बालबालिकाको वातावरणीय अधिकार : मानवअधिकार
News Desk
Dec-01 , 2023 तारिख 08:40 बेलुका

-युवराज घिमिरे 

 स्वच्छ वातावरण, स्वच्छ पानी र सफा वातावरणमा बस्न पाउनु प्रत्येक बालबालिकाको मानव अधिकार हो । बाल अधिकार महासंन्धी ले बालबालिकाको स्वच्छ वातावरणमा बस्ने अधिकारको व्यवस्था गरेको छ । बालअधिकार महासंन्धी साथै नेपालको संविधानले बालबालिकाहरु स्वच्छ वातावरणमा बस्ने अधिकारको व्यवस्था गरेको छ । यो बालबालिकाको मानव अधिकार पनि हो र नैसर्गिक अधिकार हो । पृथ्वी हाम्रो घर हो र यो सबैको लागि सुहाउँदो, सफा र रमाइलो हुनु पर्दछ । युद्ध, हिंसा, दुर्व्यवहारबाट बालबालिकाले जति ज्यान गुमाउँछन त्यतिनै संख्यामा बालबालिकाहरु वातारणमा हुने प्रदुषण र वायुमण्डलीय परिवर्तन र यसका जोखीमबाट ज्यान गुमाउँछन । नेपालमा सन् २०२२ मा देश भरि नै वायु प्रदुषणका कारण विद्यालयहरु बन्द रहेका थिए । आकाशमा भएको धुलो धुवाका कारणले खोकी लाग्ने , ज्वरो आउने, घाटी दुख्ने, आँखा पाक्ने रोगले बालबालिकाहरु पिडित भएका थिए । मानव निर्मित प्रदुषण, कार्वनको उत्सर्जन, कलकारखानाका कारण हुने फोहोर र तापक्रम बृद्धीकासँगै अतिबृष्टी, अनावृष्टी, खण्डबृष्टी, बाढी पहिरो का कारण लाखौं बालबालिकाहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ । सन् २०२३ लाइ नै हेर्ने हो भने काठमाण्डौ उपत्यका लगायत देशभरि बढदो तापक्रमले गर्दा बालबालिकाहरुको विद्यालय बन्द गर्नुपर्ने अवस्था रहयो । विश्वको हरितग्यास उत्सर्जन सन् १९९० देखि २०१९ सम्म १.४५ प्रतिशतले बृद्धी भएको देखिएको छ । सन् २००८ पछि नेपालमा हरित ग्यास उत्सर्जनको बृद्धी उच्च दरमा भएको छ । सन १९९० मा २ करोड हरित ग्यास उत्सर्जन हुने गरेकोमा सन् २०१९ सम्म आइपुग्दा यस्तो ग्यास उत्सर्जन ४ करोड ८४ लाख मेट्रीक टन पुगेको छ । सन् १९७१ देखि २०१९ सम्म जलवायु जन्य विभिन्न घटनाहरुबाट भएको क्षति र नोक्सानको तथ्यांकलाई अध्ययन गर्दा प्रत्येक बर्ष नेपालमा जलवायुजन्य विपदबाट औसतमा ६४७ जनाको मृत्यु भएको देखिन्छ । आर्थिक बर्ष २०७९÷२०८० मा विभिन्न किसिमका प्राकृतिक विपदबाट ३२४४ जना बालबालिका पिडित तथा प्रभावित भएको देखिन्छ ।

वायुमण्डलीय परिवर्तनका कारण नेपालमा धेरै जोखिम उत्पन्न भएको छ । बाढी पहिरोबाट भएको क्षतिले बालबालिका र युवाहरु झन पिडीत छन्। यसको सामाजिक, सांस्कृतिक, आर्थिक असरको साथै स्वास्थ र सफा वातावरणमा बाच्ने अधिकारबाट बालबालिकाहरु बन्चित छन । नेपालमा वायु प्रदुषण अर्को ठुलो समस्या हो ।वायु प्रदुषण रासायनिक पदार्थ, धुवा धुलो हावामा मिसिन गई दुषित हुनु हो । यसले मानवको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । हाम्रै हेलचक्राइका कारण यस्ता घटनाहरु हामी भोगी रहेका छौँ । पुराना गाडीका कारण, अब्यवस्थित कलकारखाना, खानी इटटा भटटा , जथाभावी निर्माण कार्य, बनजंगलमा डडेलो लाउनु जस्ता कार्यले वातावरण प्रदुषण भइरहेको छ । 

