News Desk
नेपालका प्रमुख राजनीतिक दलहरू पछिल्ला दिनहरूमा तीव्र आन्तरिक विवाद र किचलोमा फँस्दै गएका छन्। सत्ता–विपक्ष दुबै पक्षका दलहरू आन्तरिक लोकतन्त्रको आवरणमा शक्ति संघर्ष, गुटबन्दी र नेतृत्वको होडमा आकण्ठ डुबेका छन्। यस्तो अवस्थाले देशलाई राजनीतिक संक्रमणतर्फ धकेल्ने खतरा थप गहिरिएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेजस्ता मुख्य दलहरूले स्थायित्व, संविधान संशोधन र समृद्धिको नारा दिएर सरकार गठन गरेका थिए। तर आज ती दलहरूकै नेतृत्व संकटमा छ। नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः सक्रियता र पार्टी प्रवेशप्रतिको असहमतिले गहिरो फाटो ल्याएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफैं महाधिवेशनको तयारीमा केन्द्रित देखिँदा सरकार सञ्चालनमा उदासीनता झल्किन्छ।
यता, सत्ता गठबन्धनकै ठूलो दल नेपाली कांग्रेसमा गुट-उपगुटको झगडाले नेतृत्व नै चुनौतीमा परेको छ। सभापति शेरबहादुर देउवामाथि छैटौँ पटक प्रधानमन्त्री बन्ने लालसामा मात्र केन्द्रित भएको आरोप छ। अर्का नेता शेखर कोइरालासहितका नेताहरू नेतृत्वको आलोचना र आन्तरिक शक्ति आर्जनमा व्यस्त छन्। बागमती प्रदेशमा त झन् कांग्रेस नेताहरूको आन्तरिक टकरावले सरकार नै ढल्ने स्थितिमा पुगेको छ।
विपक्षी दलहरू पनि सत्तारुढभन्दा कम विवादित छैनन्। प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले समानान्तर पार्टीको शैलीमा कार्य गर्दै आएका छन्। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आन्तरिक एकता कायम गर्न असफल देखिँदै पुनः सत्ताको खोजीमा केन्द्रित छन्।
संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि चुलिँदै गएको छ। जेलसमेत पुगेका लामिछानेकै वरिपरि सत्ता र पार्टी घुमिरहेको आरोप उठिरहेको छ। पार्टीभित्र आक्रोश बढ्दो छ र विस्फोटको संघारमा पुगेको देखिन्छ।
त्यस्तै, राप्रपामा राजावादी आन्दोलनसँगै सुरु भएको विवादले निर्वाचन आयोगसम्म डोरी तानेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध महामन्त्री धवल शमशेर लगायत नेताहरूले संस्थागत निर्णय एकलौटी भएको आरोप लगाएका छन्। पार्टी टुक्रिनै सक्ने अवस्था देखिन्छ।
नेकपा (एकीकृत समाजवादी) पनि एमालेबाट छुट्टिएर बनेको भए पनि अब आफैभित्रको विभाजनको संघारमा पुगेको छ। अध्यक्ष माधवकुमार नेपालमाथि उठेको भ्रष्टाचार मुद्दा र नेतृत्वको असहमतिले पार्टी अस्तव्यस्त देखिन्छ।
मधेश केन्द्रित दलहरू—नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा नेपाल पनि उस्तै संकटमा छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्ष तोक्दा समेत विवाद सल्किएको छ। लोसपामा एकै नेतालाई पटक-पटक मन्त्री बनाइएको भन्दै विभाजनको धम्की सुनिन थालेको छ। जसपाले सरकारबाट समर्थन फिर्ता लिएसँगै पार्टीभित्र गहिरो विवाद उत्पन्न भएको छ।
आज राजनीतिक दलहरू सैद्धान्तिक मूल्यमान्यता भन्दा व्यक्ति–केन्द्रित स्वार्थमा रुमल्लिएका छन्। आन्तरिक कलह, गुटबन्दी र सत्तालिप्सा देशको शासन प्रणालीलाई नै अशक्त र दिशाहीन बनाउँदैछ। जनता स्थायित्व र सुशासनको आशामा बसेका छन्, तर दलहरू नेतृत्व–कुर्सीको लडाइँमा लिप्त छन्।
यो राजनीतिक दिशाहीनता र संस्थागत कमजोरीले संविधान, लोकतन्त्र, शासन प्रणाली र राज्य संरचनामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। यदि समयमै सुधार र आत्मसमीक्षा गरिएन भने, मुलुक गहिरो राजनीतिक र शासन संकटमा फस्ने निश्चित देखिन्छ।