News Desk
तनहुँ— नेपाली लोकसंस्कृतिको अभिन्न अंग बालन पौराणिक र धार्मिक कथाहरूलाई अभिव्यक्त गर्ने लोक नाटक हो। अभिनय, संवाद, र लयात्मक शैलीका कारण यसले नेपाली संस्कृतिमा विशेष स्थान राख्छ। बालकहरूले गाएर, नाचेर, र अभिनय गरेर प्रस्तुत गर्ने भएकाले यसलाई 'बालन' नाम दिइएको मानिन्छ। भजन-कीर्तनको परम्परा लामो समयदेखि चल्दै आए पनि आधुनिक जीवनशैलीको प्रभावले गर्दा बालन लोपोन्मुख बन्न पुगेको देखिन्छ। साँगे क्षेत्रमा बालनको प्रचलन पहिले सीमित मात्रामा रहेको पाइन्छ। बाह्रबिसे, अम्रेनी, र काफ्लेफाँटबाहेक अन्य स्थानहरूमा यसको अभ्यास भएको देखिँदैनथ्यो।
यस क्षेत्रमा बालन अन्तिम पटक कहिले प्रस्तुत गरिएको थियो भन्ने विषयमा अनुसन्धान गर्दा वि.सं. २०४२ मा रामहरि न्यौपानेको छोराको व्रतबन्धको अवसरमा लाख बत्ती बाल्ने दिन बालन प्रदर्शन गरिएको जानकारी प्राप्त भएको छ। साँगे दर्पण प्रकाशन समितिका सदस्य बालवती शर्मा पण्डितका अनुसार त्यसपछि लामो समयसम्म बालनको प्रस्तुति भएको थिएन।
वि.सं. २०८० फागुन २८ गते साँगे दर्पण प्रकाशन समितिको टोलीले बालनको पुनर्जागरणका लागि छलफल गरेको थियो। बाह्रबिसेका सुन्दरमान श्रेष्ठसँग लाखे नाचबारे जानकारी लिने क्रममा उनले साँगे क्षेत्रका स्थानीयहरूलाई आफ्नै संस्कृति बचाउने विषयमा सोच्न सुझाव दिएका थिए। श्रेष्ठको भनाइले प्रकाशन समितिका संयोजक सुरेन्द्र वाग्ले, पूर्व एसएसपी हरिराज वाग्ले, सदस्य बालवती शर्मा पण्डित, र साँगे-काठमाडौँ सम्पर्क समाजकी उपाध्यक्ष रञ्जना पोखरेललाई बालन पुनर्जागरण गर्ने प्रेरणा मिलेको थियो।
बालन बारे थप अनुसन्धान गर्ने क्रममा काठमाडौँमा बसोबास गर्दै आएका गुँदी फच्याङ्गका राजु पन्थले बालन सम्बन्धी केही महत्त्वपूर्ण दस्तावेज सुरेन्द्र वाग्लेलाई उपलब्ध गराएका थिए। यसै सन्दर्भमा, साँगे अम्रेनी निवासी स्व. आनन्द भण्डारीका छोराहरू चिरञ्जिवी भण्डारी, घनश्याम भण्डारी, बेणीमाधव भण्डारी, वासुदेव भण्डारी, सूर्यभक्त भण्डारी, र रामभक्त भण्डारीको संयुक्त आयोजनामा फागुन २३ गते बालन कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा प्रमुख गुरु चन्द्रकान्त भण्डारी (अम्रेनी) थिए भने अन्य कलाकारहरूमा विष्णुहरी पण्डित (अम्रेनी), मनहरी काफ्ले (काफ्लेफाँट), बामदेव पण्डित (चारघरे), रामराज काफ्ले (काफ्लेफाँट), सुरेन्द्र पण्डित (पण्डित कुना), रामचन्द्र भुषाल (पण्डित कुना), क्षेत्रपाल सूर्यकान्त काफ्ले (काफ्लेफाँट), उग्रसेन चन्द्रमणी ओझा (नेपालटार), पण्डित तेज प्रसाद लामिछाने (हाल कन्टार), र घरभेटी पञ्चमाया लामिछाने (हाल कन्टार) सहभागी रहेका थिए।
४० वर्षपछि यस ठाउँमा बालनको पुनर्जागरण गर्ने क्रममा साँगे सभ्यता संरक्षण अभियानका संयोजक सुरेन्द्र वाग्लेको उत्प्रेरणाले नै यो कार्यक्रम पुनर्जागरणको अभियान सञ्चालन गरिएको तेज लामिछाने, चन्द्रकान्त भण्डारी र दामोदर भण्डारीले बताएका थिए। बालन जस्तो महत्त्वपूर्ण सांस्कृतिक सम्पदा बचाइराख्न यस प्रकारका प्रयास निरन्तर गरिनु आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरूको भनाई छ ।