 प्रत्येक बालबालिकाको , प्रत्येक मानवको स्वच्छ बातावरणमा जन्मने हुर्कने अधिकार छ । तर मानिसकै गल्तीका कारण वायु प्रदुषणबाट लाखौ बालबालिका र मानव जीवन क्षति भएको पाइएको छ । राष्ट्रसंघका मानवअधिकार तथा वातावरण संबन्धी तथ्यांकका अनुसार विश्वभर प्रत्येक बर्ष ७० लाख ब्यक्तिहरुको मृत्यु वायु प्रदुषणका कारणले हुने गरेको पाईन्छ ।प्रत्येक ५ सेकेन्डमा एक जना व्यक्तिको मृत्यु वायु प्रदुषणका कारणले हुने गर्दछ । संसारमा बर्षेनी मृत्यु हुने ७० लाख मध्ये ६ लाख बालबालिकाहरु वायु प्रदुषणका कारण नै मृत्यु भएको पाइएको छ । वायु प्रदुषणका हिसाबले नेपाल अग्रणी स्थानमा रहेको पाइएको छ । बर्षेनी काठमाण्डौ लगायत नेपाल भरि नै बायु प्रदुषणका कारण आकाशमा तुवालो छ, धुलो देखिने गर्छ । यो बेला धेरै बालबालिकाहरु बिरामी परेको पाइएको छ ।

 विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रदुषण र यसका कारण हुने मृत्यु दर पनि बढेको पाइएको छ । दक्षिण एसिया मा नेपाल दोश्रो स्थानमा छ ।नेपालमा हरेक बर्ष १ लाखमा १९३ जनाको मृत्यु बायु प्रदुषणका कारण हुन्छ । 

बातावरण बिनासको बढदो दर का कारण नेपामा पनि बायु प्रदुषण बढदो छ । मुटु, फोकसो को रोग को कारण पनी बायु प्रदुषण नै हो ।

नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाच्ने अधिकार सहित प्रदुषण गर्नेलाई समेत कार्वाहीको व्यवस्था गरेको छ । तर के हामी सबै जना सचेत छौ त ? यो बारेमा हामीले सोच्नु पर्दछ । मानिसहरु आफनो जीवनको ९० प्रतिशत समय घरभित्र बिताउँछन् ।घर भित्र पनि वायु प्रदुषण हुन्छ । हाम्रो घर भित्र बाल्ने दाउरा, गुइठा ग्यास, पराल , घर भित्रबाट निस्कने ढुसी , तेल, ग्यास, फर्निचरका सामान कस्मेटीकका सामान , धुम्रपान, अगरबती पनि घर भित्रका वायु प्रदुषणका कारण हुन् । 

 सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्ने उदेश्यका साथ नेपाल लगायत विश्व नै अघि बढीरहेको छ । सामाजिक, आर्थिक विकाससँगै वातावरणीय विकास दिगो विकासका महत्वपुर्ण कडी हो । तर विश्वका २ करोड भन्दा बढी कृषक बिषादीको उच्च जोखिममा छन् । नेपालमा पनि बिषादीको अत्याधिक प्रयोग हुने गरेको छ । त्यसैगरि ३० प्रतिशत फोहोर मैलाको व्यवस्थापन नहुने गरेको पाइएको छ । यो पनि वायु प्रदुषण र जलप्रदुषणको कारण बनेको छ । नेपालमा फोहोर पानीका कारण हुने झाडापखाला जस्ता रोगका कारण बर्षेनी २५ हजार बालबालिकाहरुको अकालमै मृत्यु हुने कुरा तथ्यांकले देखाउँदछ ।  

स्वच्छ वातावरणमा युवा र बालबालिकाको पनि ठुलो भुमिका रहन्छ । बिहानै उठेर आफनो दिनको सुरुवात करेसावारीको बिरुवा, फूलवारीको बिरुवालाई पानी हालेर वा त्यो पनि छैन भने गमलामा भए पनि आफनो घरमा बिरुवा रोप्ने र त्यसलाई पानी हालेर दिन चर्या सुरु गर्न सकिन्छ । यसको मतलब घर तथा विद्यालय वरीपरी हरियाली र सफा राखन सकिन्छ । घर विद्यालय वरीपरी फोहोर नगर्ने, पानीका मुहान , बाटो घर सफा राख्ने, आफनो घर, विद्यालय वरिपरी रुख बिरुवा रोप्ने गर्नु पर्दछ । प्लाष्टिक जलाउने, कागज डढाउनाले वरिपरि वातावरण दुषित हुन जान्छ । घरभित्र भुष नबाल्ने, अगरबत्ती नबाल्ने, घर भित्र घीउ कुमारी, मनी पलान्ट जस्ता वातावरण सुद्ध पार्ने बिरुवा रोप्ने गरेमा वातावरणलाई स्वच्छ राख्न सक्छौ । सानो प्रयासले पनि हाम्रो समुदायलाई बालबालिकाको लागि वातारण मैत्री स्वच्छ र सुन्दर बनाउन सक्छौं।

(लेखक घिमिरे बालअधिकारकर्मी हुनुहुन्छ । उहाँ हाल सिविसमा एडभोकेसी एड्भाइजरका रुपमा कार्यरत रहदै आउनुभएको छ)