ठमेलमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा ९ विदेशी नागरिक पक्राउ
News Desk
May-22 तारिख 05:53 बिहान

काठमाडौं, ७ जेठ । काठमाडौंको ठमेल क्षेत्रबाट अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा ९ जना विदेशी नागरिक पक्राउ परेका छन् । विदेशी तथा स्वदेशी पर्यटकलाई अनावश्यक दुःख दिने तथा सार्वजनिक स्थलमा अशोभनीय गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार ठमेल क्षेत्रबाट ९ जना विदेशी नागरिकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बंगलादेश, भियतनाम तथा युगाण्डाका महिलाहरू रहेका छन् ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले विशेष निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती विदेशी नागरिकहरूले ठमेल क्षेत्रमा हिँडिरहेका सर्वसाधारण पुरुषहरूलाई बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गर्दै दुःख हैरानी दिने गरेका थिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।