पशुपतिनाथ परिसरमा पितृका नाममा दीपदान गर्ने विशेष अवसर आज
News Desk
Nov-18 , 2025 तारिख 07:06 बिहान

पशुपतिनाथ परिसरमा पितृका नाममा दीपदान गर्ने विशेष अवसर आज पनि श्रद्धालुहरूले धार्मिक भावनासहित मनाइरहेका छन्। सामान्यतया मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ बत्ती बाल्ने परम्परा रहे पनि, यस वर्ष तिथि परिवर्तनका कारण चतुर्दशी लागेपछि मंगलबार बेलुकी नै दीपदान गर्न व्यवस्था मिलाइएको छ।

पञ्चाङ्गका अनुसार सोमबार पूरै त्रयोदशी तिथि रहेकाले मंगलबार बिहानसम्म थोरै मात्र त्रयोदशी बाँकी थियो। बुधबार बिहान केही घडी मात्रै चतुर्दशी रहने भएपछि पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मंगलबार साँझ नै बत्ती बाल्नुपर्ने र बुधबार बिहान शतबीज छर्ने निर्देश गरिएको बताए। उनका अनुसार चतुर्दशीको बिहान शतबीज छर्ने विधि भएकाले तिथि मिलाएर दुवै कर्म सम्पन्न गर्न व्यवस्था गरिएको हो।

यस अवसरमा श्रद्धालुहरू पशुपतिनाथ मन्दिर वरपरका घाट, शिवालय र खुला स्थानहरूमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने गर्छन्। त्यसपछिको दिन अर्थात् चतुर्दशीको बिहान बागमतीमा स्नान गरी पशुपति क्षेत्रका १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, गुह्येश्वरी, किराँतेश्वर लगायतका स्थलमा शतबीज छर्ने परम्परा छ। यस्तो दीपदान र शतबीजरोपण गर्दा पितृले सद्गति प्राप्त गर्छन् भन्ने विश्वास रहिआएको छ।

माता–पिता दिवंगत भएको एक वर्ष नपुगेका व्यक्तिले दीपदान र शतबीजरोपण नगर्ने धार्मिक मान्यता छ। सामान्यतया तीन वर्षसम्म निरन्तर यो कर्म गर्ने चलन छ l पहिलो वर्ष दियोमा, दोस्रो वर्ष मानामा, र तेस्रो वर्ष महादीप बालेर विधि सम्पन्न गरिन्छ।

पहिले काठमाडौं उपत्यकाको आसपासका जिल्ला चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, काभ्रे आदि क्षेत्रबाट श्रद्धालुहरू पशुपतिमा आउँथे। अहिले भने देशभरका धार्मिकहरू पशुपतिनाथमा आएर दीपदान र शतबीज रोपण गर्ने गरेका छन्। यद्यपि आफ्नो घर–परिवार नजिकैका शिवालयमा बत्ती बालेर कर्म गर्ने परम्परा पनि अब प्रचलित छ।

धर्मशास्त्रमा यो विधि पुराण आदिमा विस्तृत रूपमा नआए पनि हेमाद्रि नामक ग्रन्थमा पशुपतिक्षेत्रमा शतबीज रोपण गर्ने विशेष उल्लेख पाइने धर्मशास्त्रविद्हरू बताउँछन्। धार्मिक आस्था, कर्तव्य र पितृश्रद्धा मिसिएको यो परम्परा आज पनि उत्तिकै जीवित र व्यापक रूपमा मनाइन्छ।

धेरै पढिएको