मितेरी सहकारी घोटाला : हुण्डीमार्फत करोडौं रुपैयाँ कम्बोडिया पुर्याएको खुलासा, मुख्य आरोपी नेपालमा पक्राउ
News Desk
Jul-02 , 2025 तारिख 06:50 बिहान

ललितपुरको चर्चित मितेरी सहकारी घोटालामा नयाँ तथ्य सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा कम्बोडियाबाट पक्राउ परेका ज्योति बहादुर भण्डारीले सहकारीको करोडौँ रुपैयाँ हुण्डीमार्फत विदेश पुर्‍याएको खुलेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा मितेरी सहकारीका ठगीसम्बन्धी घटनामा संलग्न अर्का अभियुक्त सुवास खत्रीलाई समेत पक्राउ गरेको छ। खत्री धादिङका स्थायी बासिन्दा हुन् भने हाल काठमाडौंको सोल्टीमोडमा बसोबास गर्दै आएका थिए।

सीआईबीले असार ४ गते राति कम्बोडियाबाट नेपाल ल्याएका बाँसगढी नगरपालिका–७, बर्दियाका ४२ वर्षीय भण्डारीमाथि अहिले हिरासतमा राखेर विस्तृत अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार सहकारी सञ्चालकहरूले भण्डारी र खत्रीलाई नै सहकारीको ठूलो रकम लगानी गर्न दिएका थिए, तर उनीहरूले सो रकम ठगीका लागि दुरुपयोग गरेका थिए।

सञ्चालक ज्योति गुरुङ र कुम्भराज गुरुङले नै सीआईबीलाई दिएको बयान अनुसार, भण्डारी र खत्रीले ‘क्रिप्टो’ कारोबार र अत्यधिक ब्याज दिने लोभ देखाउँदै रकम लगानी गर्न लगाएका थिए। पछि सहकारीकै रकम ‘क्रिप्टो’ तथा अन्य अवैध माध्यममा प्रयोग गरिएको खुलासा भएको हो।

सीआईबीका अनुसार आरोपीहरूले ठगीका लागि नागरिकता र राहदानीको विवरण किर्ते गरेर प्रयोग गरेका थिए। भण्डारीले विभिन्न नामबाट फेसबुक र ह्वाट्सएप खाताहरू सञ्चालन गरी ठगी गर्ने गरेको प्रमाण पनि फेला परेको छ। प्रहरीका अनुसार उनीमाथि काठमाडौं जिल्ला प्रहरी परिसरमा तीनवटा ठगीका मुद्दा दर्ता भइसकेका थिए र ती सबैमा फरार थिए।

इन्टरपोलले भण्डारी र सञ्चालिका ज्योति गुरुङविरुद्ध २०८१ सालको कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो। अहिले भण्डारीलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी (दफा २४९) र किर्ते (दफा २७६) अभियोगमा अनुसन्धान थालिएको छ।

यता, अर्को अभियुक्त ज्योति गुरुङ भने अझै फरार छिन्। उनी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पत्नी हुन्, तर धनराजले उनीसँग सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्। सीआईबीले उनलाई अघिल्लो पटक सोधपुछ गरेको थियो र उनले ज्योतिका नाममा लिएको ऋणको ब्याज पनि बुझाएको देखिएको छ। तर गुरुङ विदेशमै रहेकाले अनुसन्धान निष्कर्षमा पुग्न बाँकी रहेको सीआईबीको भनाइ छ।

सहकारीको नाममा सर्वसाधारणको करोडौं रुपैयाँ ठगी गरी विदेशी भूमिमा पु¥याउने यो घटना सहकारी क्षेत्रकै एउटा गम्भीर अपराधको रूपमा देखिएको छ। मुख्य आरोपी पक्राउ परेपनि नजानेका अभियुक्तहरू र राजनीतिक सम्बन्धले अनुसन्धानमा प्रभाव पार्न सक्ने चिन्ता बढेको छ।

धेरै पढिएको