किन हुन्छ प्याराग्लाइडिङ दुर्घटना ?
News Desk
Nov-29 , 2020 तारिख 12:28 बेलुका

धेरैजसो दुर्घटना पाइलटले मापदण्ड पालना नगरी उडाउँदा भएका छन्

गण्डकी — मंसिर १४, २०७७। 

काठमाडौंबाट पोखरा आएकै दिन उनी प्याराग्लाइडिङ गर्न तम्सिइन् । बूढानीलकण्ठ नगरपालिका–२ की २८ वर्षीया शिला श्रेष्ठ सराङकोटको डाँडाबाट उत्सुकतासाथ प्याराग्लाइडिङमार्फत उडिन् तर सकुशल उत्रिन भने सकिनन् । प्याराग्लाइडिङ दुर्घटना हुँदा उनीसहित पाइलट राजु नेपाली भुइँमा बज्रिन पुगे । राजुको घटनास्थलमै मृत्यु भयो भने श्रेष्ठ गम्भीर घाइते छिन् ।

कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालका अनुसार उडानका क्रममा पाइलटले फूल टिपेर यात्रुलाई दिने क्रममा प्याराग्लाइडिङ अनियन्त्रित भई खस्न पुगेको हो । ‘खस्न लागेपछि फेरि माथि उड्न कोसिस भने गरेका रहेछन्,’ उनले भने, ‘तर बाँसका टुप्पाले छुँदा प्याराग्लाइडिङ भुइँमा खसेछ ।’ घटनाका प्रत्यक्षदर्शीले पनि दुर्घटना पाइलटको लापरबाहीका कारण भएको बताएका छन् । प्रहरीको अनुसन्धानले पनि अहिलेसम्म भएका प्याराग्लाइडिङ दुर्घटनाको प्रमुख कारण पाइलटकै कमजोरी भएको बताउँछ । उनी भन्छन्, ‘प्याराग्लाइडिङको नियम र मापदण्डअनुसार पाइलट जिम्मेवार हुन जरुरी छ । उड्ने व्यक्तिभन्दा पनि उडाउने व्यक्ति बढी जिम्मेवार बन्नुपर्छ ।’ उनका अनुसार मौसमका कारण पनि प्याराग्लाइडिङ दुर्घटनामा पर्ने जोखिम अधिक हुन्छ ।

नेपाल हवाई खेलकुद संस्थाका प्रथम उपाध्यक्ष इन्द्र भण्डारीका अनुसार जिल्लामा हालसम्म ५० को हाराहारीमा प्याराग्लाइडिङ दुर्घटना भएका छन् । ‘सुरुदेखि अहिलेसम्म प्याराग्लाइडिङ दुर्घटनामा २० जना जतिले ज्यान गुमाए तर २२ वर्षको अन्तरालमा व्यावसायिक रूपमा २ वटा मात्रै दुर्घटना भएका छन् ।’ उनले हालसम्म व्यावसायिक पाइलट सुनील थापा र राजु नेपालीको मात्र प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएको बताए ।

लकडाउनपछि पर्यटन क्षेत्र चलायमान गराउन भारी छुटसहित सञ्चालन गरिएको प्याराग्लाइडिङमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो थियो, जसका कारण दैनिक अधिकतम उडान संख्या नै तोक्नुपरेको थियो । पर्यटकको चाप र उत्सुकता बढे पनि उडान भर्ने पाइलट हरसमय चनाखो र जिम्मेवार हुनुपर्ने भण्डारीको बुझाइ छ । ‘अस्तिको दुर्घटना पनि लापरबाहीकै कारण भएको हो,’ उनले भने, ‘नत्र दुर्घटना हुने थिएन । पाइलट जिम्मेवार नभएकाले दुःखद घटना हुन पुग्यो ।’ प्याराग्लाइडिङ गर्दा पाइलटले सामान्य मापदण्डमा ध्यान दिएनन् भने दुर्घटना हुने उनको तर्क छ । प्याराग्लाइडिङ गर्दा पाइलटले हात छोड्न पाइँदैन । जंगलमा फूल टिप्ने बहानामा प्याराग्लाइडिङको डोरी समाउन छाडेपछि राजुले ज्यान गुमाउनुपरेको उनको दाबी छ ।

प्रतिकूल मौसम र मानवीय कमजोरीका अलावा निश्चित क्षेत्रभन्दा बाहिर गएर उडान गर्दा पनि दुर्घटना हुने गरेको बताउँछन् नेपाल प्याराग्लाइडिङ तथा हेङ ग्लाइडिङ संघका केन्द्रीय सदस्य उमेश केसी । पोखरामा व्यावसायिक पाइलट ३ सयभन्दा बढीको संख्यामा छन् । सोलो (एक्लै उड्ने) पाइलट २ सयभन्दा बढी छन् । सामान्यतया एक्लै उडान भर्दा धेरैजसो दुर्घटना भएको भण्डारी बताउँछन् । ‘व्यावसायिक दुर्घटना कम हुन्छ, यहाँ सोलोका दुर्घटना बढी भएका छन्,’ उनले भने, ‘तोकिएको क्षेत्रभन्दा बाहिर जाने, एबीसी (अन्नपूर्ण आधार शिविर) पुग्ने, तालको बीचमा खेल खेल्ने, माथि पञ्चासेसम्म पुग्ने । यति मात्र होइन, प्रतिकूल मौसममा पनि उडान भर्दा दुर्घटना निम्तिएको छ ।’ निजी क्षेत्र र राज्यका तर्फबाट पनि पाइलटलाई प्रशिक्षण दिने काम पर्याप्त नभएको उनको गुनासो छ ।

व्यवसायीका अनुसार चीन सरकारले प्याराग्लाइडिङ गर्नेको हकमा उडान र अवतरणमा विशेष ध्यान दिँदै प्रशिक्षण गराउँछ, जसका कारण नेपालमा उडान भर्ने चिनियाँहरू ९९ प्रतिशतसम्म सफल उडान गरेर फर्किएका छन् । त्यसमाथि भौगोलिक रूपमा पनि पोखरालाई उडान र अवतरणका लागि सहज मानिन्छ । हावाको गति र दृश्यावलोकनका दृष्टिले नेपाल विश्वमै शीर्ष ५ स्थानभित्र पर्ने भण्डारीले बताए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको