News Desk
काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा फागुन १ देखि ७ गतेसम्म आयोजना गर्ने तय गरिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित भएको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।
राष्ट्रिय खेलकुदको मिति यसअघि पनि पटक–पटक तय हुँदै र सर्दै आएको छ। गत कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले फागुनको पहिलो साता आयोजना गर्ने निर्णय गरेको थियो। त्यसअघि प्रतियोगिता गत जेठ ३ देखि १० गतेसम्म गर्ने गरी तालिका सार्वजनिक गरिएको थियो।
मिति परिवर्तन भए पनि प्रतियोगिताको तयारीका केही काम भने अघि बढिसकेका छन्। १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भइसकेको छ। सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रतियोगिता सञ्चालन गर्न ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रतियोगिताको मस्कटका रूपमा लोपोन्मुख जनावर रेडपान्डालाई राखिएको छ भने लोगोमा सात रङ, राष्ट्रिय झण्डाका चन्द्र र सूर्यका प्रतीक समावेश गरिएको छ। साथै, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी दर्ताका लागि अनलाइन प्रणाली तथा प्रतियोगितासम्बन्धी छुट्टै डिजिटल पोर्टलसमेत सञ्चालनमा ल्याइसकेको छ।
दुई–दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करण भने २०७९ सालमा पोखरा मा सम्पन्न भएको थियो। अब १०औँ संस्करण प्रतिनिधिसभा निर्वाचनपछि नयाँ मिति तय गरेर आयोजना गरिनेछ।