जेन–जीको आन्दोलनलाई देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको थापाको आरोप
News Desk
Sep-26 , 2025 तारिख 06:15 बिहान

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताद्वारा सुरु गरिएको आन्दोलनलाई देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको आरोप लगाएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जेन–जी पुस्ताले संविधान र विद्यमान व्यवस्थाको रक्षा गर्ने उद्देश्यका लागि आन्दोलन नगरेको तर बाह्य हस्तक्षेपका कारण आन्दोलन आफ्नो मूल उद्देश्यबाट भट्किएको दाबी गरे।

उनका अनुसार युवाहरूले भ्रष्टाचार र कुशासन अन्त्य गर्ने चाहनाले आन्दोलनको थालनी गरे पनि वर्तमान संवैधानिक संरचना र शासकीय प्रणालीभित्र रहँदा त्यसलाई समाप्त गर्न असम्भव छ।

“के यही व्यवस्थाभित्र रहँदै भ्रष्टाचार र कुशासनको अन्त्य सम्भव छ?” भन्दै उनले प्रश्न उठाए। थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दिएका अभिव्यक्तिहरूले पनि जेन–जी आन्दोलन बाह्य शक्तिको प्रभावमा परेको पुष्टि हुने टिप्पणी गरे।

उनले विद्यमान संवैधानिक व्यवस्था, शासकीय प्रणाली र निर्वाचन प्रणालीनै भ्रष्टाचारको जरो भएको आरोप लगाउँदै ती परिवर्तन नगरी आन्दोलनको कुनै अर्थ नहुने दाबी गरे।

थापाले संवैधानिक अंगहरूमा भइरहेको राजनीतिक नियुक्तिलाई पनि देशमा बढ्दै गएको भ्रष्टाचारको मुख्य कारण ठहर गरे।

धेरै पढिएको