News Desk
मार्गशीर्ष शुक्ल पूर्णिमा, अर्थात् मंसिरे पूर्णिमाको दिन, देशभर विभिन्न समुदायले आफ्नै सांस्कृतिक नाम र परम्परासहित यो पर्व मनाइरहेका छन्। सनातन धर्मावलम्बीले यस दिनलाई पर्धावन्य पूर्णिमा मान्दै धानलाई समृद्धि र लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्छन्। भकारीमा धानको पर्वत बनाई गरिएको पूजा धन–धान्य वृद्धि हुने विश्वाससँग जोडिन्छ।
नयाँ अन्न आफू खानेभन्दा पहिले कुलदेवता, पितृ र देवताहरूलाई अर्पण गर्ने संस्कार सबै जाति र क्षेत्रको सांस्कृतिक अभ्यास हो। विशेषगरी पहाडी भेगमा ‘गोठपूजा’ गर्ने परम्परा चलेको छ, जसअनुसार गोठ सफा–सुग्घर पारेर गाई–वस्तुको विशेष पूजा गरिन्छ।
धेरै समुदायमा मंसिरे पूर्णिमा कुलदेवताको पूजासँग जोडिन्छ। स्थानीय भाषामा ‘देवाली’ भनिने यस पूजा क्रममा नयाँ चामलको खीर, बाबर, पुवा र अन्य परिकार अर्पण गरिन्छ। कतिपय ठाउँमा कुलदेवताका नाममा पशुबलि दिने चलन पनि देखिन्छ।
नेवार समुदायका लागि यो दिन ‘थिन्ला पुन्हि’ वा ‘योमरी पुन्हि’को रूपमा अत्यन्तै महत्वपूर्ण हुन्छ। अघिल्लो दिनदेखि घर–आँगन सफा गरी, शरीरलाई शुद्ध राखी, नयाँ धानको पीठोगाँसबाट योमरी बनाइन्छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायत देवी–देवतालाई चढाएर मात्र खाने प्रथा नेवार संस्कृति भित्र गहिरोसँग जरा गाडेको छ।नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।
योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।
लिम्बू समुदायले मंसिरे पूर्णिमालाई बाली भित्र्याएको खुसीसाथ ‘न्वागी’ पर्वका रूपमा मनाउँछ। किरातसमुदायका धेरै जातजातिमा प्रकृति, पितृ र कुलदेवताको पूजा गरिने दिनका रूपमा यो पर्व परिचित छ। किरातहरूको मुख्य चाड ‘उधौली’ पनि यही समयमा मनाइन्छ। लिम्बूको चासोक तङनाम, राईको साकेला, याख्खाको चासुवा र सुनुवारको फोलष्याँदरजस्ता सांस्कृतिक पर्वहरू पनि यिनै समयमा मनाइन्छन्।
गुरुङ समुदायले न्वागी मनाउँदै सिमेभूमिको पूजा गर्छन्। पूर्वका थारू समुदायले नेमान गरी आँगनको ध्वजा फेर्ने, घरको कल्याणका लागि पूजा गर्ने र छोराको ‘वर्तमन’ गराउने परम्परा राख्छन्। धानको च्युरामा सख्खर मिसाएर बनाइने लड्डु देउतालाई चढाउने र नेमानमा अर्पण गर्ने चलन पनि उनीहरूको सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश हो।