पढ्न थाल्थें , तिमीले पुरस्कार ल्याएर दिंदा सबै दु:ख बिर्सन्थें , मलाई के भएको छ र ? , तिमीले माफी मागेरो मलाई राम्रो लाग्दैन , त्यो बालकको कुराले आमाको दु:ख बिर्साइदिने निश्चय गरें , ठूलो बुबा आउनुहुने कुराले आमाको आँखामा आँसु , तन्नेरी हुन कहिलेदेखि शुभारम्भ गर्छन् ? , हे प्रभु ! के गरूँ यो मान्छेलाई ? हाम्रोसामु साक्षात् देवता , ठुलो बुबाको मायाको गृह निर्माण , छिमेकी हजुरबुबाआमाको चौरासी पूजा , ठूली आमाको इच्छा गृह प्रवेशको पूजा , हलो जोत्न नजानेपछि , असारको ज्याला लि मङसिरसम्म बाँच्नै पर्ने भयो है !, तिम्रो पुतली तिम्रो प्रतिनिधि ठानेर , धन्यवादे तिमीले त ! , आफ्नो भनेको आफ्नै हुँदोरहेछ , एकपन्थ दुई काज , तँ मरेस् ! दिदी तिमीचाहिं बाँचेस् , तेरो ओच्छ्यानमा पल्टिनाले मेरो जलन शीतल भयो , पल्टिनै पाइनन् बिचरीले' शीर्षकले पनि कथानकताको सङ्केत दिएझैं लाग्दछ ।
यसैगरी थप- 'भेट हुने आशालाई बचाएर राख्ने छु , परिचय , त्यो पत्र पढेर हिड्यौं तामाकोशी चाँडो काट्न भनेर , हुरीबतास चलिरह्यो मेरो मनमा , नातिको न्वरानदेखि कान्छीको विवाहको सुरसारसम्म , आफ्नो गाउँ नै कब्जा भएपछि , नि:शब्द , जामुनु खाएर पड्के च्याउ बटुली स्याउला ओच्छ्याइन् , त्यसै भन्नुहुन्छ भने जान्छु त नि ! , च्याउमानेको कर्म , त्यस्ती सुन्तली मोरी बाटुली भेटेपछि उडी , मभित्रको म पनि मरिहाल्यो , अव्यक्त चाहना , तिम्रो खेताल्नी हुने मेरो काम सुरु हुँदैछ नि , मेरो गन्तव्यस्थल प्यारा भन्ज्याङ गाउँमा पुग्दा , भन्ज्याङ चौतारो छ अति प्यारो ! , भन्ज्याङ चौतारो रैछ प्यारो थलो , गाइड बनाएपछि भनेको मान्नुपर्छ नि ! , को भनेको त नाति पो !, खेताल्नी हुन्छु भनेकी उन त म्याडम पो भइन् , अर्थात् , सक्कियो नि ! , मंगलिकाको चाहना र उनलाई उपहार , हजुरबुबाको माया र आशीर्वाद पाएपछि आइतिका र चन्द्रिकासँग जम्का भेट , तिमी आयौ अब मलाई ढुक्क भयो , प्रतिवेदन पठाउने काम , शुभारम्भ तर्फ , शुभारम्भ' र उपसंहारअन्तर्गत 'मेरा आद्यन्तका कुरा' समेत गरी कृति तयार पारिएको छ ।
४. शुभारम्भको पाइलामा वस्तुविन्यासको निर्मिति :
डा. राजकुमार मल्लको प्रकाशकीय रहेको यस आख्यानमा प्रमुख पात्र-पात्राहरूमा शुभा र आरम्भ रहे पनि मंगलिका , आइतिका , क्याप्टेन ठूलोहजुरबा-ठूलीहजुरआमा , फुपू , हर्के काका , च्याउमाने ,मीत-दाइ , टुल्की आन्टी , बाटुली आदिको भूमिका कम महत्वपूर्ण रहेको छैन । ससाना उपकथाहरूको मिश्रणले आख्यानलाई रोचक र मर्मस्पर्शी बनाएको छ भने घुमाउरो हाँसो-ठट्टा र सार्दर्भिक उखान-टुक्काले पनि औपन्यासिकतालाई मनोरमणीय पाराले चुल्याइएको छ ।
५. शुभारम्भको पाइला'का केही अनुकरणीय सन्दर्भहरू :
लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन अर्पेका मल्लले आम सुदूर पहाडी जिल्लाहरूको पछौटेपन , अभाव र गरिबीको प्रतिनिधि-बिम्बकारूपमा प्यारा भन्ज्याङमा दृष्टिगोचरीभूत शिक्षा , स्वास्थ्य , यातायात , कृषि , विद्युत् जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहन विवश र भौतिकरूपबाट अत्यन्त पिछडिएको सुनसान मध्यपहाडी गाउँ प्यारा भन्ज्याङलाईसमेत लक्षित गरी जनयुद्धमा होमिएका माओवादीले कब्जामा लिई पाठशाला , मन्दिर र गुम्बाहरूसमेत तहसनहस बनाइनु , जग्गा-जमिन बाँझै रहनु , युवा-युवतीहरू गाउँ छाडेर सहर पस्नुपर्ने स्थिति आउनु र कोही वैदेशिक रोजगारतिर धाउनुपर्दा कतिपय घरमा ताला बन्द हुनुले पनि गाउँ सुनसानजस्तो देखिन्छ । पुरुषभन्दा नारी पात्रको आधिक्यता रहनुमा लेखकको सहानुभूतिभन्दा पनि वर्तमानको यथार्थ परिलक्षित भएको छ ।
