एकीकृत समाजवादीमा खनाल-नेपालबीच वाकयुद्ध चर्किंदै
News Desk
Aug-09 , 2025 तारिख 06:23 बिहान

काठमाडौं  | नेकपा (एकीकृत समाजवादी) पार्टी भित्रको आन्तरिक विवाद सतहमा आएको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच आपसी आरोप–प्रत्यारोप खुलेर सार्वजनिक भएका छन्, जसले नेतृत्वबीचको द्वन्द्वलाई झन् उजागर गरेको छ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेता खनालप्रति टिप्पणी गर्दै, "ओलीकै सेवा गर्नुपर्ने हो भने एमालेमै फर्कनु उपयुक्त हुन्छ," भन्ने अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा, साँझ न्युज एजेन्सी नेपालमार्फत प्रतिक्रिया दिँदै नेता खनालले भने, “पहिले आफ्नो अनुहार ऐनामा हेर, अनि एमाले फर्कने बारेमा आफैं सोच।”

खनालले पार्टी विभाजनको चार वर्ष पुग्दा पनि अध्यक्ष नेपालले त्यसको स्पष्ट औचित्य जनतासमक्ष स्पष्ट गर्न नसकेको आरोप लगाए। साथै, उनले अध्यक्ष नेपाल अझै पनि एमालेले अभ्यास गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) बाट बाहिर ननिस्किएको उल्लेख गरेका छन्।

केही समयअघि अध्यक्ष नेपालले सार्वजनिक रूपमा खनालले उठाएका पार्टी विद्रोहका औचित्यमाथि प्रश्न उठाएका थिए। त्यसपछि सुरु भएको तीव्र वाकयुद्ध अहिले पार्टी नेतृत्वभित्रै विभाजनको संकेत दिन थालेको छ।

एकीकृत समाजवादीभित्रको यो बहसले पार्टीभित्रको गहिरो असन्तुष्टि र नेतृत्व संकटको अवस्था उजागर गरेको विश्लेषकहरूको टिप्पणी छ।

 

धेरै पढिएको