News Desk
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । वर्षाका कारण नेपालले डीएल पद्धतिअनुसार ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । जवाफमा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २१८ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६१ रन बनाए । उनले ३५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई जितनजिक पुर्याएका थिए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ५५ रनको अर्धशतकीय योगदान दिए । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । दीपेन्द्र र कप्तान रोहित कुमार पौडेलबीच चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी भएको थियो । रोहितले ३२ रन जोडे ।
ओपनर विनोद भण्डारी १० रनमा स्टम्प आउट हुँदा अर्जुन डकआउट बने । अर्का ओपनर आसिफ शेखले २१ रन बनाए । करण केसीले १८ रन योगदान गर्दा नन्दन यादव ८ रनमा अविजित रहे ।
स्कटल्यान्डका लागि ब्राड करीले ३ विकेट लिए भने मार्क वाटले २ विकेट हात पारे । ओलिभर डेविडसन र ज्याक जार्भिसले समान १–१ विकेट लिए ।
यसअघि स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले आक्रामक ब्याटिङ गर्दै ७५ रन बनाए । उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे । मुन्से र फिन्ले म्याक्रिथबीच पहिलो विकेटका लागि ११४ रनको साझेदारी भएको थियो । फिन्लेले ३५ रन जोडे ।
ब्रान्डन म्याकमुलेन ७ तथा कप्तान रिची बेरिङ्टन ५ रनमै आउट भए । म्याथ्यू क्रसले १८, मार्क वाटले २४ तथा माइकल लिस्कले २९ रन बनाए । माइकल इङ्लिस ३४ रनमा अविजित रहे भने ज्याक जार्भिस अन्तिम बलमा क्याच आउट भए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे ।