स्वास्थ्य बिमा उपचार सीमा यथावत्, सेवा रकम नघटेको बोर्डको स्पष्टोक्ति
News Desk
Feb-12 तारिख 06:31 बिहान

काठमाडौँ |स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँसम्मको उपचार सुविधा यथावत् रहेको स्पष्ट पारेको छ। उपचार सेवाको सीमा घटाइएको भन्ने भ्रम फैलिएको भन्दै बोर्डले हाल कायम व्यवस्था परिवर्तन नभएको जनाएको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार तीन हजार ५०० रुपैयाँ योगदान गर्ने पाँच सदस्यीय परिवारले वार्षिक रूपमा एक लाख रुपैयाँ बराबरको उपचार सेवा पाउने व्यवस्था निरन्तर छ। यसअन्तर्गत २५ हजार रुपैयाँ बाह्य रोगी (ओपिडी) सेवा र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक उपचारका लागि छुट्याइएको छ।

स्वास्थ्य बिमा कार्यक्रममा पाँच सदस्यसम्मको परिवारका लागि तीन हजार ५०० रुपैयाँ योगदानमा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सुविधा उपलब्ध गराइन्छ। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि सात सय रुपैयाँ योगदान थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने व्यवस्था रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार ओपिडी सेवाको अनावश्यक प्रयोग र दोहोरो खर्च रोक्दै गम्भीर, जटिल तथा ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न सेवा रकम अलग–अलग शीर्षकमा बाँडिएको हो। मल्लले पाँच सदस्यीय परिवारले वर्षभरिमा अधिकतम दुई हजार ५०० रुपैयाँ बराबरको ओपिडी सेवा लिन सक्ने व्यवस्था रहेको र थप सदस्यका हकमा प्रतिसदस्य पाँच हजार रुपैयाँ बराबरको ओपिडी सुविधा कायम गरिएको जानकारी दिनुभयो।

हाल स्वास्थ्य बिमा बजेटको ७० प्रतिशतभन्दा बढी रकम सामान्य रोगको ओपिडी सेवामै खर्च भइरहेको अवस्था छ। यसले गम्भीर रोग वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपुग हुने र बिरामीले आफ्नै खर्चबाट ठूलो रकम तिर्नुपर्ने जोखिम बढाएको जानकारहरू बताउँछन्।

यही समस्यालाई ध्यानमा राख्दै वास्तविक बिरामीको उपचारमा बिमाको रकम प्रभावकारी रूपमा खर्च होस् भन्ने उद्देश्यले ओपिडी, अस्पताल भर्ना र शल्यक्रिया सेवाका लागि छुट्टाछुट्टै खर्च सीमा तोकिएको बोर्डको भनाइ छ। बोर्डले सबै बीमितलाई तोकिएको मापदण्डअनुसार सेवा प्रयोग गर्न आग्रह गरेको छ।

धेरै पढिएको