मधेसमा दाइजो र बालविवाह अन्त्य गर्न उपसभामुख ठाकुरको आह्वान
News Desk
May-25 तारिख 05:22 बिहान • आज

काठमाडौं । उपसभामुख रुवीकुमारी ठाकुर ले मधेस क्षेत्रमा अझै व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताउनुभएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका ले आयोजना गरेको बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्ता कुरीति मधेसमा मात्र नभई समग्र देशबाट अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले छोरीलाई बोझका रूपमा हेर्ने सोच र लैङ्गिक विभेदका कारण बालविवाहजस्ता समस्या बढिरहेको उल्लेख गर्दै मधेस समाजले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने बताउनुभयो । “माता सीताको जन्मभूमिमा छोरी जन्मनु सौभाग्यको विषय हो,” भन्दै उपसभामुख ठाकुरले छोरी जन्मिँदा दुःखी हुने मानसिकता त्याग्न आग्रह गर्नुभयो ।

बालविवाह र दाइजो प्रथाले परिवार तथा समाजमा विखण्डन निम्त्याउने उहाँको भनाइ थियो । पछिल्लो समय किशोरकिशोरी घर छाडेर जाने प्रवृत्तिप्रति संकेत गर्दै उहाँले अभिभावकसँग संवाद र समझदारी आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सर्लाही–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारी ले दाइजो र बालविवाहजस्ता कुसंस्कार लामो समयदेखि मधेस समाजमा जकडिएर बसेको बताउनुभयो । शिक्षाको माध्यमबाट मात्रै यस्ता विकृति हटाउन सकिने भन्दै उहाँले छोरीहरूको शिक्षामा विशेष जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो । सो अवसरमा छोरीलाई १२ कक्षासम्म अध्ययन गराई २० वर्षपछि विवाह गराउने अभिभावक, बुहारीलाई स्नातक तहसम्म पढाउने परिवार तथा बिना दाइजो विवाह गर्ने जोडीलाई सम्मान गरिएको थियो ।

चन्द्रनगर गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने छोरीलाई विवाह मण्डपमै पुगेर नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने तथा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई ११ हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको जनाएको छ ।