देशका आम गाउँहरूको यही दयनीय अवस्था छ । यसो हुनुमा देशको राजनीतिक अवस्था नै दिशाहीन र अकर्मण्य रहनु पनि हो र यिनैकारणले गर्दा देशका निम्ति केही नगरी हुँदैन भनी दूरदृष्टि राखेर बेलायततिर काम गरिरहेकाहरूमा मातृभूमिप्रतिको माया र ममता उम्लिएर आएकोले प्यारा भन्ज्याङलाई पुन: गुल्जार गरी बसूँबसूँ बनाउनका लागि के कति भौतिक क्षति भएको छ र विकासका निम्ति के कस्ता विकासका कदम चालिन आवश्यक छ ? भन्ने प्रतिवेदन तयार पार्नकै निम्ति आरम्भ रत्ननगरदेखि धेरैदिन लगाएर बास बसेका ठाउँमा बिनाज्यालामा खेतालाको काम गर्दै प्यारा भन्याङ पुगी राम्रो स्थलगत विवरणद्वारा तदनुरूप कार्यसम्पन्न भई शुभा र आरम्भको विवाहसँगै रमाइलो वातावरणमा आख्यान समाप्त भएको छ
उपन्यासमा भाषा भाव र शैलीको सुकोमल प्रवाह वाञ्छनीय हुन्छ । सरस भाषा , सुललित भाव , परिवेश र परिस्थितिअनुकूलको संवाद एवम् प्रकरणमुताबिकको शैली उपन्यासका अपरिहार्य गहना हुन् ।
विचारहरूको आभूषण हो । सटीक निपातको प्रयोगले वाक्यांशहरू आकर्षक र मोहनीदार त बन्दछन् । शब्दहरूको पुनरावृत्तिले पाठक वा स्रोताहरूलाई झिंजो लाग्ने कथ्याबाट आख्यानकार सचेत रहेकाले कृति सुन्दर बनेको छ ।
एउटा सुन्दर आख्यानभित्र आफ्नै संस्कार र संस्कृतिमा भुल्दै चुनौती र सङ्घर्षले झेलिएका सुख-दु:ख , संयोग-वियोग , घात-प्रतिघात , हिंसा र आतङ्कको बुहार्तन , भय र त्रासले मिचिएका र थिचिएका , वेदना र अभावमा अल्झिएका सानासाना आख्यानहरूमा कयौ जीवनका घाउ , चोट र खाटाहरू पनि यहाँ थपिंदै र हराउँदै जान्छन् ।
आख्यानमा प्यारा भन्ज्याङ्मा भत्काइएका मन्दिर र गुम्बाहरूको निर्माण र नियमित पूजाआजाको व्यवस्थापनले हिन्दुत्व , धर्म , कर्म , नैतिकता , सभ्यता , संस्कृति र कलाप्रतिको भावनालाई मुखरित गरी आदर्शवाद , अस्तित्ववाद , अस्मितावाद , यथार्थवाद र प्रगतिवादको बिम्ब उतारिएको छ । वास्तविकझैं लाग्ने पात्रहरूद्वारा आख्यानलाई जीवन्त बनाइएको छ ।
६, उपसंहारमा 'शुभारम्भका पाइला' :
प्रविधिगतत्रुटिका साथै भाषामा कतैकतै वचन ,पुरुष , काल र लिङ्गजन्य सङ्गति चिप्लिन गए तापनि प्रवाहमय कथानकताले ती त्यसै बिलाएर गएका छन् । यो उपन्यास जति विशाल कलेवरमा छ उति नै सुख , दुख , अभाव , हिंसा , त्रास र सङ्घर्ष , अनुसन्धान र प्राप्तिले जिज्ञासा जगाइरहने कुतूहलतापूर्ण घटनाक्रम यौनिक अप्रत्यक्ष संवाद र युद्धस्तरमा सम्पन्न गाउँको नवीन भौतिक निर्माणले अनुकरणीय , अविस्मरणीय र मनोरञ्जनपूर्ण बनाएको छ ।
प्यारा भन्ज्याङतुल्य क्षतविक्षत र उजाड गाउँबस्तीहरूलाई पुन: गुल्जार बनाउनुपर्छ भनिने चेतनामूलक सन्देशमा केन्द्रित रहेकोले पनि यो उपन्यास सर्वथा पठनीय , सङ्ग्रहणीय र प्रशंसनीय बनेको छ । यति गहकिलो र सुन्दर उपन्यास लेख्ने गोकर्ण मल्ललाई भूरिभूरि प्रशंसा गर्दै लेखनी यही थाम्दछु ।