News Desk
महाप्रसाद लामिछाने
राइनास-२ लमजुड.
हाल-महालक्ष्मी नपा-५ ललितपुर
एयरपोर्टको भीड देख्दा लाग्छ कस्तो कस्तो, नेपाल नै रित्तो हुन लाग्या हो कि जस्तो
माला, खादा लगाएर तस्वीर खिच्छन् रुँदै, टीका लगाई विदा हुन्छन् माटो मुटु छुँदै।
झारेका छन् वर्वर आँसु देश छाड्नु पर्दा, भन्ने गर्छन् गरीवी र वेकामीले गर्दा
देशमा अवसर छैन भन्छन् सुटकेस कस्नेहरु , नालायक ठहरिए यतै बस्नेहरु।
आमा बाबु रुने गर्छन् विदाइ गर्दा खेरी, गाउँ टोलमा युवा हुन्नन् आपद् पर्दा खेरी
कस्ले देला औषधि त कस्ले देला खाना, कल्ले गर्ला खेतीपाती कल्ले छाउला छाना?
खेतबारी बाँझै भयो, बस्तु भाउ छैनन्, यतै बस बाबु भन्दा कोही मान्ने हैनन
मेला पात चल्न छाड्यो छैन भारो पर्म, विदेशमा जानु पर्ने नेपालीको कर्म।
आमा बाबु मरेपनि थाहा पाउँदैनन्, फ्रिजमा लाश राखेको छ झिक्न आउँदैनन्
कतिको त फोनमा पनि हुन्न कुराकानी, नसुनेको जस्तो गर्छन् हालत जानी जानी।
बैंकमा पैसा पठाए नि झिक्ने मानिस छैन, वृद्द भत्ता बाँडेपनि थाहा हुने हैन
उमेरले डाँडा काट्यो हात पाखुरा गले, आफ्ना जति विदेश गए छिमेकीले छले।
दशैं तिहार आएपनि रमाइलो छैन, जमारा नि राखिंदैन टिको लाइँदैन
खशी, बोका, हाँस, कुखुरा केही काटिंदैन, टिको टालो नभएसी नोटै सांटिदैन।
भन्ज्याड.मा पीड. हाल्ने युवा भेटिंदैन, भजन, कीर्तन् नभएसी तृष्णा मेटिंदैन
फिक्का भए चाडपर्व फिक्का भए जात्रा, केही गरेनि हटेन यो विदेशको यात्रा ।
रित्तो भयो गाउँ वस्ती रित्तिदै छ शहर , कति धेरै पलाएको विदेश जाने रहर
सुन फल्ने माटो छोडी मरुभूमि रोज्यौ, परिवारमा बस्न छोडी एक्लो जीवन रोज्यौ।
जन्म भूमि त्याग्दा तिम्रो रुँदैन र मन ? के विदेश स्वर्गै हो त ? साँचो कुरा भन।
पैसा फल्ने रुख पक्कै छैन होला त्यता ? देशको माया लाग्छ भने फर्कि आउ यता ।