News Desk
नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अब सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ।
बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई फेरि पार्टी राजनीतिमा ल्याउने विषयमा व्यापक छलफल भएको थियो। सो क्रममा, “राष्ट्राध्यक्षजस्तो उच्च पदमा पुगेको व्यक्तिलाई तल ल्याएर काम लगाउने कुरा उहाँ प्रतिको पनि अपमान हुन सक्छ,” भन्ने धारणा व्यक्त भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
एमालेको केन्द्रीय कमिटी बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ।” विज्ञप्तिमा नेपालको संविधानको भाग–६, धारा ६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको उल्लेख गर्दै भनिएको छ, “सोही धाराको उपधारा (२) मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने, उपधारा (३) मा राष्ट्रिय एकताको प्रवर्धन गर्ने, उपधारा (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ। साथै धारा २६७ को उपधारा (२) अनुसार नेपाली सेनाको परमाधिपति हुने व्यवस्था पनि रहेको छ।”
विज्ञप्तिमा राष्ट्रपतिको भूमिकालाई समेट्दै भनिएको छ, “मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावकजस्तो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष बैठकले निकालेको छ।”
दुई दिनसम्म चलेको बैठकमा सहभागी नेताहरूका अनुसार राष्ट्रपतिजस्तो संवैधानिक अभिभावकीय पदमा बसेको व्यक्तिले फेरि दलगत राजनीतिमा फर्किनु संवैधानिक मर्यादाविपरीत हुने ठहर गरिएको छ। एमाले प्रचार प्रमुख गौतमका अनुसार, “राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुनःसक्रियता संस्थागत मर्यादाविपरीत हुने निष्कर्षमा बैठक पुगेको हो।”
यही निष्कर्षपछि, नेकपा एमालेमा पुनः सक्रिय राजनीतिमा फर्कन चाहनु भएकी पूर्वराष्ट्रपति भण्डारीले अदालत जाने तयारी गर्नुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट उहाँलाई राजनीतिक गतिविधिमा सहभागिता जनाउन नदिने निर्णय गरेपछि, भण्डारीले त्यसको कानुनीरूपमा प्रतिवाद गर्ने तयारी थालेको उनका निकटस्थ नेताहरूले बताएका छन्।
भण्डारीनिकट एक नेताका अनुसार, “अब खुट्टा कमाउँदिन, अदालत जाने बाटो पनि खुल्लै छ,” भन्दै उनले भण्डारीको धारणा उद्धृत गरे, “जे भयो, राम्रो भएन।”
एमालेकै एक पदाधिकारी नेताले भने, “केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको प्रस्ताव र निर्णयको दूरगामी प्रभाव पर्छ। यसको तरंग कसरी आउँछ, भोलिले बताउँछ। विद्याजीले के गर्नुहुन्छ, त्यसमा भर पर्छ। उहाँले पनि छोड्नुहुन्न, स्टेप चाल्नु होला। अहिलेको संकेत भने राम्रो देखिँदैन।”
यसरी एमालेको निर्णयपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक जीवनमा फर्किने चाहनामा रोक लागेको छ भने यसले पार्टी भित्रको शक्ति सन्तुलन र भविष्यको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने देखिन्छ।