News Desk
- मुकुन्द पौडेल
मंसीर महिना भन्ने बित्तिकै हामी धान काट्ने र थन्क्याउने महिना भनेर बुझ्दछौँ। असारमा रोपेको धान मंसीरमा थन्क्याएर वर्षदिनको जोहो गर्दछौँ। नेपालमा उत्पादन हुने अन्नबाली भध्ये यो प्रमुख अन्नबाली पनि हो।यो संग हाम्रो पेटको मात्र सम्बन्ध नभई अमुल्य संस्कृति र परम्परा पनि जोडिएको छ। धान असारमा रोप्दा देखि मंसिरमा थन्क्याउने बेला सम्मले फरक प्रकारका खुसी र अनुभूति दिन्छ। नेपालको सबै भागमा हुने महत्वपूर्ण अन्नबाली हो धान । के हिमाल के पहाड के तराई सबै भागमा धानखेती हुन्छ। यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको । ठाउँ अनुसार धानका जाती र प्रकारका फरक उत्पादन हुनु, बिभिन्न प्रजातिका धानको स्वाद फरक फरक हुनु अर्को विशेषता हो। आज मंसीर एकले सम्झाएको छ यस महिनामा धान खेतीले दिने खुसी र ती रमाईला पललाई। फाँटभरी पँहेलै पाकेका धान कतै काट्ने काम कतै थन्क्याउने चटारो। हेर्दै कति रमाईलो र आनन्द। लाग्छ विद्यार्थीले वर्ष भरी पढेर राम्रो नतिजा पाउँदाको जस्तो खुसी कृषकमा पनि।
धान फेरि सजिलै त भकारी सम्म त्यसै कहाँ पुग्छ र यसले धेरै चरण पार गर्नु पर्दछ । यसका हरेक चरणका आफ्नै किसिमको खुसी र आनन्द र रमाईला पक्ष छन।
असारमा रोपेपछि केही महिना त कुर्नै पर्छ यो समय आउनलाई पनि । तर जब मंसीर लाग्छ तब शुरु हुन्छ महत्वपूर्ण काम । धानकाट्नु, काटेको धानका पाँजालाई निहिन बनाएर सुकाउनु, सुकेपछि एक दुई दिनमा मुठापार्नु,त्यसपछि बनबाट लहरा ल्याएर बिटाबाँधी खल सम्म ओसार्नु, कुनियो लगाउनु,यस पछि धान झाट्नु नाङ्गलाले धुलो बत्ताएर धानको रासलाई खरानीको रेखी लगाएर सहवासका लागि धान देवता प्रति कृतज्ञता जनाउनु र थैला थैलामा बोकेर घर सम्म पु-यार भकारीमा राख्नु। यसो गर्नुमा कति गज्जबको सुखानुभूति प्राप्त छ त्यहाँ। जसबाट सबै परिवार खुसी मन ढुक्क वर्ष दिनको लागि सबै भान्छामा चुलो बल्ने भो मन रमाउने भो। जब भकारीमा धान थन्क्याउने काम सम्पन्न हुन्छ तब नयाँ अन्न भएकोले यसलाई शुभदिन हेरेर होम पूजा गरेर नई खाएपछि मात्र नयाँ चामलबाट भात पकाएर खाने सुखद परम्परा छ।
धान थन्क्याए पछि परालको थान्को उस्तै रमाईलो। खासगरी केटाकेटीका लागि। दाईको परालमा लडिबुडी खेल्नु लुक्नु छक्याउनुको पनि त मज्जाबेग्लै छ नि। धान थन्क्याए पछिको पराललाई दस बारवटा गोरु नारेर दाईहाल्नु। दाईबरादो गीतकाे मिठो भाकामा गाउनु कति मिठो संस्कृति।
हेर कति जाती
यिनी हाम्रा साथी
हिँड्छन पराल माथि
गोरु झाले माले
पराल दाउन थाले
दाई बरादो, हो हो ह ह
पहाडी भागमा त अर्को रमाईलो दृश्य देख्न पाईने झन। बेशीमा धान कुर्न खलमा रहेको कुनियोको छेउमा परालको कुरिया बनाएर परालै ओछ्याउने परालै ओढ्ने गरिन्थ्यो । खलको यौटा छेउमा दाउराका मुढा बालिनथ्यो। जस्ले जाडो हुँदा हात सेकाउन पाउनुको साथै खलो कुर्न मानिस बसेको संकेत पनि दिन्थ्यो यसले। यसरी बिहान दाई गरिसकेपछि बेशीबाट लस्करै धान पराल बोक्नेको लर्को उकालो लाग्थ्यो ।अहिले पनि आँखै अगाडी भए जस्तो लाग्छ त्यो दृश्य फेरि। उकालीमा भारी बोक्दाको दुख सम्झने कस्लाई फुर्सद छ र त्यस समयमा । ठाउँ ठाउँमा चौतारीमा भारी बिसाउँदै घर आँगनमा पु-याउँदाको खुसीले यसै थकाइमर्ने। दाईको खेतालाका लागि खाने व्यवस्था त्यस्तै हुन्थ्यो। केराका पातमा तात तातो भात भातको चुली माथि लहीनो भैंसीको घिउ झ्वार्र पारेर हालिदिने गाईभैँसीको मलमा उमारिएको ठूला ठुला पात भएको रायोको सागलाई घिउमा परर खुर्सानी पट्काएर ओल्साईउल्साई गरेको अर्धपाक साग पनि कति मिठो। घरको दुध दही दिउसोको लागि खेतालालाई लचप्पै घिउ राखेर बनाएको पुवा रोटी काचो मेवाबाट बनाईएको अचार के भुल्न सकिन्छ र। यसरी दाईपछि पराललाई टौवामा राखेर वर्ष दिनलाई गाई भैंसीलाई पनि खुवाउन पाउने हुँदा तिनै पशु पनि रमाउने। आहा ! क्या रमाईला दिन। आजका र भावि पुस्ताले त्यो खुसी देख्न र भोग्न के पाउलान र। यहाँनेर यौटा कुराले भने मन चिसो हुन्छ। किनकी हाम्रो जस्तो कृषि प्रधान देश जस्ले केही वर्ष अघिसम्म बिदेशमा धान चामल लगायतका अन्न एवं खाद्यान्न निर्यात गर्ने गरेकोमा आज हाम्रा भान्छामा विदेशबाट आयात गरिएको चामल लगायत खाद्य बस्तु पाक्ने गरेको छ। यो दुखद अवस्था प्रति सरकार र सरोकारवाला सबै निकाय गम्भीर हुन बान्छनिय छ। आज मंसीर एकले एकाबिहानै सम्झाएको त्यो विगत।यो परिदृश्य त्यो दृश्य आँखा अघि घुमिरहेको भान भएको छ।अब पनि त्यस्ता तती विगतका दिन फेरि देख्न पाए कस्तो हुन्थ्यो होला।
जय धान जय किसान ।