News Desk
गोरखा ताकुकोट र लाकुरीबोट क्षेत्रका दुई कटुवाल गाउँको इतिहासका जीवित प्रमाण हुन डाल बहादुर सुर्खेती र मन बहादुर दर्जी । बारपाक सुलिकोट वडा नं. ५ र ६ (क्रमशः) का ती दुुईले बिताएका ४५ वर्ष गाउँले जीवनका असंख्य भोलिहरू बोकेको यात्राको दस्तावेज हो। किनकी आधुनिक ज्ञ्ाजेट र डिजिटल सूचनाको युग आउनुभन्दा धेरै पहिले, जब गाउँमा रेडियो पनि विरलै हुन्थ्यो, ती दुई कटुवालका स्वर नै सूचना आदानप्रदानको एकमात्र स्रोत थिए।
बुवाको पुस्तादेखि चल्दै आएको कटुवाल प्रथा उनीहरूको जीवनमा मात्र पेशा होइन, दायित्व र उत्तराधिकार थियो। बादल चुमिएको बिहान होस्, मुसलधारे झरी परेको रात होस्, गाउँमा दुःख - सुख, भोज - भतेर, बैठक मन्त्रणा, सरकारी सूचना - सबैभन्दा पहिले ती आवाजले नै जन - जनमा पुर्याउँथ्यो। पहाडको डाँडामाथि उभिएर, न माइक, न मोबाइल; उनीहरूको आवाज नै सूचना - सेतु थियो, जसले गाउँ जोड्थ्यो, चलाउँथ्यो, सम्हाल्थ्यो।
माईभगवती मन्दिरमा घटस्थापनादेखि दशैंको पूजासम्म, कार्तिके पूजादेखि गाउँका कर्तव्यसूचना सबैको सुरुआत उनीहरूको ँबारनाँ भन्ने आवाजबाटै हुन्थ्यो। कुटो - कोदालो नचलाउने दिन घोषणा गर्नेदेखि रातारात परेका आकस्मिक घटनाको खबर पुर्याउनुपर्ने दायित्वसम्म, उनीहरूको घनघनती स्वर गाउँ बासीका कानमा वर्षौं गुन्जिरह्यो।
२०५६ सालमा तिनै कटुवालहरूको साहसिक यात्राको एउटा कोरिएको अध्याय थियो। ताकुकोट प्रहरी चौकीमा माओवादी आक्रमणपछि, रातभरको आतंकअघि भोलिपल्ट बिहानै उनीहरू अर्को गाउँ दुई घन्टा पैदल हिँडे । जौबारी प्रहरी चौकीमा खबर पुर्याएपछि मात्र घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर आएको थियो। त्यो दिन उनीहरूको आवाजले केवल सूचना दिएन, ज्यान बचाएको थियो।
आज गाउँ-गाउँमा सबको हातमा मोबाइल छ। सूचना सेकेन्डमै फैलिन्छ। तर गाउँका बासिन्दाको भनाइ छ “गाउँले चलाएको आवाज भनेकै कटुवालकै आवाज हो।” किनकि डिजिटल सूचना त नयाँ हुन सक्छ, तर भरपर्दो, समयमै, सबैका बीच पुग्ने विश्वसनीयता अझै पनि उनीहरूको पैतालामा छ।
समय बदलिएको छ, तर उहाँहरूको आवाज उस्तै अमर छ। तर यो तेज गतिका पुस्ताले कतै उनीहरूको योगदान बिर्सने त होइन? त्यो चिन्ता गाउँमा पनि छ, उहाँहरूमा पनि। तर यथार्थ के हो भने यस्तै आवाजमा ताकुकोटको इतिहास धड्किरहेको छ।
यी दुई कटुवाल केवल व्यक्तिहरू होइननुनीहरू संस्कृतिको भण्डार, परम्पराको संरक्षक, र गाउँको पहिचानका जीवित सम्पदा हुन। ४५ वर्षे सेवा, बुवादेखि छोरासम्म आएको निरन्तरता, र गाविसदेखि वडा बनेको प्रशासनिक संरचनासँगै उनीहरूको भूमिका अझै जीवित छ।
