News Desk
काठमाडौं । जापान महिला राष्ट्रिय फुटबल टोलीले एएफसी महिला एसियन कपको उपाधि जित्दै तेस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। फाइनल खेलमा अष्ट्रेलिया महिला राष्ट्रिय फुटबल टोलीलाई १–० ले पराजित गर्दै जापानले उपाधि आफ्नो पक्षमा पारेको हो।
अष्ट्रेलियाको सिड्नीस्थित रंगशालामा शनिबार सम्पन्न खेलमा जापानले सुरुदेखि नै सन्तुलित र आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको १७औँ मिनेटमा २१ वर्षीया जापानी स्ट्राइकर माइका हामानोले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि सोही गोल निर्णायक बन्यो।
योसँगै जापानले अष्ट्रेलियामाथि फाइनलमा तेस्रो पटक १–० कै जित दोहोर्याएको छ। यसअघि पनि सन् २०१४ र २०१८ का फाइनलमा जापानले अष्ट्रेलियालाई समान अन्तरले पराजित गरेको थियो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको जापानले कुल २९ गोल गर्न सफल भयो। प्रतियोगितामा ६ गोल गरेकी रिको उएकी सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट विजेता बनिन् भने उत्कृष्ट गोलरक्षकको उपाधि आयाका यामाशिताले हात पारिन्।
यस नतिजासँगै जापान, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया, फिलिपिन्स र उत्तर कोरियाले सन् २०२७ को महिला विश्वकपका लागि स्थान सुरक्षित गरेका छन्। साथै, क्वार्टरफाइनलमा पुगेका सबै आठ टोलीले सन् २०२८ को ओलम्पिक छनोट प्रतियोगितामा पनि स्थान बनाएका छन्।