News Desk
- युवराज घिमिरे
बाल अधिकारकर्मी
घर बालबालिकाहरूको पहिलो पाठशाला हो भने आमा–बुबा बालबालिकाका पहिलो गुरु हुन् । बालबालिकाले जीवनको पहिलो अक्षर घरबाट नै सिक्छन् भने अनुशासनका सबै पाठहरू पनि घरबाटै सिक्छन् । घरको वातावरण वा आमाबुबाको व्यवहारले बालबालिकाको जीवनलाई मार्गदर्शन गराउँछ । आफ्नो अधिकार, आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी, ठूलालाई आदर, सानालाई माया, जीवन दर्शनका कुरा, दुःख–सुखका कुरा सबै कुरा आमा–बुबाबाट नै बालबालिकाले सिक्ने गर्छन् । बालबालिकाहरूले आमाबुबाको कुरा र व्यवहारबाट धेरै कुरा नक्कल पनि गर्छन् ।
असल अभिभावकत्व के हो त ?
समाजका धेरै अभिभावकहरू “मेरो छोरा–छोरीलाई ठूलो र धेरै शुल्क लिने स्कुलमा पढाएको छु”, “मसँग समय हुँदैन त्यसैले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म स्कुलमै राखेको छु”, “मेरो छोराछोरीको भविष्य राम्रो होस् भनेर होस्टलमा राखेको छु”, “४ जीपीए ल्याए मात्र साइकल किनिदिन्छु” भन्ने सोचमा देखिन्छन् । कतिपयले अरूका बच्चासँग तुलना गर्दै “फलानाको छोरीले ४ जीपीए ल्याइन्, तिम्रो यस्तो पाराले कसरी हुन्छ ?” भन्ने गर्दछन् ।
यस्तै, बालबालिकालाई अरूका अगाडि गाली गर्ने, अत्यधिक दबाब दिने, सानैदेखि “त्यो मान्छे यस्तो र उस्तो” भनेर कुरा काट्ने, “हामी धनी, हामी खानदानी परिवार” भनेर घमण्ड सिकाउने जस्ता व्यवहारले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्न सक्छ । यसले बालबालिका एक्लो, जिद्दी, घमण्डी वा आत्मविश्वास कम भएको बन्न सक्छन् ।
त्यसैले बालबालिकामा सानैदेखि सकारात्मक, नैतिकवान र सामाजिक भावना विकास गराउन आवश्यक छ । सफलतासँगै असफलता पनि जीवनको एउटा हिस्सा हो भन्ने कुरा सिकाउनु जरुरी हुन्छ ।
असल अभिभावकत्व भनेको बालबालिकालाई केवल खाना, कपडा र भौतिक सुविधा दिनु मात्र होइन । उनीहरूलाई समय दिनु, माया दिनु, सुरक्षा दिनु, अनुशासन सिकाउनु, जीवनोपयोगी सीप सिकाउनु र जिम्मेवार नागरिक बनाउनु पनि हो ।
पहिले संयुक्त परिवारमा बालबालिकाले हजुरबा–हजुरआमा, काका–काकीसँग धेरै कुरा सिक्थे । तर अहिले साना परिवार, व्यस्त जीवनशैली र पारिवारिक विखण्डनका कारण बालबालिकाले पर्याप्त संवाद र साथ पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा उनीहरू मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित भइरहेका छन् ।
कतिपय अभिभावकले बालबालिकालाई कडा अनुशासनमा राख्न खोज्छन् । डर, धम्की, गाली र शारीरिक सजायमार्फत अनुशासन सिकाउन खोज्दा बालबालिकाको मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ । विज्ञहरूका अनुसार अत्यधिक दबाबले बालबालिकामा तनाव, आत्मविश्वासको कमी र विद्रोही स्वभाव बढाउन सक्छ ।
अर्कोतर्फ, अत्यधिक लाडप्यारले पनि समस्या निम्त्याउन सक्छ । गल्ती गर्दा पनि प्रशंसा मात्र गरिरहँदा बालबालिकामा गलत बानी बस्न सक्छ । त्यसैले गल्ती हुँदा प्रेमपूर्वक सम्झाउने, किन गल्ती भयो र त्यसको परिणाम के हुन्छ भन्ने कुरा बुझाउनु आवश्यक हुन्छ ।
बालबालिकाले अभिभावकबाट जस्तो व्यवहार पाउँछन्, उनीहरू पनि त्यस्तै व्यवहार सिक्छन् । यदि परिवारमा सम्मान, माया र सकारात्मक वातावरण हुन्छ भने बालबालिकाको व्यक्तित्व पनि सकारात्मक बन्छ ।
आजको समाजमा बालविवाह, बालश्रम, लागुऔषध दुव्र्यसन, हिंसा र साइबर अपराधजस्ता समस्या बढिरहेका छन् । यसको एउटा प्रमुख कारण उचित अभिभावकत्वको अभाव पनि हो ।
१. बालबालिकाले अभिभावकको व्यवहार नक्कल गर्छन्, त्यसैले आफू अनुशासित बन्नुपर्छ ।
२. माया भन्ने नाममा कुटपिट, गाली वा डर देखाउनु हुँदैन ।
३. बालबालिकालाई पर्याप्त समय दिनुपर्छ ।
४. उमेर अनुसार उनीहरूसँग गर्ने व्यवहार परिवर्तन गर्नुपर्छ ।
५. उनीहरू कहाँ छन्, कससँग छन् र के गरिरहेका छन् भन्ने जानकारी राख्नुपर्छ ।
६. दैनिक काममा आत्मनिर्भर बन्न सिकाउनुपर्छ ।
७. बालबालिकाका अगाडि झूट बोल्नु हुँदैन ।
८. गल्ती गर्दा हिंसात्मक व्यवहार गर्नु हुँदैन ।
९. किशोरावस्थाका शारीरिक र मानसिक परिवर्तनबारे खुला रूपमा संवाद गर्नुपर्छ ।
१०. बालबालिकाको भावना बुझेर सम्मान गर्नुपर्छ ।
परिवारमा अभिभावकत्वसम्बन्धी छलफल गर्ने
बालबालिकाका राम्रो कामको प्रशंसा गर्ने
सकारात्मक वातावरण सिर्जना गर्ने
बालअधिकार र बालसुरक्षाबारे सचेतना फैलाउने
बालमैत्री समाज निर्माणमा सबै मिलेर काम गर्ने
असल अभिभावकत्वबाट मात्र सभ्य, अनुशासित र जिम्मेवार समाज निर्माण गर्न सकिन्छ ।