लोकतान्त्रिक स्थिरता र लगानीमैत्री वातावरणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
News Desk
May-27 तारिख 05:48 बिहान • आज

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने लक्ष्यसहित सरकारले काम गरिरहेको बताउनुभएको छ ।

युरोपेली सङ्घ (इयू)का सदस्य राष्ट्रका राजदूतहरू तथा काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता र सुशासनप्रति सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारको नीति स्पष्ट, स्थिर र अनुमानयोग्य रहने उल्लेख गर्दै “नयाँ नेतृत्व आउँदैमा विगतका सबै नीति परित्याग हुँदैनन्” भन्ने सन्देश दिनुभयो । नीतिगत निरन्तरतामार्फत लगानीकर्तामा विश्वास निर्माण गरिने प्रधानमन्त्री शाहको भनाइ थियो ।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने बताउँदै छिमेकी राष्ट्र, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौम समानता र साझा समृद्धिको आधारमा अघि बढाइने धारणा राख्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उहाँले विश्व बजारका अवसरलाई उपयोग गर्दै नयाँ रोजगारी र आर्थिक सम्भावना सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विदेशी लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रिया थप सरल बनाइने, नवप्रवर्तनलाई प्रोत्साहन गरिने तथा दिगो विकासलाई प्राथमिकता दिइने पनि उहाँले उल्लेख गर्नुभयो ।

विश्वका विभिन्न क्षेत्रमा भइरहेका द्वन्द्वका कारण सर्वसाधारण नागरिक बढी प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले समस्या समाधानका लागि संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनको सम्मानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

भेटवार्ताका क्रममा युरोपेली सङ्घ तथा अन्य मुलुकका राजदूतहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्य र लगानी विस्तार गर्न इच्छुक रहेको धारणा व्यक्त गरेका थिए ।