आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेश गरिने
News Desk
May-27 तारिख 05:45 बिहान • आज

 

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यता राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ । साथै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।