News Desk
आजको युग सूचना, सञ्चार र प्रविधिको युग हो । केही दशकअघि कल्पना पनि गर्न नसकिने कुरा आज मोबाइलको सानो पर्दामा हेर्न, लेख्न र संसारभर पुर्याउन सकिन्छ । यसलाई सम्भव बनाउने माध्यम नै सामाजिक सञ्जाल (social Media) हो । फेसबुक, मेसेंजर, ट्विटर (हाल ‘एक्स’), इन्स्टाग्राम, टिकटक जस्ता प्लेटफर्महरूले सम्पर्क, सूचना आदानप्रदान, विचार अभिव्यक्ति, मनोरञ्जन र व्यवसायसम्मका क्षेत्रमा सहजता ल्याएका छन । तर, यो सहजताको बीचमा जोखिमको ठूलो छायाँ पनि देखिन थालिएको छ ।
सामाजिक सञ्जालको मुख्य उद्देश्य मानिसबीच सम्पर्क र जानकारीको आदानप्रदान सहज बनाउनु हो । यसले दूरदराजका मानिसहरूलाई पनि नजिक ल्याइदिएको छ । विदेशमा रहेका आफन्तसँग तस्बिर, भिडियो र सन्देश साटासाट गर्न केही सेकेन्ड मात्र लाग्छ । शिक्षण, व्यवसाय, प्रचारप्रसार र जनचेतनामा यसको भूमिका अत्यन्तै महत्त्वपूर्ण बनिरहेको छ । विद्यार्थीहरूका लागि अध्ययन सामग्री पाउन, पत्रकारका लागि समाचार फैलाउन र व्यवसायीका लागि उत्पादनको प्रचार गर्न सामाजिक सञ्जाल उपयोगी माध्यम बनेको छ । यो आधुनिक युगको ँडिजिटल बजारँ पनि हो जहाँ हरेक विचार, सूचना र सिर्जना तुरुन्तै विश्वभर फैलिन्छ।
तर, जहाँ सुविधा हुन्छ त्यहाँ जोखिम पनि हुन्छ । यही सञ्जालको दुरुपयोगले व्यक्ति, समाज र राष्ट्रसम्मलाई पनि नकारात्मक असर पुर्याउन सक्ने अवस्था सिर्जना भएको छ । मानिसहरू भावनाको भरमा, आवेशमा वा एक क्षणको रिसमा केही लेख्छन्, जुन पछि ठूलो विवादको कारण बन्न सक्छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको कुरा एकपटक सार्वजनिक भएपछि त्यसलाई मेटे पनि, अन्य व्यक्तिले त्यसको स्क्रिनसट वा रेकर्ड सुरक्षित राखिसकेको हुन सक्छ । त्यसैले कुनै पनि कुरा पोष्ट गर्नु अघि सोच्नु, मूल्याङ्कन गर्नु र त्यसको सम्भावित परिणाम बुझ्नु आवश्यक हुन्छ ।
हालैको एउटा अन्तर्राष्ट्रिय उदाहरणले यस विषयलाई झन गम्भीर बनाएको छ । भेनेजुएलाकी मानव अधिकारवादी नेतृ तथा नोबेल पुरस्कार विजेता मारिया कोरिनो माचाडोले मध्यपूर्वको गाजा युद्धसम्बन्धी एउटा टिप्पणी गरेकी थीन्, जसका कारण उनी विश्वव्यापी विवादमा परिन । उनको टिप्पणीलाई राजनीतिक र मानवीय दृष्टिले गलत अर्थ्याइयो, जसले गर्दा उनको प्रतिष्ठा मात्र होइन, नोबेल पुरस्कारसम्म गुम्ने स्थिति आयो । यस घटनाले स्पष्ट सन्देश दिन्छ - सामाजिक सञ्जालमा गरिएको हरेक अभिव्यक्तिले गहिरो प्रभाव पार्न सक्छ ।
हाम्रो देशमा पनि यस्ता उदाहरणहरू प्रशस्त छन । चर्चित कलाकार, खेलाडी, नेतादेखि सामान्य प्रयोगकर्तासम्म सामाजिक सञ्जालमा भावनात्मक वा हतारको अभिव्यक्तिका कारण विवादमा आउने गरेका छन । हालै काठमाडौं महानगरका प्रमुख बालेन शाहको एउटा फेसबुक पोस्टले पनि व्यापक विवाद निम्त्यायो । बालेन जस्ता व्यक्तित्वका लागि यस्तो विवाद नयाँ कुरा होइन, तर यसले देखाउँछ कि जिम्मेवार व्यक्तिले बोलेको वा लेखेको हरेक शब्दको तौल हुन्छ । जनप्रतिनिधि वा सार्वजनिक व्यक्तित्वले लेखेको हरेक कुरा जनमानसमा सन्देश पुर्याउँछ, त्यसैले संयम र विवेक आवश्यक छ ।
सामाजिक सञ्जालको अर्को जोखिम हो - भ्रामक सूचना र हल्ला। कतिपय व्यक्तिहरूले बिना पुष्टि समाचार, तस्वीर वा भिडियो शेयर गर्छन्, जसले समाजमा द्वन्द्व, घृणा र भ्रम फैलाउँछ । केही अवस्थामा त यस्ता गलत सूचनाले साम्प्रदायिक तनाव वा हिंसासम्म निम्त्याएको पाइन्छ । त्यसैले प्रत्येक प्रयोगकर्ताले ँडिजिटल नागरिकँको जिम्मेवारी निभाउनुपर्छ — कुनै कुरा सत्य हो वा होइन भन्ने पुष्टि नगरी सार्वजनिक नगर्ने ।
यसबाहेक, सामाजिक सञ्जालले मानिसको मानसिक स्वास्थ्यमा पनि असर पार्न थालेको छ । निरन्तर तुलना, लाइक र कमेन्टको दबाब, र नकारात्मक प्रतिक्रियाले तनाव, आत्मग्लानि र डिप्रेसनसम्म ल्याउने अनुसन्धानहरूले देखाएका छन । सामाजिक सञ्जालले आत्मअभिव्यक्तिको स्वतन्त्रता दिएको छ, तर त्यसको सीमाना पनि बुझ्नुपर्छ । स्वतन्त्रता जिम्मेवारीसहित आउँछ भन्ने कुरा हरेक प्रयोगकर्ताले मनन गर्न आवश्यक छ ।
यसकारण, सामाजिक सञ्जाल सुविधा पनि हो, जोखिम पनि । यो कसरी प्रयोग गर्छौँ भन्नेमा निर्भर गर्छ कि यसले हाम्रो जीवनलाई सजिलो बनाउँछ वा जटिल । सोचेर लेख्ने, संयमित अभिव्यक्ति दिने, र अरूको सम्मान गर्ने बानीले मात्र सामाजिक सञ्जाललाई सकारात्मक शक्ति बनाउन सकिन्छ । हामीले यसको उपयोग जनचेतना फैलाउन, सहकार्य बढाउन र सृजनात्मक कामका लागि गर्नुपर्छ, न कि विवाद, घृणा र बदनामका लागि ।
अन्ततः, सामाजिक सञ्जाल हाम्रो समाजको दर्पण हो — हामी जसरी व्यवहार गर्छौं, त्यही प्रतिविम्ब फर्किन्छ । त्यसैले विवेकपूर्ण प्रयोग गरौँ, संवेदनशील विषयमा संवेदनशील बनौँ, र सभ्य डिजिटल नागरिकका रूपमा आफ्नो पहिचान सुरक्षित राखौँ । सञ्जालको मर्यादा र आफ्नो इज्जत प्रतिष्ठा जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो।