News Desk
काठमाडौं, असार ११ । नयाँ बानेश्वरस्थित गाउँघर चौतारी बजार, थापागाउँमा नेपाल डेरी एसोसिएसनको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ (रोपाइँ महोत्सव–२०८३) को अवसरमा “दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम–२०८३” सम्पन्न भएको छ।
“दही–चिउरा खाऔँ, धान दिवस मनाऔँ; स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढाऔँ” भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा कृषि, दुग्ध तथा निजी क्षेत्रका प्रतिनिधिहरू, किसान, उद्योगी, व्यवसायी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले स्वदेशी उत्पादनको प्रयोग बढाई किसान र उद्योगीको मनोबल अभिवृद्धि गर्नुपर्ने, नेपाली मौलिक खाद्य संस्कृति संरक्षण गर्नुपर्ने तथा दुग्धजन्य पदार्थको उपभोग वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई दही–चिउरा सेवन गराइएको थियो।