News Desk
क्वालालम्पुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाद्वारा आगामी जुन १ तारिखमा आयोजना हुन गइरहेको दोस्रो ऐतिहासिक अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मलेसिया संयोजक नेत्र केसीसहित सम्पूर्ण टोली सक्रिय रूपमा जुटेको छ । क्वालालम्पुरस्थित नेटफार प्रेस्टो क्याफेमा हुने उक्त अधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
रास्वपा प्रवास संगठनलाई मलेसियामा अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना हुन लागेको उक्त अधिवेशनलाई लिएर नेपाली समुदायमा उत्साह बढ्दो देखिएको छ । विशेष गरी मलेसियामा रहेका युवा, श्रमिक, व्यवसायी तथा विभिन्न पेशामा आबद्ध नेपालीहरू कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।
अधिवेशन तयारीको नेतृत्व गरिरहेका मलेसिया संयोजक नेत्र केसी पछिल्ला केही सातादेखि निरन्तर भेटघाट, समन्वय तथा संगठन विस्तार अभियानमा सक्रिय देखिएका छन् । उनले मलेसियाका विभिन्न राज्य तथा क्षेत्रमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्क गर्दै कार्यक्रममा व्यापक सहभागिताका लागि आह्वान गरिरहेका छन् ।
संयोजक केसीले अधिवेशन केवल संगठनात्मक कार्यक्रम मात्र नभई प्रवासमा रहेका नेपालीहरूको भावना, एकता र राजनीतिक चेतनासँग जोडिएको महत्वपूर्ण अवसर भएको बताएका छन् । “मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशनलाई ऐतिहासिक बनाउन हार्दिक आग्रह गर्दछु,” उनले बताएका छन् ।
उनका अनुसार अधिवेशनमा संगठन सुदृढीकरण, प्रवासमा रहेका नेपालीका समस्या, श्रमिक हकहित, वैदेशिक रोजगारीका चुनौती र अवसर तथा नेपालमा सुशासन र वैकल्पिक राजनीतिको आवश्यकता लगायत विषयमा व्यापक छलफल हुनेछ । अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी रणनीति समेत तय गरिने जनाइएको छ ।
मलेसियामा रहेका धेरै नेपालीहरुको उपस्थितिले अधिवेशनलाई अझ विशेष, प्रभावशाली र ऐतिहासिक बनाउने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।
रास्वपाले पछिल्लो समय प्रवास नेपालीमाझ पनि प्रभाव विस्तार गर्दै गएको छ । विशेष गरी युवापुस्तामाझ पार्टीप्रति आकर्षण बढिरहेको भन्दै आयोजक पक्षले मलेसियामा पनि उल्लेखनीय उपस्थिति रहने विश्वास व्यक्त गरेको छ ।
मलेसियामा रहेका विभिन्न जिल्लागत, सामाजिक तथा पेशागत संघसंस्थाका प्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी हुने जनाइएको छ । अधिवेशनलाई सफल बनाउन स्वयंसेवक टोली, प्रचारप्रसार समिति तथा व्यवस्थापन उपसमितिहरू सक्रिय रूपमा परिचालित भएका छन् ।
संयोजक नेत्र केसीको नेतृत्वमा भइरहेको तयारीलाई लिएर रास्वपा समर्थकमाझ उत्साह देखिएको छ । कार्यक्रमलाई व्यवस्थित, अनुशासित र उपलब्धिमूलक बनाउन सम्पूर्ण टोली दिनरात खटिरहेको जनाइएको छ ।
आयोजकका अनुसार जुन १ मा हुने उक्त अधिवेशनमा उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ भने कार्यक्रमलाई मलेसियामा रास्वपाको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ ।
यो कार्यक्रममा प्रवास विभाग मलेसियाका शाखाहरू जोहोरबारु,पेनाङ मलक्का,सेरम्बान काजाङलगाएतका सबै शाखाका प्रतिनिधिहरूको उपस्थित रहनेछ ।