News Desk
त्रिभुवन विश्वबिद्यालय ले कीर्तिपुरमा रहेको आफ्नो स्वामित्वको क्रिकेट मैदान ३५ दिनभित्र खाली गर्न Cricket Association of Nepal क्यानलाई निर्देशन दिएको छ। विश्वविद्यालयको कार्यकारी समितिले हालको करार सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै तोकिएको अवधिभित्र मैदान खाली नगरे प्रचलित नियमअनुसार कारबाही गरिने चेतावनी दिएको हो।
प्रशासन महाशाखा प्रमुख राजबहादुर राईद्वारा जारी पत्रमा विश्वविद्यालयको जग्गा व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयन गरिने उल्लेख गरिएको छ। केही महिनाअघि मात्रै मैदानको स्तरोन्नतिको पहिलो चरण सम्पन्न भएको अवस्थामा यस्तो निर्देशन आएपछि त्यहाँ गरिएको लगानी र भविष्यबारे प्रश्न उठ्न थालेका छन्।
क्यानका प्रवक्ता छुम्बी लामाले भने विश्वविद्यालयबाट आधिकारिक पत्र प्राप्त नभएको बताएका छन्। क्यानको पछिल्लो बोर्ड बैठकले सम्झौता अवधि थप गर्न राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसँग पहल गर्ने निर्णय गरेको थियो।
यसअघि विश्वविद्यालयले गत वैशाख ४ गते अतिक्रमित जग्गा फिर्ता ल्याउन सूचना जारी गर्दै १८ वटा संघसंस्थालाई ३५ दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। सोही प्रक्रियाअनुसार क्रिकेट मैदान पनि समेटिएको बताइएको छ।
त्रिभुवन विश्वविद्यालय र क्यानबीच २०५९ साल वैशाख १ गते भएको सम्झौताअनुसार मैदान प्रयोग हुँदै आएको हो। सुरुका तीन वर्ष क्यानले वार्षिक ३ लाख रुपैयाँ भाडा तिरेको थियो भने त्यसपछि उक्त रकम बढाएर वार्षिक ९ लाख रुपैयाँ पुर्याइएको थियो।
सरकारले मैदान स्तरोन्नतिमा ठूलो लगानी गरिसकेको छ। गत वर्ष मात्रै प्यारापिट निर्माणमा ४३ करोड र फ्लडलाइट जडानमा ४२ करोड रुपैयाँ खर्च गरिएको थियो। साथै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि अर्बौँको गुरुयोजना समेत स्वीकृत भइसकेको छ।
कीर्तिपुरस्थित उक्त मैदानमा हालसम्म ३५ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल सम्पन्न भइसकेका छन्। हाल International Cricket Council विश्वकप लिग–२ अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स र ओमान सहभागी त्रिकोणात्मक शृङ्खला सञ्चालनमा रहेको छ। आगामी वैशाख २९ गतेदेखि नेपाल, संयुक्त राज्य अमेरिका र स्कटल्यान्डबीचको अर्को शृङ्खला पनि यही मैदानमा आयोजना हुने तालिका छ।
यस घटनाले नेपाली क्रिकेटको भविष्य, पूर्वाधार व्यवस्थापन र संस्थागत समन्वयबारे गम्भीर बहस सिर्जना गरेको छ।