गणतन्त्र र लोकतन्त्रवादीहरूको निष्ठा र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढयो : चित्रबहादुर केसी
News Desk
Mar-31 , 2025 तारिख 06:29 बिहान

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र लोकतन्त्रवादीहरूको निष्ठा र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढेको बताएका छन्।

आइतवार संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले तीनकुनेमा भएको घटना मुलुक प्रतिगमनतिर जाने अभियान भएको बताए। उनले लोकतन्त्रवादीको आचरण र व्यवहार हेरेर दुई वर्षअघि नै गणतन्त्रमा खतरा हुनसक्ने बताएको जिकिर गए। उनले प्रतिपक्षहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद् अवरुद्ध गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली संसद्‌मा नआउनु गैरजिम्मेवार भएको आरोप लगाए।

वर्तमान प्रधानमन्त्री ओलीले विगतमा दुईपटक संसद् विघटन गरेर मुलुकलाई प्रतिगमनतिर लैजान खोजे पनि पाँच दलीय गठबन्धनले रोक्न सफल भएको जिकिर गरे। राजनीतिक दलका नेताहरू जुनसुकै मूल्य चुकाएर भए पनि पदको पछि लागेको उनको भनाइ छ।

केसीले भने, ‘राज्य सत्तामा बसेर लामो समय रजाइँ गरेकाहरूले त लोकतन्त्र गणतन्त्रलाई सिध्याउन प्रयत्न गरिरहन्छन्, विश्वमै त्यस्ता षड्यन्त्र गरिरहन्छन्। स्वयं लोकतन्त्र र गणतन्त्रका लागि लडेकाहरूको क्रियाकलाप, नीति, आचरणबाट गणतन्त्र अप्ठ्यारोमा छ है होसियार भनेर मैले त उतिबेलै भन्या हो। प्रधानमन्त्रीको कदम गैरजिम्मेवार हो। पहिला पनि उहाँले दुईपटक संसद् भत्काएर मुलुकलाई प्रतिगमनमा लान खोजेकै हो।’

अध्यक्ष केसीले तीनकुनेमा भएको घटना बंगलादेशमा भएको घटनाको नक्कल गर्न खोजे पनि प्रतिगामीहरू सफल नभएको बताए। नेताहरूको कुशासनका कारण प्रतिगामीहरूले टाउको उठाउने मौका पाएको उनको भनाइ छ।

धेरै पढिएको