छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइँदै
News Desk
Oct-27 तारिख 06:19 बिहान

नेपालमा आज कार्तिक शुक्ल षष्ठी, अर्थात छठ पर्वको मुख्य दिन धूमधामका साथ मनाइँदैछ। बिहान स्नान गरी दिनभर निर्जल व्रत बस्ने व्रतालुहरू आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेवको आराधनामा तल्लीन हुनेछन। चार दिनसम्म चल्ने यो पर्व शनिबारदेखि सुरू भएको हो।

छठ पर्व सूर्यदेव र षष्ठी माताको पूजा–आराधना गर्ने पवित्र चाडका रूपमा परिचित छ। धार्मिक ग्रन्थ महाभारत अनुसार, अज्ञातवासका समयमा पाँच पाण्डव र द्रौपदीले सूर्यदेवको आराधना गरी सफलताको कामना गरेका थिए। सोही प्रसंगबाट यो पर्वको प्रारम्भ भएको विश्वास गरिन्छ। त्यस्तै सूर्य पुराणमा पनि अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेर अटल सौभाज्ञ र पतिप्रेम प्राप्त गरेको उल्लेख पाइन्छ। त्यसैले यो पर्वलाई सौभाज्ञ्, सन्तान र समृद्धिको प्रतीक मानिन्छ।

सूर्य मानव जीवनको मूल आधार मानिन्छ। बिना सूर्य, जीवजन्तु, वनस्पति वा पृथ्वीमा कुनै पनि प्राणीको अस्तित्व असम्भव छ। सूर्यका किरणले शरीरका रोगहरू निवारण गर्ने क्षमता राख्छन भन्ने वैदिक मत छ। साम्ब पुराणमा भगवान श्रीकृष्णका पुत्र साम्बले सूर्य आराधनाबाट कुष्ठरोगबाट मुक्ति पाएको कथासमेत उल्लेख पाइन्छ।

जनविश्वास अनुसार छठ पर्वमा व्रत गरे दुःख, दरिद्रता र रोगव्याधिबाट मुक्ति मिल्छ। व्रतालुहरूले अर्घ्य दिने बेला फलफूल, ठकुवा, थेकुवा, नरिवल र सखरजस्ता चोखो सामग्री अर्पण गर्छन। यसले सूर्यदेव प्रसन्न भई परिवारको कल्याण र सन्तानको दीर्घ आयु प्रदान गर्ने विश्वास गरिन्छ।

चार दिनसम्म चल्ने यो पर्व चतुर्थीदेखि सप्तमीसम्म विधिपूर्वक मनाइन्छ। पहिलो दिन व्रतालुले स्नान गरी एक छाक मात्र खाने (नहाय–खाय) गर्छन। दोस्रो दिन पञ्चमीका दिन ँखरनाँ गरिन्छ—चोखो खीर चढाएर प्रसादका रूपमा ग्रहण गरिन्छ। तेस्रो दिन षष्ठीका दिन सबभन्दा कठिन निराहार व्रत बसिन्छ र बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दीन्छ। अन्तिम दिन सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ।

छठ पर्व पहिले सीमित रूपमा तराई क्षेत्रमा मात्र मनाइन्थ्यो, तर पछिल्ला वर्षहरूमा यसले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। विसं २०४६ पछि सरकारले यस अवसरमा सार्वजनिक बिदा दिन थालेको हो। अहिले देशका पहाडी र शहरी क्षेत्रमा पनि छठको माहोल बराबर देखिन्छ।

राजधानीमा गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, बागमती, नक्खु र विष्णुमती नदी किनारहरूमा छठ व्रतालुहरूका लागि विशेष सजावट र सुरक्षा व्यवस्था गरिएको छ। व्रतालुहरू चोखो भोजन, सात्विक आहार र शुद्धता अपनाएर व्रत बस्छन। कतिपयले त कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याजजस्ता तामसी पदार्थ त्याग गरी सात्विक जीवनशैली पालना गर्न थाल्छन।

आज साँझ सूर्य अस्ताउने बेला लाखौँ व्रतालुहरू अर्घ्य अर्पण गर्न जलाशयहरूमा पुग्नेछन भने भोलि बिहान उदाउँदो सूर्यको आराधनासँगै छठ पर्वको समापन हुनेछ। यो पर्वले शुद्धता, आत्मसंयम, पारिवारिक एकता र श्रद्धाको भाव उजागर गर्ने भएकाले छठलाई नेपालको धार्मिक तथा सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि मानिन्छ।