News Desk
माघ १२, काठमाडौं – नेपालकै उत्कृष्ट सामुदायिक अस्पतालका रूपमा परिचित सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लु आवासको २१औं साधारण सभा परिषदका अध्यक्ष हरि गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष ईश्वर मान डंगोल रहेका थिए। कार्यक्रममा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका उपाध्यक्ष तथा युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्याप्टरका अध्यक्ष डा. राजु लामा (कोन्दन), परिषदका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापा, मेडिकल डाइरेक्टर डा. प्रेमल कुमार जोशी, वरिष्ठ चिकित्सक एवं समाजसेवी विष्णु राज दवाडी, डा. डिएल भरखेर, कर्मा ग्रुप अफ कम्पनीजका डा. सुचित श्रेष्ठ, नेपाल सरकारका पूर्व सहसचिव एवं समाजसेवी शंकर प्रसाद अर्याल, सिद्दी बिनायक सामुदायिक अस्पतालका श्याम धौभडेल, वडा सदस्यहरू तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि डंगोलले परिषदलाई वडा कार्यालयबाट निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा सामुदायिक अस्पताल निर्माणका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। प्रा. डा. थापाले निकट भविष्यमा ३० शैय्याको सामुदायिक अस्पताल निर्माण गरिने जानकारी गराउँदै, नेपालमै पहिलो पटक परिषदले सुरु गरेको मोलिक्युलर थेरापी सेवाबारे चर्चा गरे। यो सेवाबाट जोर्नी खिइने, नसाहरू सुक्ने, कम्मर वा ढाड दुख्ने, शरीर कमजोर हुने, र जोर्नी सुन्निने समस्याहरूको सहज उपचार हुने जानकारी दिइएको थियो। थेरापीबाट हालसम्म १५ जना बिरामीले सेवा लिइसकेका छन् भने ३७ जना बिरामी प्रतीक्षामा रहेको उल्लेख गरे।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका उपाध्यक्ष डा. लामा (कोन्दन)ले परिषदको सेवामा स्तरोन्नति गर्दै यसको दायरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्न आफुले सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरे। वरिष्ठ चिकित्सक डा. विष्णु राज दवाडीले सामुदायिक अस्पतालको सेवा प्रभावकारी रहेको भन्दै सहकार्यका लागि तयार रहेको बताए।
कर्मा ग्रुप अफ कम्पनीजका योजना विकास अधिकृत डा. सुचित श्रेष्ठले अस्पतालको सेवामा सुधार गर्न सधैं हातेमालो गर्न तयार रहेको उल्लेख गरे। सभापति श्रेष्ठले परिषदले नयाँ फड्को मारेको भन्दै सबैको सहयोगको अपेक्षा राखे।
कार्यक्रममा परिषदका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, आजीवन सदस्य, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन परिषदका सचिव प्रकाश कुमार श्रेष्ठले गरेका थिए।



